पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै
पर्वत । पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा सङ्घ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको थियो । निर्माण सम्पन्न भएकोमध्ये १७ किलोमिटर पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । अहिले खोलिएको पदमार्गबाट प्रसिद्ध पर्यटकीयस्थल भमरकोटसम्म पुग्न सकिन्छ । देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्ग अब एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको छ । अहिलेसम्म १७ किलोमिटर पदमार्गको काम सकिएको र अझै ११ किलोमिटरको काम अन्तिम चरणमा पुगेको उनले बताए । “प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, सङ्घबाट छुट्टिएको रु १० लाखले थप काम भएको छ”, उनले भने, “सङ्घ र प्रदेशले आवश्यक बजेट विनियोजन गरे एक वर्षभित्रमै काम सकिनेछ ।” पदमार्गमा झण्डै साढे दुई करोड खर्च हुने अनुमान छ । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ । अर्कोतर्फ देउपुर हुँदै भमरकोटबाट माटेको लेकसम्मको ११ किलोमिटर पदमार्गले जोडिसकिएको छ भने माटेबाट जलजला हुँदै घोरेपानी जोड्न अब करिब ११ किमी दूरी बाँकी छ । जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेको खड्काले बताए । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । पदमार्गले आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ठूला घाँसेमैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । विभिन्न प्रजातिका चराचुरुङ्गी र जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइने उनले बताए । यसैबीच हालै गृहजिल्ला आएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जङ्गलमै बास बसेर उक्त पदमार्गको अवलोकन गरेका छन् । पदमार्गको अवलोकन साथै प्रचारप्रसार गर्न तिमिल्सिनासँगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीलगायतको टोली एक रात जङ्गलमै बास बसेर पदमार्गको अवलोकन गरेका हुन् । बिहानको सूर्योदय र बेलुकाको सूर्यास्तसँगै टोलीले तीन हजार १०० मिटरको उचाइमा रहेको माटेसम्म पुगेको थियो । पदमार्गको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकीय क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएकाले पहिचान भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने गरी योजना बनाउन आफूले पहल गर्ने बताए । “भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा सडकको सम्भावना धेरै कम भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ”, उनले भने, “यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ ।” पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने योजना अघि सारिएको उनले बताए । भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर बस्ती भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, घुरु(ङ्गालगायतका ठाउँमा घरबास (होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन थालिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए । रासस
सगरमाथा क्षेत्र घुम्न जाने सुनौलो मौकाः १४ हजारमै एभरेष्ट ट्रेल र फेमेली ट्रेक प्याकेज
काठमाडौं । कोरोना महामारीको सबैभन्दा गम्भीर असर परेको क्षेत्र पर्यटन हो । तर, यही गम्भीर नकारात्मक असर भने कम आम्दानी हुने नेपालीलाईलाई सुवर्ण मौका पनि बनिरहेको छ । सामान्य अवस्थामा नेपालीलाई वास्तै नगर्ने पर्यटकीय गन्तव्यहरुमा नेपाली पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेजहरु सार्वजनिक भइरहेका छन् । यस्तै, नेपालीलाई लक्षित गरी सार्वजनिक भएको एउटा आकर्षका प्याकेज हो एभरेष्ट फेमेली ट्रेक । यो प्याकेज हनिगाइड ग्रुप प्रालिले ल्याएको हो । समिट एयरसँगको सहकार्यमा ल्याइएको एभरेष्ट फेमेली ट्रेकमा १४ हजार रुपैयाँमा नाम्चेको खुम्जुङ भ्यालीसम्म जान पाइन्छ, जुन सामान्य समयको जहाज भाडाभन्दा पनि सस्तो हो । विगतका वर्षहरुमा पर्यटकीय सिजनमा नेपालीले पैसा तिरेर पनि जान गाह्रो पर्ने यो क्षेत्रमा अहिले नेपाली लक्षित प्याकेज संचालन भइरहेको प्रालिका कोफाउन्डर अभिषेक पाण्डे बताउँछन् । ‘कोरोना महामारीको कारण विदेशी पर्यटक आएका छैनन्, शहरी क्षेत्रमा पनि कोरोना त्रासका कारण घरभित्र थुनिएर बसेका नेपालीलाई लक्षित गरी एभरेष्ट क्षेत्रका विभिन्न प्याकेज ल्याएका छौं, यी प्याकेजले कम पैसा तिरेर नेपालीले एभरेष्ट क्षेत्र घुम्न पाएका छन् भने त्यो क्षेत्रको पर्यटन उद्योगले पनि केही मात्रामा भएपनि व्यवसाय पाएको छ, सबै पक्षलाई फाइदा नै भएको छ,’ पाण्डेले विकासन्युजसँग भने । ३ वटा गन्तव्यको बेग्लाबेग्लै प्याकेज हनिगाइड ग्रुपले एभरेष्ट फेमेली ट्रेक, गोक्यो ट्रेक र एभरेष्ट बेसक्याम्प ट्रेक गरी ३ गन्तव्यको प्याकेज संचालन गरिरहेको छ । चार रात ५ दिनको एभरेष्ट फेमेली ट्रेकको लागि १३ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ । यो खर्चमा जान पाइने भनेको नाम्चेको खुम्जुङ भ्यालीसम्म हो । यस्तै, १० रात ११ दिनको गोक्यो ट्रेकको शुल्क भने १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । १२ रात १३ दिनको एभरेष्ट बेसक्याम्प ट्रेकको शुल्क भने १९ हजार ९ सय ९९ रुपैयाँ छ । यो शुल्कमा काठमाडौंदेखि लुक्लासम्म आउने जाने हवाई भाडा, होटल खर्च र ब्रेकफाष्ट समावेश हुन्छ । लन्च र डिनरको लागि भने आफैले पैसा तिर्नुपर्छ । यस्तो शुल्क १२ सयदेखि १५ सय रुपैयाँसम्म लाग्ने पाण्डेले जानकारी दिए । यो शुल्कमा गाइड सेवा भने पाइदैन । गाइड सेवा लिनको लागि यी ३ गन्तव्यको लागि क्रमशः २४ हजार ९ सय ९९, ३९ हजार ९ सय ९९ र ४४ हजार ९ सय ९९ रुपैयाँ खर्च लाग्छ । लन्च र डिनरको पैसा यसमा पनि जोड्न नविर्सनुस् । थप एउटा कुरा, लुक्ला जानको लागि पनि कोरोना संक्रमण भए नभएको पीसीआर परीक्षण अनिवार्य छ । यस्तो शुल्क २ हजार रुपैयाँ लाग्छ भने ३ हजार रुपैयाँ तिरेमा टुर अपरेटरले नै घरमै आएर स्वाव संकलन गर्ने सुविधा पनि प्रदान गर्छ । तारा एयरको एभरेष्ट ट्रेल यस्तै प्याकेज तारा एयरले एभरेष्ट ट्रेलमार्फत संचालन गरिरहेको छ । ताराको प्याकेज भने नाम्चेको खुम्जुङ भ्यालीसम्मको हो । एभरेष्ट ट्रेल प्याकेजको शुल्क पनि १३ हजार ९ सय ९९ रुपैयाँ नै छ । यो प्याकेज पनि ४ रात ५ दिनको हो । एभरेष्ट ट्रेलले काठमाडौंदेखि लुक्लासम्मको आउने जाने हवाइ भाडा, ब्रेकफाष्ट, होटल तथा गाइड सुविधा पनि प्रदान गर्छ । सो क्षेत्रमा पाइने होटल भनेको पर्यटकस्तरीय हो । कति छ सस्तो ? यो सिजनमा सामान्यतः नेपालीले एयर टिकट र होटल नै नपाउने समस्या हुने गथ्र्याे । तर, कोरोना भाइरस महामारीको कारण विदेशी पर्यटक आउन छोडेपछि पर्यटन व्यवसायीहरुले नेपाली पर्यटक प्याकेज संचालन गरेका हुन् । सामान्य अवस्थामा यो सिजनमा काठमाडौंदेखि लुक्ला आउन जान हवाइ भाडा नै १६ हजार रुपैयाँ लाग्थ्यो । यस्तै ब्रकेफाष्टको प्रतिदिन ५ सय रुपैयाँका दरले ५ दिनको २५ सय र गाइडको प्रतिदिन १५ सय रुपैयाँका दरले ५ दिनको ७ हजार ५ सय गरी २६ हजार रुपैयाँ तिर्नुपर्ने हुथ्यो । सोभन्दा माथिको यात्राको लागि भने प्रतिदिन सोही अनुपातमा खर्च बढ्ने हुन्थ्यो ।
पर्यटनका सबै क्षेत्र खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिदै
काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो । मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए । कोभिड महामारीका कारण कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गरिसकेको छ । पदयात्रा र पर्वतारोहण खुला भएसंँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ । यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताए । पर्यटनमन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंँल्याए । प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए । एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताउँदै यस्तो महामारी तथा कठिन परस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न आग्रह गरे ।