नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लविङ, बुद्ध एयरकाे नयाँदिल्ली उडानमा समस्या
राँझा । नेपालगञ्जस्थित राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विस्तार गर्न स्थानीयस्तरबाट पहल शुरु भएको छ । विमानस्थललाई आवश्यक पूर्वाधारसहितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थल स्वीकृत गराउन र यहाँबाट भारतको नयाँदिल्ली हवाई उडान अनुमतिका लागि पहल गर्न आइतबार स्थानीयस्तरमा छलफल भएको हो । छलफलमा विमानस्थल विस्तार र दिल्ली उडान अनुमतिका लागि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णय भएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । उक्त विमानस्थललाई विस्तार गर्दै भारतको दिल्लीसम्म उडान गर्नसके नेपालगञ्जको विकास हुने भएकाले यसमा जिल्लास्थित राजनीतिक दल, उद्योगी व्यापारीसमेत एकताबद्ध भएको छलफल आयोजक नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताए । क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य विमानस्थलका रुपमा विस्तार गर्नुपर्ने नेकपाका जिल्ला नेता अकलबहादुर बमले बताए । उक्त विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्धएयरले अनुमति पाइसके पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या भएको जनाएकाले त्यसलाई हटाउन सङ्घीय सरकारसमक्ष स्थानीयस्तरबाट पहल गरिएको उनले जानकारी दिए । रासस
काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन
काठमाडौं। दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो । प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश नं २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँको सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने उनको भनाइ छ । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष प्रह्लाद लोहनीले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन सेवाले ठूलो सहयोग पुग्ने बताए। सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न यस्ता सेवाले सहयोग पुग्ने उनको भनाइ छ । दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथबाट पर्यटक बोकेर देशका विभिन्न पर्यटकीय भूभाग जाने गरेका पर्यटकीय बस यतिबेला बसपार्कको अभावका कारण सोह्रखुट्टे सडकबाट यात्रु बोकेर जान बाध्य छन् । पर्यटन विकासका लागि एशोसिएसनले यसअघि पोखरा, सौराह र लुम्बिनीमा पर्यटक बस सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा बर्दियामा समेत बस लैजाने लक्ष्य राखिएको अध्यक्ष लोहनीको भनाइ छ । हाल काठमाडौँबाट देशका विभिन्न भागसम्म पर्यटकलाई ओहोरदोहोर गराउन एक सयको हाराहारीमा पर्यटक बस सञ्चालनमा रहेका छन्। रासस
पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य–चन्द्रप्रसाद ढकाल
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य भएको बताएका छन् । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा राजधानीमा आयोजित ‘हिमालयन समीट’ मा मुख्य वक्ताको रुपमा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले नेपाल र चीनबीच प्राचीन कालदेखि नै रहि आएको ऐतिहासिक र संस्कृतिक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिम प्राप्त शिक्षित युवा जनशक्ति तयार हुँदै गएको बताए । काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउदै माउन्ट एभेरेस्ट, उच्च हिमसृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताए । यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरे । नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सवैसँग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहोर्याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए । नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा प्रशन्नता ब्यक्त गर्दै दुई विशाल छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली नीजि क्षेत्र तयार रहेको जानकारी दिए । उक्त सत्रमा चिनीया र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधि सहित करिव एक सय जनाको सहभागिता रहेको थियो ।