त्रिभुवन विमानस्थल आजदेखि चार महिनासम्म दैनिक ७ घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उनले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिङ्क रोड निर्माण लगायतको काम हुने जानकारी दिएका छन् । रातिको समयमा विमानस्थल बन्द भएपछि गत बिहीबारबाट जापानको ओसाका उडान शुरु गरेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान भने सञ्चालन हुनेछ । विमानस्थल मर्मतको काम शुरु भए पनि साताको तीन दिन ३० मिनेट विमानस्थल खुला हुने विमानस्थल कार्यालयले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ओसाका उडान लक्षित गर्दै उडानको समयमा (राति २ देखि साढे २ बजेसम्म) विमानस्थल खुला गर्न ठेकेदार कम्पनीलाई अनुमति दिइसकेको छ । गत बिहीबारदेखि निगमले रातको साढे २ बजे ओसाका उडान शुरु गरेको छ । सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका उडान हुनेछ । “निगमले हामीलाई पठाएको पत्रलाई आधार बनाएर पूर्ण रूपमा सरकारी स्वामित्वको विमान सेवालाई हामीले सहयोग गरेका हौँ”, क्यानका महानिर्देशक पोखरेलले भने, “हामीले निगमलाई जम्मा ३० मिनेटको समय दिएका छौँ, ३० मिनेटमा निगमले उडान गरिसक्नुपर्ने हुन्छ ।” ओसाका उडानको समय र विमानस्थल मर्मतको काम शुरु हुने समय जुधेपछि निगमले क्यानलाई उडानको समयमा विमानस्थल सञ्चालन गर्न आग्रह गर्दै पत्र पठाएको थियो । पहिलो चरणअन्तर्गत गत चैत १८ देखि असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । रातको १० बजे बिहानको ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो । विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको एक हजार रुपैयाँ सङ्कलनबाट विमानस्थल मर्मतको काम अघि बढाइएको हो । रु चार अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको हो । रासस

एओएएनको अध्यक्षमा फेरि थापा, जेष्ठ नागरिकलाई भाडामा छुट दिँदा हवाई कम्पनीलाई असर नपर्ने

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन)को को १९औं वार्षिक साधारण सभाले संघले क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्याप्टेन थापा सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा क्रियाशील छन् । यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन् । संघको प्रथम उपाध्यक्षमा अनोज रिमाल, द्वतिय उपाध्यक्ष गोपाल भट्टराई, महासचिवमा मनोज कार्की, सचिव राजु न्यौपाने, मनाङ्ग एयर, कोषाध्यक्ष रुपेश जोशी भएका छन् । संघको सदस्यहरुमा दिपक जे.वि. राणा, योगराज कंडेल शर्मा, बालकृष्ण पण्डित, निमा नुरु शेर्पा, बरुण ज्ञवाली, सुवास अमात्य र प्रज्वल थापा भएका छन् । नवनियुक्त अध्यक्ष थापाले आफ्नो कार्यकालमा वायुसेवाको सेफ्टीस्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने र नेपाल नागरिक उड्डयन प्राधिकरण संग हातेमालो गर्दै नेपालीहवाई उद्योगमा हालकायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने बताएका छन् । सभालाई सम्बोधन गर्दै पर्यटन मन्त्री योगेश भट्टराईले संविधानले दिएको मौलिकहकअनुसार राज्यले दिएको सेवा सुविधा अनुसार नै जेष्ठ नागरिकको सम्मानको लागि हवाई भाडामा छुट व्यवस्था गरिएको बताए । नेपालमा जम्मा बार्षिक २८ लाख हवाई यात्रु हुने गरेको र ७० वर्ष नाघेका जेष्ठ नागरिकको ३.५ प्रतिशत मात्रै भएकोले उनीहरुलाई हवाई छुटको सुविधा दिँदा धेरै ठूलो असर नपर्ने बताए ।

पर्यटकीय क्षेत्र सौराहका भवनमा वातावरणमैत्री रङ, व्यवसायीले गरे स्वागत

चितवन । रत्ननगर नगरपालिकाले सौराहामा भवन निर्माण मापदण्ड लागू गरी भवन र त्यसमा लगाउने रङमा एकरुपता ल्याउने भएको छ । सौराहाको पर्यटन विकासका लागि नगरपालिकाले रचनात्मक कामको शुरुआत गरेको भन्दै व्यवसायीले त्यसको स्वागत गरेका छन् । सौराहाको प्राकृतिक सौन्दर्यतालाई जोगाउन नगरपालिकाले व्यवसायीसँग सहकार्य गरी भवन निर्माण र रङमा एकरुपता लयाउन लागेको हो । छ महिनाअघि लागू गरिएको मापदण्डमा साढे दुई तल्लाभन्दा माथि भवन निर्माण गर्न नपाउने र सबै भवनमा वातावरणमैत्री रङ लगाउनुपर्ने अनिवार्य गरिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । “यो व्यवसायीलाई समस्यामा पार्न गरिएको काम होइन”, उनले भने, “सौराहालाई आर्कषक बनाउन शुरु गरिएको अभियान हो ।” भवन निर्माण मापदण्ड कार्यान्वयनका लागि नगरपालिकाले बिहीबार सौराहाका व्यवसायीसँग छलफल गरेको छ । सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले भवन निर्माण मापदण्डले सौराहाको महत्व जीवन्त राख्ने बताए । सौराहामा १२० होटल र ८० रेष्टुराँ रहेका छन् । नगरपालिकाले होटल सञ्चालनका लागि बनाउने भवनको जग्गाको क्षेत्रफल र खुला क्षेत्रसमेत निर्धारण गरी एकदेखि दुई कट्ठामा भवन बनाउँदा ६० प्रतिशत खुला क्षेत्र, दुईदेखि चार कट्ठामा भवन निर्माण गर्दा ५० प्रतिशत खुला क्षेत्र र चार कट्ठामाथि भवन बनाउँदा ४० प्रतिशत खुला क्षेत्र हुनुपर्ने अनिवार्य गरेको छ । रेष्टुराँको हकमा जग्गाको क्षेत्रफल छ घुरदेखि एक कट्ठासम्म ६० प्रतिशत खुला क्षेत्र र एक कट्ठाभन्दा माथि ५० प्रतिशत खुला क्षेत्र हुनुपर्ने छ । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरे, नगर उपप्रमुख विमला दुवाडी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायण काफ्ले, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख रामकुमार अर्याल, प्रहरी उपरीक्षक दानबहादुर मल्ल, वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, होटल सङ्घ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्रकुमार विष्ट, रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी, प्रहरी नायब उपरीक्षक भावेश रिमाल, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, व्यवसायी धु्रव गिरी, सुवासचन्द्र गौतम, गिरिधारी चौधरी, टीका गिरीलगायतले आआफ्नो राय दिएका थिए ।