‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बाल गृहलाई
काठमाण्डौ । ’भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्न टेवा पुर्याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको हो । गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत रुपमा चर्चा गरिएको छ । नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपाली जनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ ।गीतको भिडियोमा पनि निर्माण पक्षले उतिक्कै मिहिनेत गरेको र सशक्त रुपमा नेपालको पर्यटकीय क्षेत्रलाई देखाइएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खानाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरुपको भिडियो तयार पारिएको छ । यो गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालबारे बुझ्न र चिनाउन सहजता हुने गीतकार एंव उरारा शलिन कार्कीले जानकारी दिए । गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिने समेत उनले बताए । गीतकार उरारा सलिन कार्कीको शब्द रचना रहेको गीतमा सङ्गितकार हरी लम्सालले संगीत भरेका हुन् । गीतमा गायक आनन्द कार्कीको मीठो आवाजमा सुन्न सकिनेछ । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन । गीतको भिडियोमा उदय बिक्रम थापा,उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्कि, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ । भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा,तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकीय क्षेत्रमा छायाँकन गरिएको छ ।
पर्यटकलाई कोदो, फापर, भेडा र चौँरीका परिकार खुवाउ
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन नेपाल र नेपालीका स्थापित पहिचान, संस्कार र संस्कृति प्रयोगलाई जीवन्त तुल्याउन सुझाइएको छ । भ्रमण वर्षलाई सफल बनाउन ‘अतिथि देव : भव’ अर्थात् पाहुनालाई स्वागत, सत्कार र आतिथ्यता प्रदान गर्ने सन्दर्भमा कमजोर हुँदै गएको पुराना सोमतिलोे संस्कार पुनर्जीवित तुल्याउन आवश्यक देखिएको पूर्वसञ्चारमन्त्री राम कार्की बताउछन् । नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने नेपालले घोषणा गरेको छ । विश्वका कतिपय पर्यटक गन्तव्य भनी भएका मुलुकका तुलनामा नेपाल निकै सुन्दर र मनोरञ्जन पर्यटक गन्तव्यका रुपमा परिचित छ । भ्रमणका लागि आएका पर्यटकलाई प्रवेश विन्दुमै नेपालीको मौलिक पहिचान बिर्साउने गरी लाभहानिका आधारमा गरिने व्यवहार सच्याउँदै पाहुना आकर्षित हुने गतिविधि र आतिथ्यता प्रदान गर्न आवश्यक देखिएको छ । यद्यपि, नेपाल भ्रमणमा आउने पाहुनाको आतिथ्य सत्कारसँग सम्बन्धित विषयमा तालीम र प्रशिक्षणको कामलाई तीव्र तुल्याइएको छ । विमानस्थलमा ओर्लिएका पाहुनालाई अध्यागमनमा खटिएका कर्मचारीबाट अनुशासित र मर्यादित ढङ्गबाट व्यवहार गर्ने, होटलसम्म पुर्याउने चालकले यात्रा दूरी, समय जानकारीबारे जानकारी गराउँदै हार्दिकताका साथ सामान राखिदिने र यात्रालाई सहज तुल्याउन इच्छाएका वा नेपाली मौलिकतामा आधारित गीत–सङ्गीत सुन्ने व्यवस्था गरेमा नेपालप्रतिको आकर्षण बढ्नेछ । नेपालका संस्कृति, वेशभूषा, कला, रहनसहन र परिकार खाना, हेर्न, बुझ्न, सिक्न, थाहा पाउन आएका पर्यटकलाई पिज्जा, चाउचाउ, बर्गर, कोकफ्यान्टा खुवाउनुको साटो यहाँका कोदो, फापर तथा भेडा र चौँरीका उत्पादनका परिकार खुवाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ । राईको जस्तोे दियायी, गुरुङको सत्कार र नेवारी खानाद्वारा हाम्रा मौलिक संस्कारबारे पाहुनालाई जानकारी गराउने तथा बाटै अवरुद्ध हुने र झन्झट हुने गरी नभई पर्यटकले राखेको जिज्ञासाको मात्र उत्तर संस्कार स्थापित गर्न सकेको खण्डमा पनि पाहुना नेपालप्रति लोभिन्छन् । यद्यपि सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी काठमाडौँका विभिन्न स्थानमा ‘नमस्ते सेन्टर’ स्थापना गरी नेपालको मौलिक पहिचान देखाउन कोसिस गरेको छ । प्लेन चार्टर गरेर ल्याउने अनि उनीहरुकै खाना खुवाउँदा जति नै पर्यटक आए पनि पनि मुलुकले आर्थिक समृद्धि हासिल हुन नसक्ने हुनाले हाम्रा डाँडाकाँडा, रहनसहन, संस्कृति, हिमाल, वन्यजन्तु, पर्यावरण, तालतलैया र जीवजन्तुबारे जानकारी गराउन मुलुक कुनाकाप्चामा पर्यटकलाई पुर्याउनुपर्ने देखिएको छ । नेपालीले विश्वमै पाहुनालाई आतिथ्यता प्रदान गर्ने उत्तम जातिका रुपमा पहिचान स्थापित गरे तापनि पछिल्लो समयमा त्यो पहिचान भने खस्कँदै गएको छ । नेपालमा पर्यटन भित्र्याउने सन्दर्भमा यातायात सम्पर्क सञ्जाल र आधारभूत पूर्वाधार चुनौतीका रुपमा रहेका छन् । उक्त चुनौतीलाई सम्बोधन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि, भैरवास्थित गौतमबुद्ध विमानस्थल शीघ्राती शीघ्ररुपमा सञ्चालनमा ल्याउने तथा पोखरा विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिने काम भइरहेको छ । नेपालमा पर्यटन प्रवद्र्धनका लागि छिमेकी मुलुकका अतिरिक्त भियतनाम, कम्बोडिया, म्यान्मा तथा मध्यपूर्वी देशमा विभिन्न कार्यक्रम अघि बढिरहेको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । विश्वको चर्चित फोब्स पत्रिकाले यो दशका विश्वका उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा नेपाललाई छनोट गरेपछि एकाएक नेपालप्रति पर्यटकको मोह बढेको अनुमान गरिएको छ । नेपाल सहासिक पर्यटनका रुपमा मात्र होइन, पर्यापर्यटन, वन्यजन्तु, धार्मिक, सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण गन्तव्य मानिन्छ । नेपाल भ्रमण वर्षलाई भव्यरुपमा सम्पन्न गर्ने सन्दर्भमा सरकारले उद्घाटन समारोहमा विश्वका १५ भन्दा बढी मुलुकका सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ । भर्खरै दक्षिण एशियाली खेलकुदको सफल आयोजना गरिएको दशरथ रङ्गशालामा हुने उद्घाटन समारोहमार्फत नेपाल भ्रमण वर्षको सन्देश विश्वभर पुर्याउने तयारी गरिएको छ । विश्वमा पर्यटन छिटो प्रवद्र्धन हुने मुलुकको सूचीमा नेपाल पर्दछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने उक्त समारोह अपराह्न ३ बजेबाट हुने र सो अवसरमा नेपालका सांस्कृतिक गतिविधि प्रस्तुत गरिनेछ । समारोहलाई प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ भने भ्रमण वर्षसम्बन्धी कार्यक्रम मुलुकका सातै प्रदेशमा सोही दिन थालनी हुनेछन् । नेपालमा वार्षिक पर्यटन वृद्धिदर २५ प्रतिशतको हाराहारीमा छ । नेपालको समृद्धिको आधार पर्यटन नै हो । पर्यटन क्षेत्रका विकास र विस्तार गर्ने क्रममा मुलुकका विभिन्न भागमा तीव्ररुपमा होटल निर्माणको क्रम बढेको छ । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकार अब कुनै सिजनमा मात्र होइन, वर्षैभर पर्यटक नेपाल भ्रमणमा आउने वातावरण बनाउने तयारीमा जुटेको छ । भ्रमण वर्षमार्फत नेपालको सांस्कृतिक सम्पदा र वन्यजन्तुसम्बन्धी जानकारी लिन र अध्ययन गर्न आउने पर्यटकका लागि बाह्रै महिना अनुकूल रहने सन्देश दिन खोजिएको छ ।रासस
भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक : मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैको साथ र सहयोग आवश्यक हुने बताए । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भ्रमण वर्ष नेपालको समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेश स्थित कूटनीतिक नियोगबाट विभिन्न कार्यक्रम सञ्चालन भई रहेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनका काम पनि त्यही गतिमा अघि बढेको जानकारी दिए । पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधारका रुपमा रहेको हवाइ सेवालाई व्यवस्थित गरिने बताउँदै उनले हाल २१ घण्टा सञ्चालनमा आएको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तनोन्नति गरी २४सै घण्टा सञ्चालन गर्ने तयारी भईरहेको जनाए । भ्रमण वर्षको पर्यटन प्रवद्र्धनका लागि सचिवालयले ६५ करोड रुपैयाँको माग गरेपनि सरकारले १० करोड छुट्याएको बताउँदै उनले आवश्यक रकम सरकारले उपलब्ध गराउने जानकारी दिए । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय सीमाभन्दा छ महिना अगावै सम्पन्न भई सक्ने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले विमानस्थल सञ्चालन हुनुपूर्व पर्यटनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सक्नुपर्ने बताए । हालसम्म विमानस्थलको निर्माण कार्य ५२ प्रतिशत सम्पन्न भई सकेको उनको भनाइ थियो । विमानस्थलका लागि थप आवश्यक पर्ने १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको बताउँदै जग्गा धनीलाई उचित मुआब्जा दिने स्पष्ट पारे। पोखराको रत्नमन्दिर र हिमागृहलाई पर्यटकीयस्थलको रुपमा उपयोग गरिने बताउँदै उनले यो विषयमा भने पर्यटन मन्त्रालयमार्फत नभई नेपाल ट्रष्टअन्तर्गत रहेको उल्लेख गरे । रासस