मानुङकोटमा पर्यटकको ओइरो, १२ सयमै रातको बास, खाना र बिहानको नास्ता उपलब्ध
काठमाडौं । ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो,’ पोखराकी लक्ष्मी कार्कीले भने, ‘यहाँबाट देखिने सूर्योदय, हिमशृङखलाले लोभ्यायो ।’ पोखराबाट सोमबार बिहान २ बजे गाडी भाडामा लिएर व्यास नगरपालिका-५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरे भन्दा अझ राम्रो लागेको उल्लेख गरिन् । उ उनले भनिन्, ‘मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर ४ जना मिलेर आएका हौँ ।’ काठमाडौंबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन् । ‘आउन मन भए पनि पहिला विविध कारणले आउन पाएकी थिइँन, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्यो, दृश्यले लोभ्यायो,’ उनले भनिन् । दमौलीका सुदीप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर आउनुपर्ने अवस्था रहेको बताए । चिसो मौसम सुरु भएसँगै मानुङकोटमा यतिबेला दैनिक पर्यटकको चहलपहल बढेको छ । हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन् । सोमबार बिहान करिब दुई हजार पर्यटकले मानुङकोटबाट दृश्यावलोकन गरेका छन् । मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेस सुनामले यतिबेला मानुङकोटमा पर्यटकको सिजन रहेको जानकारी दिँदै दसैँ तिहारसँगै पर्यटकको चहलपहल बाक्लिएको बताए । चिसो मौसममा सूर्योदय, कुहिरो, सूर्यास्तले यहाँ आउने पर्यटक लोभिने गरेको उनको भनाइ छ । ‘अहिलेका बेला भनेको पर्यटकको चाप हुने समय हो, पहिल्यै आफ्नो बस्ने स्थान सुरक्षित गरेर आउँदा सहज हुन्छ । हामीले प्रतिव्यक्ति १ हजार २०० रुपैयाँमा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइरहेका छौँ,’ उनले भने । आफ्नो रेष्टुराँमा दैनिक ७० जना बास बस्ने क्षमता रहेको उनले जानकारी गराए । मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्नेक्रम बढेको छ । विगतमा होटल नरहेको यस ठाउँमा अहिले एक दर्जन सञ्चालनमा छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदल मार्ग निर्माण गरिएको छ । मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेद व्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको ४ हजार ३०० मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्, ‘यति धेरै आउलान् भनेर कल्पना गरेका थिएनौँ’
सन्तोष गौतम काठमाडौं । म्याग्दी स्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो । स्थल मार्गबाट घुम्नेहरूका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ । आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरूले कोरला नाका, लोमानथाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि ८ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ । छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुची राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् । फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल हुँदै ४ हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो । म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक ८ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक ५ सय जना भन्दा बढी छ । बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपालि कल्पना गरेको र भएका होटलहरुको क्षमता भन्दा धेरै सङ्ख्यामा पाहुना आएका बताए । ‘दसैँ र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो विगतदेखिनै भए पनि यसपालि अन्नपूर्ण आधार शिविर जानेहरू पनि थपिँदा होटल, रेष्टुरेन्ट र होमस्टेहरुले थेग्न नसकेका हुन्,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरूले गोजीमा पैसा भएर पनि खाना र बस्नको लागि दुःख पाउने अवस्था आएको हो ।’ होटलको क्षमताले नथेकेपछि म्याग्दी र मुस्ताङका प्रशासन, सुरक्षा निकाय, होटल व्यवसायी र उद्योग वाणिज्य सङ्घले अग्रिम बुकिङ गरेर घुम्न आउन अनुरोध, कुश्मा, बागलुङ र पोखराका होटल, व्यक्तिका घर, सामुदायिक भवन र धर्मशालामा बसोबासको व्यवस्था मिलाएका छन् । म्याग्दीका होटलमा दैनिक २ हजार र मुस्ताङमा दैनिक ३ हजार जनासम्म पाहुनालाई सहज रुपमा व्यवस्थापन गर्न सकिने क्षमता छ । भुरुङ-तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग, म्याग्दी र मुस्ताङका होटलहरु यो हप्ताको अन्तिमसम्म बुक भइसकेका छन् । ‘छठपछि स्कुल, कलेज, कार्यालय खुल्ने हुँदा पाहुनाको आगमन दर घटेपनि अकुपेन्सी राम्रो छ,’ उनले भने, ‘जेनजी आन्दोलनका कारण सोह्र श्राद्ध र प्रतिकूल मौसमले दसैँ लगत्तै पर्यटक आगमन नहुँदा निराश भएका व्यवसायीलाई राहत मिलेको छ ।’ सडक यातायातको सहज पहुँच र प्रचारप्रसारका कारण मुस्ताङ र अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘मुक्तिनाथ, कागबेनीको तीर्थयात्रा गर्ने, हिमाल, उजाड पहाड, तालतलैया हेर्न, हिमाली जनजीवन र संस्कृतिमा रमाउने तथा गाडी चढेरै कोरला नाकासम्म पुग्न सकिने भएपछि मुस्ताङ धेरैको रोजाइमा परेको हो,’ उनले भने, ‘यात्रामा हिमालको फेदीमा पुग्न सकिने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरमा आकर्षित भएका हुन् ।’ सामाजिक सञ्जालका सामग्री र सञ्चार माध्यममा प्रकाशन भएका समाचारले पनि पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको अध्यक्ष अध्यक्ष श्रेष्ठको भनाइ छ । पर्यटक आगमनले म्याग्दी र मुस्ताङमा होटल व्यवसायीलाई क्षमता र सुविधा वृद्धिका लागि प्रेरित, नयाँ लगानीको सम्भावना देखाउनुका साथै अन्नपूर्ण आधार शिविरको पदमार्गमा सीमित सङ्ख्याको क्षमतामा रहेका होटलहरूको क्षमता बढाउन राज्यलाई दबाब पुगेको उनले बताए । भ्रमणमा आउने पाहुनाहरूले अग्रिम बुकिङ गरेर आएमा व्यवस्थापनमा सहज हुने उनको भनाइ छ । बेनी–जोमसोम सडकका म्याग्दी खण्डको अधुरो सडक स्तरोन्नतिलाई पूर्णता दिनुपर्ने, पहिरो तथा कटान प्रभावित ठाउँको सडकलाई सुरक्षित बनाउन, होटलहरूको वर्गीकरण गरी सेवा शुल्कमा नियमित गर्नुपर्ने पर्यटकले बताएका छन् । अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरूले नारच्याङ-हुमखोला सडक मर्मत, यातायात भाडा दरमा एकरूपता, पदमार्गका होटलहरूको क्षमता र सुविधा थप, सञ्चार तथा विद्युत् सुविधाको व्यवस्थापनको आवश्यकता औंल्याएका छन् । म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तीनै तहका सरकारका निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), निजी क्षेत्र र सरोकारवालाहसँग समन्वय गरी पर्यटन क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको पहल गर्ने बताए । रासस
हयात होटल सञ्चालनमा आउन एक वर्ष लाग्ने
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हयात रिजेन्सी) सञ्चालनमा आउन एक वर्ष लाग्ने भएको छ । हयात रिजेन्सीका कार्यकारी निर्देशक (ईडी) सुरेश लाल श्रेष्ठका अनुसार भदाै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त होटल सञ्चालनमा ल्याउन करिब एक वर्षको समय लाग्ने अनुमान गरिएको छ । उनका अनुसार हाल होटलमा भएको क्षतिको मूल्याङ्कन गर्ने कार्य चलिरहेको छ भने क्षतिको पूर्ण मूल्याङ्कन पश्चात् यस होटललाई स्तरोन्नति तथा पुनर्निर्माण गर्दै अझ विस्तारित र उत्कृष्ट सेवासहित यथासिघ्र पुनः सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता जनाए । ‘करिब एक वर्षको समय लाग्ने अनुमान छ । यस होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी देशको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्प बोकेका छौं,’ उनले भने । जेनजी आन्दोलनकारीहरुले होटलमा तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्युट, चैत्यहरु लगायत संरचनामा ठूलो क्षति पुगेकाले पूर्ण रूपमा बन्द रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्ला साढे दुई दशकमा उक्त होटल नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनहरूको साक्षी रहँदै आएको छ । यस अवधिमा चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौती पूर्ण अवस्थाहरूको सामना गर्दै वर्षोंदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाइ छ । साथै, नेपाल सरकारले हयात रिजेन्सीलाई आर्थिक वर्ष २०७९/८० मा समेत गरि ७ औं पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा र २ पटकसम्म पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलको रुपमा सम्मानित गरिसकेको उनले जानकारी दिए । ‘देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको यस होटलमाथि आन्दोलनको क्रममा गरिएको आक्रमण निन्दनीय छ । प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर प्रसाद खनालले यस विषम परिस्थितिलाई सम्बोधन गर्दै सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं,’ ईडी श्रेष्ठले भने ।