असार १९ देखि काठमाडौँ-ओसाका सिधा उडान, पैंतालीस हजारमै उड्न पाइने
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि शुरु गर्नेछ । जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब)बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सिधा उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनका लागि झण्डै ४५ दिन लाग्ने छ । सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले काठमाडौँ–ओसाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । वाइड बडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइड बडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइड बडी जहाज भित्र्याएको थियो । निगमले जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्नका लागि प्रक्रिया अघि बढाएको छ । यो विमानस्थलमा सातामा दुई उडान भर्ने निगमको योजना छ । “नारिता उडानका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिनेछ”, सहायक प्रवक्ता कोइरालाले भने । निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साइँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो । नेपाल–जापानबीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सले जापानको हानेदा एयरपोर्टबाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक दुई उडान नेपालबाट जापानका विभिन्न शहरमा गर्न मिल्ने छ । नेपाली एयरलाइन्सले जापानका विमानस्थलबाट अमेरिकाबाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ । गत पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो । निगमले चीनको गोञ्जावो उडानका लागि पनि कागजी प्रक्रिया शुरु गरेको छ । त्यहाँ सातामा तीन उडान गर्ने योजना छ । त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट (जिएसए)’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ । निगमले वाइड विमान चालक (पाइलट) को थप व्यवस्था गर्दैछ । वाइड बडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही सङ्ख्याका सहचालक चाहिन्छ । दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् । रासस
काठमाडौं-दिल्ली हवाई टिकट पाउनै मुस्किल, हवाई भाडा पनि चर्को
काठमाडौँ । आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं–दिल्लीको भाडामा अस्वाभाविक वृद्धि भएको छ । उपलब्ध सिट संख्याको तुलनामा माग अत्यधिक बढेपछि काठमाडौं–दिल्ली उडान गर्ने हवाईसेवा कम्पनीहरूले उडान भाडामा ३ सय प्रतिशतसम्म वृद्धि गरेका हुन् । जेट एयरले आफ्नो नेपाल उडान बन्द गरेसँगै यात्रुहरूको मागअनुसार वायुसेवा कम्पनीले सिट उपलब्ध गराउन नसक्दा मूल्य बढेको अर्बिट इन्टरनेसनल ट्राभल्सका द्रोण निरौलाले बताए । जेट एयरले काठमाडौं–दिल्ली चारवटा उडान गरेर दैनिक साढे ६ सय यात्रुलाई सेवा दिन्थ्यो । जेटको सेवा बन्द भएसँगै ती यात्रु अन्य विमानसेवाबाट यात्रा गर्नुपर्दा टिकटको माग ह्वात्तै बढेको व्यवसायी निरौलाले बताए । सामान्य अवस्थामा नेपाल वायुसेवा निगमको काठमाडौं-दिल्ली दोहोरो भाडा सबैभन्दा सस्तो १५ हजार रुपैयाँमा पाइन्थ्यो । तर, अहिले ४२ हजारदेखि ४५ हजार पुगेको छ । त्यसैगरी, एयर इन्डियाको उडानमा पनि एकातर्फी हवाई भाडा २७ हजारभन्दा बढी पुगेको छ । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली रुटमा वैशाख १८ गते बुधबारदेखि वाइडबडी एयरबस थ्री थट्री जहाजबाट दैनिक एक उडान थप्ने भएको छ । यसअघि न्यारो बडी १ सय ५८ सिटे जहाजबाट मात्रै उडान गर्दै आएको थियो । २ सय ७६ सिटे विमानबाट सेवा थप्दा यात्रुलाई भइरहेको टिकट अभाव हट्न मद्दत पुग्ने निगमका सह प्रवक्ता नवराज कोइरालाले बताए । निगमले अहिले यस रुटमा सातामा ११ वटा उडान गर्दै आएको छ । नयाँ उडान तालिकाअनुसार सातामा हरेक दिन बिहान १ सय ५८ सिटे जहाजबाट र राति २ सय ७६ सिटे जहाजबाट उडान गर्ने निगमले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
यसरी हुँदैछ अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत, चार सय मिटर सकियो
काठमाडौँ । रातिको १०ः१२ मिनेटको समय, ड्रागन एयर जमीन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ । उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा हुलका हुल जनशक्ति र मेशिननरी उपकरण तयारी अवस्थामा छन् । केहीबेरमै नालापानीको युद्धमाजस्तो गरी टोली अगाडि बढ्छन् अनि कमिलाले जसरी आफ्नो जिम्मेवारी सम्हाल्छन् । झट्ट हेर्दा कुनै युद्धको तयारीपछिको भीडन्तझै लाग्ने केही दिनअघिको यो दृश्य हो मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग ममर्तको । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत चैत १८ देखि विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको काम गरिरहेको हो । मर्मत अवधिको तीन महीनासम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुनेछ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थल धावनमार्गको पिच परिवर्तन गर्दा दैनिक १४ घण्टा सञ्चालन अवधि कायम भएको छ । मर्मतको अवधि अर्थात् ९१अप्रिल २०१९ देखि जुन ३०० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । यसअघि बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा थियो । चार सय मिटर मर्मत सकियो विमानस्थलको धावनमार्ग हालसम्म ४०० मिटर मर्मत भइसकेको प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले जानकारी दिए । पूर्ण क्षमताका साथ धावनमार्ग मर्मतको काम भइरहेको उनले बताए । विमानस्थलमा रहेको तीन किलोमिटर लामो एकमात्र धावनमार्ग मर्मत गर्न हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म काम हुन्छ । धावनमार्ग स्तरोन्नतिको काम चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले गरिरहेको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटकपटक समस्या परेपछि क्यानले धावनमार्ग पूर्णरुपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना अघि बढाएको हो । यसरी हुँदैछ मर्मत विमानस्थल बन्द भएपछि ठेकेदार कम्पनीका सबै उपकरण र जनशक्तिसहित ‘नोटाम’ लाग्नासाथै उपकरण रनवेमा दौडन्छन् । विमानस्थलको धावनमार्गको दक्षिण क्षेत्र (जिरो टु) तर्फबाट निर्माण कम्पनीले काम शुरु गर्छ । तम्तयार अवस्थामा बसेका उपकरणसहितको जनशक्ति विमानस्थलको (जिरो टु) रनवेमा प्रवेश गर्छ । रनवेमा पुगेका उपकरणमध्ये मिलिङ (पुरानो पिच उप्काउने) मेशिनले पिच उप्काउने काम गर्छ । मेशिनले तीन चरणमा १० र १० सेन्टिमर गहिरो पिच उप्काइन्छ । मेशिनको अगाडि तयारी अवस्थामा रहको टिपरमा मिलिङ मेशिनले काटेको पिच स्वचालित मेशिनबाट सिधै लोड गरिन्छ । पिच उप्काइएको ठाउँमा सफा गरी पुनः आधुनिक पेभलर मेशिनबाट नयाँ पिच गरिन्छ । रनवेमा राति १० बजेबाट बिहान करीब ५ बजेसम्म काम हुन्छ । रनवेमा थपिएको नयाँ पिच सेट हुन कम्तीमा तीन घण्टाको समय लाग्ने हुँदा ८ बजेसम्म त्यसै छोडिन्छ । हरेक दिन अवस्था हेरेर निश्चित मिटर रनवेमा स्तरोन्नतिको काम हुने गरेको छ । यही प्रक्रियाअनुसार तीन महीनाभित्र तीन किलोमिटर लामो धावनमार्ग पूरै नयाँ बन्नेछ । धावनमार्गको काम सँगसँगै सेन्ट्रल लाइट (धावनमार्गको बीचमा जमीनमुनि राखिने लाइट) राख्ने काम पनि सँगसँगै भइरहको छ । अहिले हरेक दिन ८० मिटर धावनमार्ग जोतेर पिच परिवर्तन गरी बिहान ८ बजे विमानस्थल सञ्चालन गरिन्छ । क्रमशः यो १०० मिटर हुँदै अझ क्षमताका साथ काम गर्ने योजना रहेको आयोजनाले जनाएको छ । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले धावनमार्गको पूर्णमर्मतको काम निरन्तर भइरहेको बताए । एक मिनेट मात्र काममा ढिला हुँदा पनि बिहान जहाज होल्ड गर्नुपर्ने बाध्यता रहन्छ । “मर्मतको काम निकै चुनौतीपूर्ण छ, तर पनि काम निरन्तर अघि बढाइरहेका छौँ, हाम्रो लक्ष्यअनुसार जुनभित्रै ‘रनवे हिह्याब’ को काम सक्छौँ, त्यसपछि रनवेमा विगतमा भएजस्तो पाप्रा उप्किने समस्याबाट मुक्ति पाएर निर्वाधरुपमा सञ्चालन गर्न सक्छौँ”, महानिर्देशक गौतमले भने । मर्मतका लागि सामग्रीको केही समस्या झेल्नुपरेको बताइएको छ । रोशीखोलाबाट ल्याइने गरेकामा स्थानीयले अवरोध गरेका छन् । अहिले ललितपुरको देवीचौरबाट सामग्री ल्याइरहेकामा त्यहाँ पनि अवरोध सिर्जना गरिएको छ । मर्मत सामग्रीको केही भाग पर्याप्त भएकाले काममा अवरोध नहुने जनाइएको छ । सरोकार भएका निकायसँग छलफल भइरहेकाले पछिल्ला दिनमा समस्या नआउने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार राति खनिएको रनवे बिहान नियमितजस्तै गरेर उडानका लागि तयारी बनाउनुपर्ने र मौसमअनुसार काम गर्नुपर्छ । पानी पर्ने अनुमान भएको दिन काम हुँदैन । मर्मतको काम शुरु भएपछि एक दिन मात्रै पूर्णरुपमा काम बन्द भएको आयोजनाका इञ्जिनीयर दीपेन्द्र श्रेष्ठले जानकारी दिए । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्ग झण्डै चार दशकपछि पूर्णरुपमा मर्मत (कालोपत्रे) थालिएको हो । असअघि समान्य मर्मत गरेर मात्रै काम चलाइँदै आइएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हरेक १० वर्षमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । चिनियाँ कम्पनीले रु चार अर्ब २७ करोडको लागतमा रनवे स्तरोन्नतिको काम गरिरहेको छ । यो कामका लागि नेपाली र चिनियाँ गरी दैनिक ३५० भन्दा बढी जनशक्ति खटिरहेका छन् । मर्मतपछि विमानस्थल २४ घण्टा नै सञ्चालनन योग्य हुने प्राधिकरणको भनाइ छ । रनवेको काम सकिएपछि आठ महीनाभित्र ‘ट्याक्सी वे’को काम सक्ने योजना प्राधिकरणको छ । विमानस्थलमा अहिले दैनिक १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । रासस