हिमालयन ट्राभल मार्ट बिहीबारदेखि, ४३ देशका ७०० जनाको सहभागिता
काठमाडौँ । नेपाललाई हिमालयन प्रवेशद्वारको रुपमा स्थापित गराउने उद्देश्यका साथ हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण यही जेठ २३ देखि २६ (जुन ६–९, २०१९) सम्म काठमाडौँमा आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी पर्यटन व्यवसायी, विज्ञहरुको जमघट रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सोल्टी क्राउन प्लाजामा आयोजना हुने मेलामा नेपालसहित ४३ देशका करीब ७०० जनाको सहभागिता रहनेछ । यस पटकको व्यवसायीसँग व्यवसाय (बिटुबी) मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र छ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ बिक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने भएका छन् । मेलामा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिले समेत सहभागिता जनाउनेछन् । सन् २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिँदै आएका मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने सशक्त ‘ब्राण्ड’को रुपमा विकसित हुँदै गएको बताइन्छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्वसामु स्थापित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको पाटा नेपालका अध्यक्ष सुनील शाक्यले बताए । क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहेको यो मेलाले नेपाली पर्यटन क्षेत्रकै शिर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको उनको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा पाटा नेपालले मेलाको आयोजना गर्न लागेको हो । मेलाले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारबाट मेलामा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोक प्रियता पनि बढ्दै गएको आयोजकको भनाइ छ । देशको पर्यटन क्षेत्रको सबैभन्दा ठूलो ‘इभेन्ट’का रुपमा स्थापित भएको यस मेला प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलाको रुपमा स्थापित हुँदै गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले बताए । उनले विश्वका प्रख्यात वक्ताहरुको जमघट हुने मार्टले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा पर्यटन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले नेपाल सुरक्षित र आकर्षित गन्तव्य हो भन्ने सन्देश विश्वलाई प्रवाह गर्न मेला उपयोगी हुने बताए । उनले भ्रमण वर्षलाई लक्षित गर्दै आगामी दिनमा विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिए । हिमालयन राष्ट्रहरुबाट बिक्रेताहरु तथा विश्वव्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरु बीच व्यापार आदानप्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपालले विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । मेलामा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण वर्षको निर्धारित लक्ष्य प्राप्तिमा समेत केन्द्रित रहने उनको भनाइ छ । मेलाको तेस्रो दिन जेठ २५ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियाहरुलाई नेपालका पर्यटकीय गन्तव्यबारे जानकारी गरिने कार्यक्रम रहेको छ । करीब खर्च हुने करीब रु छ करोडमध्ये बोर्डले रु दुई करोड उपलब्ध गराउने बताइएको छ । रासस
सगरमाथामा मृत्युको व्यापार ! एक करोड रुपैयाँसम्म असुल
काठमाडौं । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा हुने ठूलो आम्दानीले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् । आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम गराउन सुरक्षाका उपाय अवलम्बन गर्नसमेत यसमा संलग्न कम्पनीहरू चुक्न थालेका छन् । पदयात्रा क्षेत्रमा ‘फेक रेस्क्यु’ले पारेको नकारात्मक असरभन्दा ठूलो प्रभाव अब आरोहणमा हुने मृत्यु र घटनास्थलबाट शव ल्याउने क्रियाकलापबाट पर्ने देखिएको छ । यसपटक एकै कम्पनीले लगेका सातजना आरोहीको मृत्यु र तिनको उद्धारमा माग गरिएको ठूलो रकमले पनि यो व्यवसाय अब ‘सगरमाथामा मृत्युको व्यापार’का रूपमा चित्रित हुने अवस्था आएको यस क्षेत्रका जानकारहरू बताउँछन् । ‘पर्वतारोहणका नाममा स्वर्गारोहण त गराइँदै छैन,’ एक आरोहण व्यवसायीले भने, ‘यसमा छानबिन हुनुपर्छ । होइन भने हिजो फेक रेस्क्युका नाममा पर्यटन उद्योगले खेपेको बदनामीजस्तै अब आरोहण क्षेत्रले भोग्नुपर्ने हुन सक्छ । अझ आफ्नो कम्पनीले लगेको आरोही भएकाले मृत्युपछि पनि आफैंले उद्धार गर्न पाउनुपर्ने भन्दै माग गरेको देखिएको समेत भुक्तभोगीहरू बताउँछन् । ‘यसरी भएका सबै मृत्यु भवितव्य होइनन्,’ नाम उल्लेख गर्न नचाहने आरोहण व्यवसायीले भने, ‘सस्तो दरमा सेवा दिँदा यस्तो भएको हो । हामीले कस्तो सेवा दिएका छौं भन्नेमा यो निर्भर गर्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
यती एयरलाइन्सको कार्यकारी अध्यक्षमा लाक्पा, प्रबन्ध निर्देशकको जिम्मेवारी चन्दालाई
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन् ।एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि रिक्त पदमा उनकी धर्मपत्नी चन्दालाई नयाँ जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । आङछिरिङ शेर्पाको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । पर्यटन र उड्डयन क्षेत्रमा रहेको शेर्पाको अर्बको व्यवसाय कसले सम्हाल्ने भन्ने विभिन्न धारणा बाहिर आएको थियो । चन्दा यसअघि यति एडभेञ्चरकी प्रमुख थिइन् । कम्पनीले हालै चन्दा शेर्पालाई नयाँ जिम्मेवारी दिएको यति एयरलायन्सका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए । एयरलायन्सको कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पालाई जिम्मेवारी दिइएको छ । उनी स्व आङछिरिङका दाइ हुन् । कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, यती समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरिएको छ । यतीसँग हाल एटिआर ७२–५०० चार र जेटस्ट्रिम–४१ सिरिजका पाँच थान जहाज छन् । यतिकै भगिनी संस्था तारा एअरका दुई वटा डोर्नियर डिओ२२८ र चार वटा डिएचसी छ ट्विनअटर विमानबाट नेपालका विभिन्न दुर्गम स्थानमा सेवा प्रदान गर्दै आएको छ । अबका केही दिनमा यतिको पाँचौँ एटिआर विमान भित्र्याउने तयारी गरिएको यतीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।