७५ आरोही सगरमाथाको चुचुरोमा, ८६८ आरोहीले लिए आरोहण अनुमति
काठमाडौँ । यस यामको जारी हिमाल आरोहणमा हालसम्म ७५ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण शुरु भएको सात दिनको अवधिमा ७५ आरोहीले सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले ७० देखि ७५ आरोहीले सगरमाथा चढेको विभिन्न एजेन्सीमार्फत जानकारी आएको र यसको पुष्टि भइनसकेको बताइन् । “सगरमाथा आरोहणका शुरुका दिनमा राम्रै प्रगति भएको थियो, बीचमा तीन दिनजति मौसम खराबीले आरोहण हुनसकेको थिएन, आज रातिदेखि आरोहण हुनसक्ने जानकारी आएको छ । यति जनाले सगरमाथा आरोहण गरे भनेर विभागले भन्ने अवस्था छैन तर, पनि हामीलाई एजेन्सीले जानकारी गराएअनुसार ७५ को हाराहारीमा आरोही सगरमाथा चुचुरोमा पुगिसकेका छन,”–उनले भने । सगरमाथाको आधारशिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार धेरै आरोही सगरमाथाको क्याम–२ भन्दा माथि भएको र सबै आरोहीमाथि (सगरमाथाको चुचुरो) तिर लागेपछि यतिखेर आधार शिविर शून्यजस्तो भएको छ । कामिरिता २४ औँ आरोहणमा वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो । आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । उनी २४औँ पटकको सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ । विगत तीन दिनदेखि प्रतिकूल मौसमका कारण आरोहण हुनसकेको छैन । अहिले उल्लेख्य सङ्ख्यामा आरोही अनुकूल मौसमको पर्खाइमा छन् । सम्भवतः आज रातिबाट आरोहण हुने र भोलिसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने बताइएको छ । मौसमले साथ नदिएका कारण धेरै आरोही चुचुरोमा जाने प्रतिक्षामा छन् भने आजदेखि मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लाग्ने सम्पर्क अधिकृत श्रेष्ठको भनाइ थियो । कञ्चनजङ्घा, मकालु ल्होत्से, अन्नपूर्णलगायत हिमालको पनि सफल आरोहण भएको छ । आरोहीको सङ्ख्याको एकिन जानकारी आइनसकेको विभागले जनाएको छ सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३८१ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३७ विदेशी र सात नेपाली आरोही समूह छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ । रासस
दुई लाख १९ हजारले घुमे भक्तपुर, २३ करोड ५० लाख राजश्व संकलन
भक्तपुर । भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । विसं २०७४ मा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५३० र अन्य राष्ट्रका एक लाख २५ हजार ४९९ पर्यटक गरी दुई लाख १९ हजार २९ पर्यटकले आगमन भएको छ । २०७५ सालमा भने सार्क तथा चीनका एक लाख १५ हजार ९०६ र अन्य राष्ट्रका एक लाख ३७ हजार ९५७ गरी दुई लाख ५३ हजार ८६३ पर्यटकले आगमन भएको छ । नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक रु ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रति पर्यटक रु एक हजार ५०० पर्यटन शुल्क सङ्कलन गर्दै आएको छ । पर्यटन शुल्कबापत नगरपालिकाले २०७५ सालमा सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु पाँच करोड ७९ लाख ५३ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु २० करोड ६९ लाख ३५ हजार ५०० गरी कूल रु २६ करोड ४८ लाख ८८ हजार ५०० राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले २०७४ सालमा भने सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु चार करोड ६७ लाख ६५ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु १८ करोड ८२ लाख ४८ हजार ५०० गरी कूल रु २३ करोड ५० लाख १३ हजार ५०० राजश्व सङ्कलन गरेको थियो । भक्तपुर आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनबाट पर्यटक आएका छन् भने त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशका पर्यटक आएको केन्द्रले जानकारी दिएको छ । नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेको छ । भक्तपुर प्रवेश गर्ने पर्यटकसँग उठाउने सेवा शुल्क नै भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो । रासस
गौतमबुद्ध विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकियो
काठमाडौं। निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ । सरकारी लापर्बाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो । सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले यसअघि सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएको भन्दै आइतबारबाट धावनमार्ग बनाउने काम रोकेको हो । ठेकेदार कम्पनीका अनुसार अहिले यस विमानस्थल निर्माण आयोजनामा नगद प्रवाहको समस्या भएको छ । लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तोकता गरेको थियो । सम्पन्न भइसकेको कामबापत प्राप्त हुनुपर्ने भुक्तानीका लागि मन्त्रालयले फाइल बेलैमा एसियाली विकास बैंकमा नपठाउँदा ठेकदार कम्पनीले समयमा भुक्तानी नपाएको हो । यस्तो अवस्थामा नदीजन्य गिट्टी बालुवाको आपूर्तिमा पनि समस्या भोग्नुपरेको सो आयोजनाले जनाएको छ । दाङ, चितवन र बुटवलबाट आयोजनाका लागि गिट्टी बालुवा ल्याउनसमेत अहिले विभिन्न क्षेत्रमा अवरोध भएको सो आयोजनाले जनाएको छ । ठेकदार र स्थानीय तहबीच कुरा नमिलेर क्रसरजन्य सामग्रीको आपूर्ति रोकिँदा आयोजनाका लागि आवश्यक निर्माणजन्य वस्तु आपूर्तिमा समेत समस्या भएको जानकारी गराउँदै सो आयोजनाले यस्ता समस्या समधान नगरिए विमानस्थल समयमै सम्पन्न गरेर सञ्चालनमा ल्याउन चुनौती थपिएको बताएको छ । आगामी १ जेठपछि यहाँ प्रयोग हुँदै आएको नदीबाट गिट्टी बालुवा झिक्न रोकिने भन्दै यस्ता विषयमा गम्भीर भइएन भने आयोजनामा ठूलो असर पर्ने आयोजनाले बताएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।