बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु

काठमाडौ । कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ । कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकाबाट नजिक पर्ने त्यस क्षेत्रमा सो खेलको विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले चालु आवमा १ करोड विनियोजन गरेको नगर प्रमुख रमेश महर्जनले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदनपछि उक्त पूर्वाधार सम्पन्न गर्न के कति खर्च लाग्ने र कसरी निर्माण पूरा गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ । नगरपालिकाले त्यहाँ गर्ने लगानीबाट त्यस क्षेत्र आसपासका स्थानीय लाभान्वित हुने र रोजगारीको अवसर बढ्ने विश्वास गरिएको छ । रासस

चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्यो, ७५ प्रतिशत होटल बुकिङ

काठमाडौ‌ं । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए ।  होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताउनुभयो । जुन अहिलेसम्मकै बढी हो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । यसमा पनि सबैभन्दा बढी भारतका पर्यटक छन् । नेपालमा चाडपर्व शुरु भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली, कूटनीतिक तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्ति नेपाल भ्रमणमा आउने हुँदा पर्यटकको संख्या वृद्धि हुने अनुमान छ । दशैँ तिहारमा वर्षेनी धेरै नेपाली आउने गर्छन् । आगामी अक्टोबर ११ मा काठमाडौँमा गैरआवासीय नेपाली सङ्घको ‘ग्लोवल मिटिङ’ भएकाले धेरै पर्यटक आउने महासचिव शाहको ठम्याइ छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१७ को पहिलो छ महिना र त्यसपछिको अवधिमा विभिन्न मुलुकबाट झण्डै छ लाख पर्यटक नेपाल आएका छन् । छ महिनाको मात्रै विवरण हेर्दा चार लाख ६० हजार ३०४ पर्यटक आएका छन् । सन् २०१६ को छ महिनाको अवधिमा तीन लाख ५९ हजार ६७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । दुई छिमेकी मुलुक भारत र चीनको तुलना गर्दा सन् २०१७ को छ महिनाको अवधिमा भारतबाट मात्रै ९३ हजार पर्यटक भित्रिएका छन् जबकि सन् २०१६ को सोही अवधिमा ६४ हजार मात्र भारतीय पर्यटक आएका थिए । त्यस्तै चीनबाट सन् २०१७ को छ महिनामा ५४ हजार पर्यटक आएका छन् सन् २०१६ को सोही अवधिमा ३९ हजारको हाराहारीमा चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१७ को छ महिनामा अमेरिकाबाट ४१ हजार ६९१, बेलायतबाट २७ हजार ४४४ र श्रीलंकाबाट १९ हजार ७२९ पर्यटक आएका छन् । उल्लेखित विवरण हेर्दा सन् २०१७ मा पर्यटकको संख्या हालसम्मकै बढी हुने सहजै अनुमान गर्न सकिन्छ । अहिले पर्यटकीय याम र चाडपर्व पनि शुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । हानको विवरणअनुसार अहिले नेपालमा करिब ४५ हजार बेड छन् । नयाँ चार हजार बेड थपिँदैछन् । रासस

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए । आइतबार पनि मौसम खराबीका कारण कुनै पनि उडान हुन सकेन । आइतबार विभिन्न विमान कम्पनीले गरी १६ वटा उडान तालिका राखेका थिए । उडान अवरुद्ध हुँदा लुक्ला आउन लागेका पर्यटक काठमाडौँमा रोकिएका छन् भने खुम्बु भ्रमण गरेर फर्कन लागेका पर्यटक लुक्लामा रोकिएका छन् । पर्यटक आउने याम शुरुकै समयमा लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा वर्षमा दुईपटक, मध्य भदौदेखि कात्तिक तथा मध्य फागुनदेखि जेठसम्म पर्यटक आउने गर्छन् । यस वर्ष भदौको पहिलो हप्ताबाट नै पर्यटकको आगमन बढेर उत्साहित बनेका व्यवसायी मध्य भदौमा नियमित मौसम बिग्रँदा चिन्तित बनेको लुक्लाका पेमदोर्जी शेर्पाले बताए । अहिले खुम्बु भ्रमणका लागि वर्षेनी आउने करिब ३५ हजार पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक लुक्ला विमानस्थल प्रयोग गरेर आउने गरेका छन् । केही पर्यटक दोलखाको जिरी हुँदै पैदल मार्ग र केही पर्यटक सदरमुकाम सल्लेरीसम्म सडक मार्गबाट आएर त्यहाँबाट पैदल हिँड्ने गरेका छन् । तर पैदल मार्गमा विभिन्न समस्या हुने गरेका कारण धेरैको रोजाइ लुक्ला विमानस्थल नै हुने गरेको छ । बलियो विकल्प नभएका कारण पर्यटक आउने मुख्य मौसममा लुक्ला विमानस्थलले धेरै पटक धोका दिने गरेको छ । यदि लुक्ला विमानस्थलको विकल्प सडक नजिकमा भए पर्यटकलाई सहज हुने व्यवसायी जाङ्बु शेर्पा बताउँछन् । लुक्लाबाट सडक मार्ग भेट्न कम्तीमा तीन दिन हिँड्नुपर्छ । यही समस्या बारम्बार दोहोरिने गरेका कारण सल्लेरीदेखि लुक्लाभन्दा केही तल सुर्केसम्म सडक निर्माण काम शुरु भएको पाँच वर्ष बितिसक्दा पनि एक तिहाइ कामसमेत भएको छैन । रासस