तलब वृद्धिको माग गर्दै एयर क्यानडाका १० हजार उडान सहायक आन्दोलनमा, यात्रुहरू प्रभावित

काठमाडौं । एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक तथा कामको उचित मूल्याङ्कनको माग गर्दै शनिबारदेखि राष्ट्रव्यापी हडताल सुरु गरेका छन् । हडताल सुरु भएपछि एयर क्यानडाले सबै उडानहरू स्थगित गर्दै यात्रुहरूलाई विमानस्थल नजान आग्रह गरेको छ । क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोइज (सीयुपीइ) का अनुसार शनिबार बिहान १२ः५८ बजेबाट आन्दोलन औपचारिक रूपमा सुरु गरिएको हो । कम्पनीले आन्दोलन सुरु हुनु अगावै शुक्रबार साँझसम्म ६२३ उडान रद्द गरिसकेको थियो भने शनिबारका लागि तोकिएको सम्पूर्ण ७०० उडान पनि रद्द गरिएका छन् । यात्रु सेवाका क्रममा बोर्डिङ र तयारीका कामहरूमा पारिश्रमिक नदिइने परिपाटी हटाइनुपर्ने तथा मुद्रास्फीतिलाई मध्यनजर गर्दै तलब समायोजन गरिनुपर्ने युनियनको प्रमुख माग हो । युनियनका अनुसार एयर क्यानडाले पेस गरेको प्रस्ताव महँगीदरभन्दा पनि तल रहेको छ । विशेषज्ञहरूका अनुसार यो आन्दोलन लामो नजाने अनुमान छ, तर यसले मुलुकको आन्तरिक यातायात, पर्यटन र व्यापार क्षेत्रमा तत्काल प्रभाव पार्ने देखिन्छ । व्यवसायिक महासंघले यस्तो समयमा हवाई यातायात रोकिँदा आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ । रासस  

अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौं । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेश गरिएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरे । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले भने, 'नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको हो ।' उनका अनुसार संवैधानिक व्यवस्थालाई मूर्तरूपमा कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण तथा व्यवस्थापनसम्बन्धी कानुन बनाउन आवश्यक छ । त्यसैले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी ऐनको तर्जुमा गर्नु बाञ्छनीय भएकाले विधेयक पेश गरिएको हो । विधेयकमाथि दुई जना राष्ट्रिय सभा सदस्यहरूले विरोधको सूचना दर्ता गरे पनि मन्त्री पाण्डेको प्रष्टिकरणपछि ती सूचनाहरू फिर्ता लिएका थिए ।  

बजार हिस्सा घटेपनि १२.७९ प्रतिशत बढ्यो यति एयरलाइन्सको व्यापार

काठमाडौं । यति एयरलाइन्स लिमिटेडले ९ महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२५/२६ को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्ष सन् २०२३ मा एयरलाइन्स कम्पनीले ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२.७९ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार गरेको हो। यति एयरलाइन्सका अनुसार सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।  सन् २००२ मा स्थापित यति एयरलाइन्स नेपालको सबैभन्दा पुरानो घरेलु एयरलाइन्समध्ये एक हो । कम्पनीसँग ७२ सिट क्षमताका ७ वटा एटीआर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये ६ वटा खरिद गरिएका हुन् भने एउटा भाडामा लिइएको कम्पनीले जनाएको छ । कम्पनीले घरेलु हवाई उद्योगमा १७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बजार हिस्सा घटेको देखिएको छ । सन् २०२३ जनवरी १५ मा कम्पनीको नाइनएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएपछि बजार हिस्सा घटेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीको बजार हिस्सा २१ प्रतिशत थियो ।  कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको मुख्य सेयर स्वामित्व रहेको छ । कम्पनीमा एशियन लाइफको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष समेत रहेका ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरलाइन्सको नेतृत्व गरिरहेका छन् । साथै कम्पनीमा चन्दा शेर्पा प्रबन्ध निर्देशक, नोर्बु छिरिङ शेर्पालाई उपप्रबन्ध निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सुभास सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २७.१९ मिलियन अमेरिकी डलर ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले २ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ र ७.१९ मिलियन अमेरिकी डलरका दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।  यस्तै, ७५ करोड ७३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि ए ३ रेटिङ र २ अर्ब ६४ करोड ६० लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।