पर्यटन मन्त्री अधिकारी भन्छन्ः ११ वर्षपछि नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो गन्तव्य बनाइने बताएका छन । नेपाल पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको पाँचौं ‘ग्रेट हिमालय’ महोत्सवको उद्घाटन गर्दै उनले ११ बर्ष नेपाल संसारका एक नम्बर पर्यटन गन्तव्य बन्ने घोषणा गरेका हुन् । उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको पनि बताए । मुलुक सङ्घीयतामा गइराख्दा पर्वतारोहण सङ्घलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पूर्णरुपमा पालना गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्वतारोहण सङ्घले ऐननियम बनाएर हिमाल आरोहणमा अनुमति प्रदान एवं राजश्व सङ्कलन गर्ने अधिकारसमेत पाएको स्मरण गराए । पर्वतारोहण सङ्घलाई अझै व्यवस्थित बनाउन सरकार तत्पर रहेको बताउँदै उनले मेला र महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्गविक्रम शाह साहसी अवार्ड–२०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड–२०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएकोे थियो । विश्व प्रसिद्ध कुमार खड्गविक्रम साहसी अवार्ड–२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक होङ्ग गिलले आफूले पाएको अवार्ड दिवङ्गत आरोहीप्रति समर्पित गरे। नेपाललाई आफ्नो दोस्रो घरका रुपमा आफूले लिएको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कूलको समेत स्थापना गरिसकेको उनले बताए । महोत्सवमा गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली, तामाङलगायत जनजाति तथा समुदायबीचको सांस्कृति नाच एवं ४० वटा खाना एवं अन्य स्टलको निरीक्षण गरी उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने सङ्घका कोषाध्यक्ष सुदर्शन न्यौपानेले जानकारी दिए । रासस

पोखराको भलाम खोलामा २ करोड लागतमा पक्की पुल निर्माण

पोखरा। पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख २६ हजार ८९४ स्थानीय जनसहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शनिबार नवनिर्मित पुलको उद्घाटन गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासको ढोका खुलेको बताए। प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत पोखरा ११ देखि २० को भलाम, चण्डी देउराली, हरिहर गुफा, डाँडागाउँ हुँदै वडा नं १६ को अर्मलासम्म जोड्ने पक्की सडक निर्माण गरिने बताउँदै उनले उक्त योजना सम्पन्न गर्न स्थानीय वासिन्दाको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्। गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सडक पूर्वाधार विकास पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै विकास निर्माणमा सबैको सहयोग अपरिहार्य रहेको बताए । अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले पुल निर्माणसँगै पोखराको भलामदेखि मौजासम्म उत्पादित कृषि उपज बजारीकरणमा सहयोग पुग्नुका साथै त्यस क्षेत्रका कृषकको समृद्धिमा सहयोगी बन्ने बताए। पुलबाट पोखरा ११ को फूलबारी मणिपाल, भलाम मौजा र बाटुलेचौरसम्मका स्थानीय वासिन्दा लाभान्वित हुने पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए। पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन खत्री, वडा सदस्य भीमप्रसाद बास्तोला, जिल्ला समन्वय समिति कास्कीका जिल्ला प्राविधिक इञ्जिनीयर नारायण बराल र नेकपा कार्यदल कास्कीका सदस्य सुशील बस्नेतले सडकको महत्वमाथि प्रकाश परेका थिए। रासस

ढुसी लागेपछि सुन्तला उत्पादनमा गिरावट, बोट लगाउन नजान्नु मुख्य कारण

जाजरकोट। गभारो र ढुसी रोग लागेका कारण जाजरकोटमा यो वर्ष सुन्तला उत्पादनमा गिरावट भएको छ । सरकारले ‘जोन घोषणा’ गरेको जाजरकोटमा सुन्तला उत्पादन घटेपछि किसान चिन्तित छन् । रोगका कारण सुन्तालका बोट सुक्ने र दानाहरु कालो हुन थालेपछि उत्पादन कमी आएको हो । गत वर्ष रु आठ करोड बराबरको सुन्तला उत्पादन भएको जाजरकोटमा यो वर्ष त्यसको आधा पनि उत्पादन सकेको किसान बताउँछन् । बारीमा लगाएका सुन्तलाका बोटहरु फल टिप्ने बेला सुक्न थालेपछि स्थानीय किसान लगानी डुब्ने चिन्तामा छन् । कहाँ–कहाँ छ, सुन्तलाको जोन सरकारले सुन्तलाका लागि सम्भावना भएको जाजरकोटका तीन स्थानीत तहमा ‘सुन्तला जोन’ स्थापना गरेको थियो । कुशे गाउँपालिकाको दम्दाला, भेरी नगरपालिकाको वडा नं २ र नलगाड नगरपालिकाको वडा नं ३ लाई समेटेर अघेल्लो वर्षको माघमा जोन क्षेत्र घोषणा गरी काम शुरु गरिएको थियो । गत वर्ष रु १० लाखको सुन्तला बेचेका कुसे गाउँपालिका वडा नं ५ दमदालाका किसान शक्तिबहादुर वलीले यस वर्ष आधा उत्पादन घटेको बताए। एक्लै ३५ रोपनी जग्गामा सुन्तला खेती गर्नुभएका वलीले गत वर्षको तुलनामा यस वर्ष आधा सुन्तला उत्पादन घटेको बताए। उनले  सुन्तलाका बोट सुक्ने, पात सुक्ने र दाना पनि कालो भएर कुहिने समस्याका कारण यो वर्ष बोटमा सुन्तला निकै कम फलेको जानकारी दिए। वलीजस्तै अर्का किसान चन्द्रबहादुर मल्ल पनि सुन्तलाको बोटमा ढुसी रोगले सुन्तलाका दाना कालो हुने, डाँठ सुक्ने, पात पहँेलो हुने र पछि पुरै बोट सुक्ने कारण आफूहरु ठूलो मर्कामा परेको र सरकारले केही सहयोग नगरेको गुनासो गरेका छन्। उनले सरकारले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत घोषणा गरिएको ‘सुन्तला जोन’ कार्यक्रमले जाजरकोटका उत्पादक किसानलाई राहत दिन नसकेको बताए। किसानका समस्या समाधान गर्ने, नियमित रूपमा बारीको प्राविधिक रूपले रेखदेख गर्ने तथा सुन्तलाका बोटको सुरक्षाका लागि किसानलाई सल्लाह सुझाव दिन कर्मचारीले नसकेका कारण यस वर्ष सुन्तला जोन घोषणा गरिएको जिल्लामा उत्पादन निकै घटेको कुसे–५ का स्थानीयवासी शिक्षक डिल्लीबहादुर थापाले बताए। परियोजना कार्यान्वयन एकाइ सुस्त सुन्तालाका बिरुवा रोगका कारण समस्य आए पनि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ कार्यान्वयन एकाइ कार्यालयले कुनै पनि सहयोग नगरेको किसानको गुनासो छ । कार्यालयका प्रमुखदेखि कर्मचारी फिल्डमा नजाने र पाँकटियास्थित जोनको कार्यालय सहयोगीको भरमा खुल्ने गरेकाले किसानले कुनै सुविधा पाउन नसकेको शिक्षक थापाको आरोप छ । जोन प्रमुख टङ्क रिजालले किसानले सुन्तलाको बोट लगाउन नजानेका कारण बोट सुक्ने समस्या देखिएको छ, सुन्तलाका बोटहरु लगाउँदा ठूलो खाडल नबनाएका कारण सुन्तलाका जराहरु ढुङ्गा या चट्टानमा ठोक्किने भएकाले अहिले बोटमा पात सुक्ने, डाँठ सुक्ने र फल कालो हुने समस्या देखिएको बताए। उनले अहिले जाजरकोटमा ५४ हजार सुन्तलाका बोट लगाइएको बताए। अहिले जिल्लाको १८० हेक्टर जमीनमा सुन्तला खेती भइरहेको र यसलाई बढाएर ५०० हेक्टर बनाउन आफूहरुले काम गरिरहेको प्रमुख रिजालको दाबी छ । रासस