पोखरादेखि सिमरा सिधा हवाई सेवा, प्रदेश सरकारको पहलमा होटल व्यवसायीले गरे स्वागत

पोखरा । पर्यटकीय नगरी पोखराबाट बाराको सिमरा र मनाङको हुम्दे विमानस्थलसम्म सिधा हवाई सेवा प्रदानका लागि गण्डकी प्रदेश सरकारले गरेको पहलकदमीको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । बाराबाट आएका व्यवसायी तथा सरकारी अधिकारीसँग प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छलफलमा पोखरालाई ती दुई क्षेत्रसँग जोड्ने निर्णय गरिनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि स्वागतयोग्य भएको सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । उनका अनुसार आगामी पुस २४ देखि हुम्दे विमानस्थल र माघ १५ बाट सिमरा विमानस्थलसँग पोखराबाट सिधा हवाई सेवा जोडिन लागेको हो । प्रदेश सरकारले चालू आवकोे नीति तथा कार्यक्रममा पर्यटकीय नगरी पोखरालाई सात वटै प्रदेशसँग हवाई सेवामार्फत जोड्ने विषय उल्लेख गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले जनप्रतिनिधिसँग बसेर गरेको छलफलमा उल्लिखित दुई विमानस्थलसम्म हवाई सेवा पोखराबाट सञ्चालन गर्ने निर्णय गरेका थिए । अध्यक्ष तुलाचनले झापाको भद्रपुर र नेपालगञ्जबाट समेत पोखरालाई सिधा हवाई सेवामार्फत जोड्न सरकारसँग माग गरे । आन्तरिक उडान विस्तारका साथै भारतका केही मुख्य शहरसम्म हवाई सेवामार्फत पोखरालाई जोड्न सके सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

गत बर्षकाे तुलनामा चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटकमा बृद्धि

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महीनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो ।  निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा ७१ हजार ७२० पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आर्थिक वर्ष २०७४ /७५ को सोही अवधिमा ५३ हजार ८५ जना मात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । घिमिरेका अनुसार चालु आर्थिक वर्षको साउनमा ८ हजार ३९४, भदौमा सात हजार ३६३, असोजमा १२ हजार ७९६, कात्तिकमा २६ हजार १६४ र मङ्सिरमा १७ हजार ९७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । यीमध्ये विदेशी ५० हजार ७६४, सार्क मुलुकका सात हजार ३८७ र नेपाली १३ हजार ६५९ जना रहेका छन् । गत आर्थिक वर्षको साउनमा ६ हजार ५२२, भदौमा तीन हजार ८५९, असोजमा ११ हजार ९६९, कात्तिकमा १८ हजार १७१ र मङ्सिरमा १२ हजार ५६४ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । तीमध्ये विदेशी ४० हजार ५३, सार्क मुलुकका चार हजार ४९६ र नेपाली आठ हजार ५३६ रहेका थिए । सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा १ एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । सोही आर्थिक वर्षको वैशाखमा भूकम्प गएपछि, नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक समस्या लगायतका कारण पर्यटकको सङ्ख्या लगातार घट्दै गएको थियो । गत आर्थिक वर्षमा २०७४/७५ मा एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७३र७४ मा एक लाख ३९ हजार ९७८ र २०७२/७३ मा ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेका थिए । यो तथ्याङ्कलाई हेर्दा गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस वर्षको पर्यटक आशालाग्दो देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताएका छन् । निकुञ्जको सौराहा, घटगाई, कसरा पुलगेट र देवनगर, वनकट्टा, लौखानी, अमलटारी, कुजौली क्षेत्रबाट पर्यटक मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने गर्दछन् । अङ्ग्रेजी नयाँ वर्षलाई बुकिङ राम्रो क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे विगतका वर्षको तुलनामा यसवर्ष पर्यटक आगमन राम्रो रहेको बताएका छन् । अङ्ग्रेजी नयाँ वर्षको आसपासको समयका लागि ९० प्रतिशतभन्दा बढी होटल बुक भइसकेका छन् । उक्त समयमा होटल शतप्रतिशत भरिभराउ हुने घिमिरेको भनाई रहेको छ । पुस ११ गतेदेखि सौराहामा हात्ती महोत्सव हुनेभएकाले उक्त समयमा पनि पर्यटक आगमन निकै राम्रो हुने अपेक्षा गरिएको बताउँदै जनवरी पर्यटकीय हिसाबले त्यति राम्रो नभए पनि त्यसपछि पर्यटक आगमन क्रमशः बढ्दै जाने अपेक्षा गरिएको जानकारी दिएका छन् । विगतमा भारतीय नाकाबन्दी, भूकम्पका कारण सुस्ताएको पर्यटन व्यवसायमा नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नति कार्यले सडक यातायात असहज हुँदा पर्यटक आगमन निराशाजनक रहेको थियो तर अवरोध सबै हटेसँगै पर्यटक आगमनमा राम्रो सुधार हुने अपेक्षा व्यवसायीको रहेको छ । घिमिरेले हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा चितवन पर्यटक आएकोमा त्योभन्दा बढी पर्यटक यसवर्ष भित्रिने अपेक्षा गरिएको बताउँछन् । अहिलेसम्मको तथ्याङ्क सकारात्मक रहेको भन्दै पर्यटकीय वातावरण नबिग्रिएमा यस आर्थिक वर्ष पर्यटन क्षेत्रका लागि उपलब्धी पूर्ण हुने भनाई व्यक्त गरेका छन् । चितवन आउने पर्यटक सौराहा, जगतपुर, पटिहानी, मेघौलीमा बस्ने गर्दछन् । रासस

पर्यटकीय सम्भावना रहेको म्याग्दीकाे स्वर्गाश्रम र बेलढुङ्कोमा पदयात्रा मेला आयोजना हुँदै

काठमाडौं ।  प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना क्षेत्र स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा र मेला आयोजना गरिने भएको छ । म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित उक्त स्थानमा विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे सङ्क्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गा लगायत भकिम्लीमा रहेका सम्भावनायुक्त ठाउँमा पर्यटन प्रवद्र्धनका विषयमा छलफल समेत हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले जानकारी दिएका छन् । स्थानीय कला संस्कृतिको सम्वद्र्धन, माघे सङ्क्रान्ति मेला पर्यटन प्रवद्र्धन भन्ने मूल नाराको साथ हुन लागेको उक्त कार्यक्रममा आयोजना गरिएको जनाएका छन् । पुस २९ गते म्याग्दी भ्रमण वर्षलाई लक्षित गरी पर्यटन पदयात्रासमेत गरिने कलबका अध्यक्ष भीम पुनले बताएका छन् । रासस