असोज १५ गतेबाट प्याराग्लाइडिङ

काठमाडाैं । कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने भएको हो । अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताए । पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले बताए । कोरोनाको जोखिमका कारण वन्द रहेका कम्पनीहरुलाई पुनवुकिङ शुरु गर्न नाले प्याराग्लाइडिङ कम्पनीहरुले निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरो नोक्सानी व्यहोर्नुपरेका नाका महासचिव बलराम आर्चायले बताए । अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशनअफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो । यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौति रहेका छन् । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

घुम्न जाँदा पर्यटक बीमा गर्न नबिर्सनुस्, गाडी बीमामा छुट हुन्छ शुल्क

काठमाडौ । विश्व ४१ औं पर्यटन दिवस भर्खरै सकिएकाे छ । सामान्यतया पर्यटन भन्ने बित्तिकै एक ठाउँबाट अर्को ठाउँमा डुल्ने, घुम्नेदेखि फिरन्तेसम्म भन्ने बुझ्ने गरिन्छ । यसरी घुम्न निस्केको बेलामा बिमित यात्रु घाइते भएमा वा उपचार गराउनु परेमा १ लाख अमेरिकी डलरसम्मको बीमा गर्न पाइन्छ । यस्तै, दुर्घटनामा परेर बीमित पर्यटकको मृत्यु भएको अवस्थामा २५ हजार डलरसम्मको बीमा कम्पनीले कभर गर्दै आएका छन् । अहिले निर्जीवन बीमा कम्पनीहरुले पर्यटन लक्षित विभिन्न बीमा योजनाहरु संचालन गरिरहेका छन् । सो बीमा योजना अनुसार पर्यटक तथा यात्रुहरुले बीमा योजना खरिद गर्न सक्छन् । पछिल्लो समय बीमा कम्पनीहरुले पर्यटकहरुले गर्ने प्याकेज बीमामा कोरोना बीमा समेत समावेश हुने व्यवस्था मिलाएका छन् । यसका लागि पर्यटक बिमितले बीमा शूल्क भने केही बढी बुझाउनु पर्छ । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुुसार यात्रामा जोखिम हुने भएकाले ट्राभल इन्स्योरेन्स गर्न आवश्यक छ । ‘यात्रामा एक ठाउँको मान्छे अर्काे ठाउँमा पुग्ने भएकोले सो समयमा जोखिम आइपर्ने सम्भावना धेरै हुन्छ, त्यस्तो अवस्थाका लागि दुर्घटनामा परेमा एकथरी तथा बिमितको मृत्यु भएमा अर्कोथरी आर्थिक लाभ पाउँने व्यवस्था छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा क्षेत्रीले विकासन्यूजसँग भने । कसरी हुन्छ भुक्तानी ? पर्यटक जोखिममा परेर स–साना रकम बुझाउनु परेमा आफैले पहिला पैसा तिर्छन् । अनि पछि बीमा कम्पनीहरुबाट दाबी भुक्तानी लिन्छन् । तर, बिमित पर्यटकलाई यात्रामा केही ठूलै अप्ठेरो परेमा बीमा कम्पनीहरुले तत्कालै समेत दाबी भुक्तानी उपलब्ध गराउदै आएका छन् । बीमाको अवधि कसैले ट्राभल्स एण्ड टुरको बीमा गर्नु परेमा कम्तिमा एक हप्तासम्मको बीमा गर्नु पर्ने हुन्छ । यस्तै, लामो समयका लागि ट्राभल्स एण्ड टुरको बीमा गर्नु परेमा ६ महिना अवधिसम्मको लागि बीमा गर्न पाइने व्यवस्था छ । पर्यटनका लागि आवात जावत गर्नेहरु ट्राभल्स एण्ड टुर्स बीमाको बारेमा जानकार रहेको बीमा कम्पनीहरुले जनाएका छन् । मोटर बीमामा छुट पर्यटकले लामो समय बाहिर निस्किदा मोटर बीमा शूल्कमा छुट पाउँछन् । मोटर नचलाइ घरमा मात्र राख्दा जोखिम कम हुन्छ । सोही कारण पर्यटक बिमितले बीमा शूल्कमा छुट पाउँछन् । तर, घरमा पनि मोटरमा आगलागी तथा केही जोखिम हुने भएकाले थर्ड पार्टी रिक्स भने कायम नै रहने बीमा कम्पनीले जनाएका छन् । यात्रा गर्ने क्रममा बिमित यात्रु घाइते भएमा वा उपचार गराउनु परेमा १ लाख अमेरिकी डलरसम्म तथा दुर्घटना परेर मृत्यु भएको अवस्थामा २५ हजार डलरसम्मको बीमा कम्पनीले क्षतिपूर्ति कम्पनीबाट पाइन्छ ।

पर्यटन दिवसमा सुनसान ठमेल (फाेटाे फिचर)

काठमाडाैं । आज ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन । यसअघिको बर्षहरुमा पर्यटन दिवसको अवसरमा मुलुकको विभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याई हुन्थ्यो । पर्यटकका लागि पहिलो गन्तव्य ठमेल पनि यस वर्ष सुनसान देखिएको छ । हरेक बर्ष सेप्टेम्बर २७ को दिन विश्वभर पर्यटन दिवस मनाउने गरीएको छ । अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको भूमिकाका बारे चेतना जगाउने र यसले विश्वव्यापी रूपमा सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक मूल्य मान्यताहरूलाई कसरी प्रभाव पार्छ भनेर प्रदर्शन गर्ने उद्देश्यले सन् १९८० देखि यो दिवस मनाइदैं आएको हो । यस बर्ष पनि ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ । तर, यो बर्ष भने कोरोना प्रकोपको कारण पर्यटकहरुको स्वागत बिनै दिवस मनाउन बाध्य हुनु परेको छ । यसअघिको वर्षहरुमा मुलुकको विभिन्न सीमानाकामा र अन्तराष्ट्रिय विमानस्थलमा पर्यटकको स्वागत गर्न भ्याइ नभ्याई हुने गरेको थियो भने पर्यटकलाई लोभ्याउन होटलहरुले विभिन्न छुटका योजना सार्वजनिक गर्ने गरेका थिए । त्यस्तै, काठमाडौंको मुख्य पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायीहरुले विभिन्न प्याकेज घोषणा गरी पर्यटको अवसरमा छुट दिदै आएका थिए । तर, यो वर्षको पर्यटन दिवसमा भने कोरोना संक्रमणको महामारीका कारण ठमेल क्षेत्र सुनसान बनेको छ । अघिल्लो बर्षहरुको पर्यटन दिवसको दिन छुट्टै माहोल सहित आन्तरिक र बाह्य पर्यटकको भिड हुने गरेकोमा यो बर्ष सुनसान बनेको व्यवसायीले बताएका छन् । विदेशी पर्यटक शून्य छन भने आन्तरीक पर्यटक समेत पाउन मुस्किल भएको व्यवसायीहरुको भनाई छ । ठमेल क्षेत्रका व्यापारीहरुको मात्रै नभई मुलुकभरकै पर्यटन व्यवसायीको उस्तै अवस्था छ । पर्यटकको उपस्थिति शून्य भएसँगै व्यवसायीहरू फुर्सदिला बनेका छन् । महँगो घर भाडा, बैंकको व्याज बढ्दै जाने तर पर्यटनको आगमन ठप्प हुँदा कतिपय व्यवसायीले पलायन हुने अवस्थामा पलायन हुने अवस्था आएको गुनासो गरेका छन् ।