खप्तड आउने पर्यटकमा वृद्धि, स्थानीयवासी होमस्टे सञ्चालन गर्दै
काठमाडौं । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिएका छन् । निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको सात महीनामा रु दुई लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ । निकुन्जमा आन्तरिक पर्यटकलाई निःशुल्क र बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० का दरले भ्रमण शुल्क तोकिएको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावर समेत हेर्न सकिन्छ । खप्तड क्षेत्रमा जेठमा गङ्गा दशहरा मेला तथा जनै पूर्णिमाका दिन जात्रा लाग्छ । खप्तड क्षेत्रमा पर्यटन गतिविधि बढाउन खप्तड प्रवेशद्धार बगलेकमा होमस्टे सञ्चालन गर्न लागिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका–२ को संयुक्त लगानीमा बगलेक गाउँका १० घरमा घरबासको व्यवस्था मिलाउन लागिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष दीपकबहादुर खड्काको भनाई रहेको छ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीयवासी धनबहादुर विष्टले बताएका छन् । बगलेकमा तत्कालै ठूला होटेल सञ्चालनमा ल्याउन कठिन हुने भएकाले घरबासका माध्यमबाट पर्यटकलाई सुविधा दिन स्थानीय घर छनोट गरिएको जनाएका छन् । रासस
पर्यटकलाई तस्बीर लिन समस्या परेपछि सम्पदास्थलमा चारपाङ्ग्रे सवारीसाधनको प्रवेशमा रोक
भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदास्थलमा मंगलबारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा आजदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए । नगरप्रमुख प्रजापतिले आज सिक्रीमा ताला लगाएर चारपाङ्ग्रे सवारी रोक्न औपचारिक शुरूवात गरेका हुन् । सवारीसाधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलको अवलोकनमा आउने पर्यटकलाई सवारीसाधनको अव्यवस्थित पार्किङ, अनावश्यक भीड र हर्न बजाउने, जथाभावी सवारी आवतजावतले बाधा पुर्याएको तथा पर्यटकलाई तस्बीर लिनसमेत समस्या परेको गुनासो बढेपछि नगरपालिकाले चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको हो । नगरप्रमुख प्रजापतिले विश्व सम्पदास्थलको संरक्षण गर्न भक्तपुर घुम्न आउने पर्यटकलाई बाधा नपुगोस् भनेर सवारी प्रवेशमा रोक लगाएको बताए । सवारीसाधनको कम्पनले पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको संरक्षणमा बाधा पुगेपछि नगरपालिकाले सम्पदाको संरक्षणलाई समेत ध्यान दिँदै सवारी प्रवेशमा रोक लगाएको हो । पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्रह्म महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोकायताको चार किलाभित्र बिहान ७ देखि बजेदेखि बेलुका ७ बजेसम्मलाई चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा निषेध गरिएको नगरप्रमुख प्रजापतिले बताए । नगरपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, शववाहन, दमकललगायत साधनलाई भने सञ्चालनमा रोक लगाएको छैन । यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन निषेध गरेको थियो । स्थानीय जनताको सल्लाह र सुझाव लिएर अन्य सम्पदास्थलम समेत सवारी प्रवेश रोक लगाउन सकिने उनको भनाइ छ । रासस
आइतबारदेखि हवाई भाडा घट्दै, धनगढी-काठमाडौं रुटमा ४४० रुपैयाँ घट्यो
काठमाडौँ । नेपाली वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुने गरी आन्तरिक हवाइ रुटमा ४४० रुपैयाँसम्म हवाइ भाडा घटाएका छन् । आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुने गरी एअर टर्बाइन फ्युल(हवाइ इन्धन) को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएपछि एअरलाइन्सहरूको एक मात्र संगठन वायुसेवा सञ्चालक संघले आइतबारदेखि लागु हुनेगरी हवाइ भाडामा लिइने फ्युल सरचार्जमा कम्तीमा ९० रुपैयाँदेखि ४४० रुपैयाँसम्म घटाउने निर्णय गरेको हो । संघका प्रवक्ता घनश्याम आचार्यका अनुसार सबैभन्दा धेरै धनगढी–काठमाडौं रुटको एकतर्फी भाडामा ४४० रुपैयाँसम्म फ्युल सरचार्ज घटाइएको छ । सबैभन्दा कम काठमाडौंदेखि सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । काठमाडौंदेखि सुरु हुने पर्यटकीय रुटमा उडानमा ३४५, तुम्लिङटारमा १८५, भद्रपुरमा ३००, विराटनगरमा २४०, जनकपुरमा १३०, सिमरामा ९०, भरतपुरमा ११० रुपैयाँ घटाइएको छ । पोखरामा १५५, भैरहवामा २०५, धनगढीमा ४४० र नेपालगञ्जमा ३२५ रुपैयाँ घटाइएको छ ।