पर्यटन मन्त्री भट्टराई भन्छन्- ‘सार्वजनिक सम्पत्तिमा क्षति हुने कार्य गरे संलग्नबाटै क्षतिपूर्ति भराइने छ’

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै कार्य गरे त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने बताएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै उनले  केही असन्तुष्टिकाे विषयलाइ लिएर हड्ताल गर्ने र सरकारी सम्पत्ति ताेडफाेड गर्ने गतिविधी भइरहेकाले यस्ताे गर्नेबाट नै क्षतिपूर्ति भराइने बताएका हुन्  । कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका हुन् । मन्त्री भट्टराईले यस्ता असन्तुष्टिका विषयहरू समझदारीबाट समाधान हुने बताउँदै आमम हड्ताल र ताेडफाेडले सबैलाई हानी हुने बताए । ‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु । मलाइ तर्कबाट कन्भिन्स गराउनुस्, तालाबन्दीबाट म कन्भिन्स हुन्न’,प्राधिकरणकाे स्थापनाकै दिन यस्ताे कुरा गर्न हुन्न ।’ उनले भने । जन्मदिनकाे दिन शुभकामना दिनुकाे सट्टा कात्राे लिएर आउँछु भन्ने जस्ताे देखियाे त्यसैले यस्ताे भन्न सुहाउन्न उनले भने ।प्राधिकरणले  आफ्नाे २१ औं वार्षिकोत्सव  समाराेहमा विभिन्न क्षेत्रका धेरै व्यक्तित्वहरूलालाई पुरस्कृत गरेकाे थियाे ।

मुस्कानले पाईन रिचार्जर एपको आर्थिक सहयोग, पर्यटनमन्त्री भट्टराईले पनि ५० हजार दिने

काठमाडौं । रिचार्जर एपले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ५२ हजार २० रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । एपले विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा खातुनलाई सो मात्राको सहयोग गरेको हो । कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । साथै, उनले पनि आफ्नो तर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

कर्णालीमा भ्रमण वर्ष २०२० को तयारी पूरा, बुलबुले उद्यानबाट शुभारम्भ हुने

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले बिहान ११ बजे वीरेन्द्रचोक नजिकको पिपलचौताराबाट विभिन्न समुदायका झाँकीसहितको र्याली मुख्य बजारक्षेत्र परिक्रमा गर्दै मङ्गलगढीचोक हुँदै बुलबुले उद्यानमा सभामा परिणत हुने जानकारी दिएका छन् । उनका अनुसार १० वटै जिल्लाको सांस्कृतिक पहिचान झल्किने प्रस्तुतिका साथै राउटे समुदायको नृत्य पनि देखाइनेछ । मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित कर्णाली भ्रमण वर्ष २०२० को शुभारम्भ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम छ । बुलबुले उद्यानमा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुका पोष्टर, तस्वीर प्रदर्शनीका साथै प्रदेशको संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरिनेछ । उक्त कार्यक्रममा भ्रमण वर्षलाई लक्षित गरी मन्त्रालयले बनाएको लोगो र नारालाई सार्वजनिक गरिनेछ । त्यस्तै, भर्खरै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा कर्णाली प्रदेशका पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्नेछ । सुर्खेत–काठमाडौँ हवाईसेवा सञ्चालन गर्ने बुद्ध एयरलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । वर्षौदेखि अवरुद्ध सुर्खेत–काठमाडौँ उडान प्रदेश सरकारको आग्रहमा बुद्ध एयरले शुरु गरेको थियो । प्रदेश सरकारले जनवरी १ का दिन कर्णाली आउने पर्यटकलाई स्वागत गर्ने भएको छ । सचिव आचार्यले सुर्खेत भित्रिने पर्यटकलाई सम्मान गरेर ‘कर्णाली पर्यटकको स्वागत सत्कार गर्न आतुर छ’ भन्ने सन्देश दिन खोजिएको बताए । “पर्यटक भित्र्याउन सरकारका साथै निजी क्षेत्रको तत्परता र सहयोग उत्तिकै रहन्छ”, उनले भने, “पर्यटन क्षेत्रकै विकास होस् भनेर प्रदेश सरकारले पर्यटन बोर्ड गठन गरेको छ, र व्यवस्थित विकासका लागि गुरुयोजना पनि बनाएको छ, गुरुयोजना पनि छिट्टै सार्वजनिक गरिँदैछ ।” प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भ्रमण वर्षलाई सबैले साझा अभियानका रूपमा लिनुपर्ने बताए । प्रदेशका १० वटै जिल्ला समन्वय समिति, स्थानीय तहले भव्यताका साथ मनाउने तयारी गरिरहेको उनले जानकारी दिए। पर्यटकको सङ्ख्या बढ्दा त्यसको लाभ निजी क्षेत्रले नै लिने भन्दै उनले आतिथ्य सत्कार, छुट तथा सहुलियतका प्याकेज ल्याउन निजी क्षेत्रलाई आग्रह गरे । “सरकारले आवश्यक पर्यटनमैत्री नीति, कानून बनाउनुका साथै पूर्वाधारको विकास गर्ने हो, बाँकी पर्यटन प्रवद्र्धनको काम निजी क्षेत्रले गर्नुपर्छ”, उनले भने । प्रदेश सरकारले पर्यटकीयस्थलसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नति, पदमार्गको खोजी, घरबास व्यवस्थापन, प्रवद्र्धनलगायतका योजनालाई प्राथमिकता दिएको उनले बताए । रासस