कतार एयरवेजले ल्यायो ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ योजना, सिट बुकिंगमा ५० प्रतिशत छुट
काठमाडौं । कतार एयरवेजले आफ्ना यात्रुका लागि नयाँ विशेष योजना ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ को घोषणा गरेको छ । सार्वजनिक नयाँ योजना अनुसार कतार एयरवेज मार्फत फस्र्ट वा विजनेश क्लास यात्रुले दूई सिट बुक गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । नयाँ योजनाले लिजर तथा विजनेश यात्रुलाई आफ्ना परिवार, मित्र लगायतसंग आफ्नो यात्रा योजना बनाउन सघाउने कम्पनीको विश्वास छ । कतार एयरवेजको बृहत्त गणतब्य सञ्जाल मध्य कुनैपनि स्थानका लागि यात्रा गर्दापनि यसको लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत यात्रुले फस्र्ट वा विजनेश क्लास क्याविन्समा यात्राका लागि बुकिंग गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने एयरवेजले जनाएको छ । दूई सिट एकै पटक बुक गर्दा यात्रुका लागि छुट योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौँ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एहब अमिनले भने यो पृथक योजनाले परिवार, मित्रजन लगायतसंग छुट सहित हाम्रो बहुचर्चित पाँच तारे सेवाको उपभोग गर्दै निस, प्राग र डब्लिन जस्ता रोचक गणतब्यकमा यात्राको मज्जा लिन सक्नेछन् । अक्टोबर ९ देखि १६ भित्र बुकिंग गर्ने यात्रुले ३१ मे २०१८ सम्म यात्रा गर्दा यो योजनाको फाइदा लिन सक्नेछन् ।
नेपाल पर्वतारोहण संघकाे वार्षिक करिब ६ करोड अाम्दानी सरकारले खाेस्याे
काठमाडौँ । पर्वतीय पर्यटनको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले १५ वर्षदेखि उठाउँदै आएको पिकको राजश्व अबदेखि सरकारले नै उठाउने भएको छ । सन् २००२ देखि एनएमएले १५ वटा पिकको पर्मिट (आरोहण अनुमतिपत्र) दिँदै आएको थियो । पछि १२ वटामा सीमित रहेको थियो । बाह्रवटा सरकारले दिएको र १५ वटा अन्य पिक गरी जम्मा २७ वटा पिकको राजश्व एनएमएले उठाउँदै आएको थियो । यसबाट वार्षिक करिब रु छ करोड आम्दानी हुने गरेको संस्थाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले यही असोज १ गतेदेखि १२ वटा पिकको राजश्व उठाउने भएको छ । यद्यपि, यस विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने भएकाले अझै टुंगो लागि नसकेको मन्त्रालयका अधिकारी बताउँछन् । अर्थ मन्त्रालय र कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सहमति लिएर मात्रै मन्त्रिपरिषद्ले पारित गर्नुपर्ने हुन्छ । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले एनएमए पिकका सम्बन्धमा मन्त्रालयमा छलफल भइरहेको र एक दुई दिनभित्रै यसको टुंगो लाग्ने बताए । “यो विषयमा शुक्रबार मात्रै सचिवले मन्त्रीसमक्ष ब्रिफिङ गर्नुभएको छ, अहिले मन्त्रालय पनि अन्य झमेलामै रहेकाले मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुँदा अब चाँडै टुंगिन्छ,”– उनले भने । रासस
एक वर्षमा एघार हजार पर्यटकद्धारा कोशी टप्पुको अवलोकन, सबैभन्दा बढी वैशाखमा
इनरुवा । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७३/०७४ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । आरक्षमा एक वर्षको अवधिमा नेपाली पर्यटक ११ हजार दुई जना, सार्क मुल्कका ५४ र विदेशी मुलुकका १९६ गरी जम्ममा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेको संरक्षण अधिकृत साहले बताए । आरक्षमा सबैभन्दा बढी वैशाख महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम पुस महिनामा पर्यटक आएको तथ्यांकले देखाएको छ । आरक्षमा वैशाखमा एक हजार ८७४ जना पर्यटक आएको छ भने पुस महिनामा १२३ जना पर्यटक आएका थिए । आरक्षमा आवलोकन गरेको पर्यटकबाट सोही आर्थिक वर्षमा रु सात लाख ८५ हजार १०० राजस्व संकलन भएको आरक्षले जनाएको छ । आरक्षमा रहेको विभिन्न किसिमका चराचुरुङ्गी, अर्ना, हात्तीलगायतका जंगली जनावरको अवलोकन गर्नका लागि पर्यटक आउने गरेका छन् । रासस