तनहुँको बन्दीपुर पर्यटकीय नगर बन्दै, दैनिक ३ सय भन्दामाथि पर्यटकको आगमन
काठमाडौं । एक वर्षको अवधिमा एक लाख पचास हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म उक्त सङ्ख्यामा पर्यटक बन्दीपुर भित्रिएको पर्यटन विकास समितिका अध्यक्ष वैशबहादुर गुरुङले जानकारी दिएका छन् । सन् २०१७ मा करीब एक लाख पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । भ्रमण गर्नेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक रहेका रहेका थिए । आउने बाह्य पर्यटकमा अमेरिका, थाइल्याण्ड, चीन, भारत र कोरियाका बढी छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटक बढी मात्रामा बन्दीपुर आएका थिए । “नेपालीमा घुम्ने संस्कृतिको विकास हुँदै गएको बताउँदै जाडो मौसमसँगै यतिबेला बन्दीपुरमा पर्यटकको ओइरो लागेको जानकारी दिएका छन् । दैनिक करीब तीन सय पर्यटक बन्दीपुर घुम्न आउने क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानको भनाई रहेको छ । बन्दीपुरको मनोरम दृश्य र ऐतिहासिकस्थलको बारेमा जानकारी लिन बाह्य पर्यटक आउने गरेको छन् । बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँघर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत सानाठूला गरी ५७ होटल तथा २२ घरबास सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० सम्म पर्यटकले रात बिताउन सक्ने व्यवस्था रहेको होटल संचालकको भनाइ छ ।बन्दीपुरमा ढुङ्गाले छापेको बाटोमा सवारीसाधन गुडाउन निषेध गरिनुका साथै पुराना घर भएकाले बाह्य पर्यटक आकर्षित हुने गरेका छन् । काठका बुट्टा कुँदिएका झ्याल तथा ढोका, इँट्टाबाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेका छन् । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर पर्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । रासस
एक अर्ब २३ करोड बजेट पर्यटन क्षेत्रमा विनियोजन, कर्णाली प्रदेशलाई मध्यनजर
काठमाडौं । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताएका छन् । ‘कर्णाली प्रदेशको पर्यटन विकास र योजना कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा पर्यटनमन्त्री बुढाले पर्यटन क्षेत्रमा बजेट कमी नभए पनि जनशक्ति अभावले कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को पाँचौँ स्थापना दिवसको अवसरमा महासङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर सुर्खेतमा उक्त कार्यक्रम संचालन भएको हो । सङ्घ र प्रदेश सरकारले कुल रु एक अर्ब २३ करोड बजेट पर्यटन क्षेत्रमा विनियोजन गरेको बताउँदै मन्त्री बुढाले शुरुको वर्ष र कर्मचारी अभावले नियमित विकासका गतिविधि सञ्चालनमा प्रभाव परेको भनाइ रहेका छन् । कर्णाली सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को शुभारम्भ गरेपश्चात् यहाँ पर्यटकको चहलमा पहलमा वृद्धि आएको हो । भदौदेखि मङ्सिरसम्म रारा हेर्ने पर्यटक २० हजार पुगेका र कर्णालीका १० जिल्लाका प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीयस्थल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको छ । रारा र से–फोक्सुण्डो वरिपरि पदमार्ग निर्माण गर्ने भन्दै जिल्लामा एक/एक पर्यटकीय गन्तव्य निर्धारण गर्नुका साथै शैक्षिक पर्यटनलाई समेत प्राथमिकता दिने जानकारी दिएका छन् । मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले समृद्धि पर्यटनले निर्धारण गर्ने कुरामा जोड दिएका छन् । कर्णालीको जलविद्युत, जडीबुटी, कृषि पर्यटनको पनि त्यतिकै सम्भावना रहेको छ । साथै धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक पर्यटन प्रवद्र्धनमा मन्त्रालय लागि परेको छ । रासस
अङ्ग्रेजी नयाँ वर्षमा सौराहाका होटल पर्यटकले भरिभराउ
चितवन । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन् । नारायणगढ–मुग्लिन सडक सहज भएसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन यहाँ आएका छन् । सङ्घका उपाध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा सोमबार राति कुटुम्ब ब्याण्डको प्रत्यक्ष प्रस्तुति रहेको थियो भने केही होटलले समेत साङ्गीतिक कार्यक्रम आयोजना गरेका थिए । होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीका अनुसार सोमबारदेखि तीन दिनसम्म होटल पुरै बुकिङ रहेको छ । ठूला अधिकांश होटल पुरै बुकिङ भएको उनले बताए । सौराहाको रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । राप्ती किनार पर्यटकले भरिएको छ । निकुञ्जसँग जोडिएका सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको व्यवसायीले बताएका छन् । सौराहामा मात्र सानाठूला गरी ११० होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक दुई हजार पाँच सय पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । साठीभन्दा बढी रेस्टुराँ र एक सय साना पर्यटन व्यवसाय सञ्चालित छ । यहाँ वार्षिक दुई लाख हाराहारी पर्यटक आउँछन् । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । हात्ती चढेर जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहन्छ । रासस