दशैंअघिका लागि विमानको ९० प्रतिशतभन्दा बढी सीट बुकिङ

काठमाडौँ । दशैँलाई मध्यनजर गर्दै निजी वायुसेवा कम्पनीले ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएका छन् । दशैँमा गन्तव्यमा जाने यात्रुलाई लक्षित गरेर वायुसेवा कम्पनीले यतिखेर धमाधम टिकट बुकिङ गरिरहेका हुन् । सडक सवारीसाधन जस्तो अग्रिम बुकिङ भनेर नखुलाउने वायुसेवा कम्पनीले दसैँ आउनु तीन साताअघि नै लगभग सीट बुकिङ सकिएको जनाएका छन् । एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका प्रवक्ता घनश्याम आचार्यका अनुसार दशैँका लागि ९० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको छ । लामो गन्तव्यका बुद्ध, यति, तारा, सौर्य, श्रीलगायत एयरलाइन्सको अधिकांश टिकट सकिएको छ । “दशैँका लागि गाडीजस्तो विमानको अग्रिम बुकिङ हुँदैन, जुनसुकै समयमा टिकट बुकिङ हुनेहुँदा चाडैँ टिकट सकिएको हो । सेवाग्राहीको मागअनुसार वायुसेवा कम्पनीले दशैँमा उडान थप गर्नेछन्”–उनले भने । सामान्य अवस्थामा १०० वटा उडान हुने गर्थे भने दशैँमा १५ देखि २० प्रतिशत उडान थपिने प्रवक्ता आचार्यको भनाइ छ । उहाँले दशैँमा यात्रु चाप बढी हुने भए पनि एकतर्फी मात्रै यात्रु भरिने हुँदा विमान कम्पनीले थोेरै मात्र उडान थप्ने गरेको बताए । विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएका यति एयरलाइन्सको दशैँका लागि ७० प्रतिशतभन्दा बढी सीट बुकिङ भइसकेको जनाएको छ । कम्पनीका व्यवस्थापक भीमराज राईले दशैँका लागि करिब करिब टिकट बुकिङ सकिएको र मागअनुसार उडान थप्ने योजना रहेको बताए। यतिले एक एटीआर र छ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ । बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता थापाका अनुसार कम्पनीको पनि अधिकांश टिकट बुकिङ भइसकेको छ । बुद्धले एटीआर ४२–३२० र एटीआर ७२–५०० सहित नौ वटा विमानले विभिन्न १० गन्तव्यमा उडान भर्दै आएको छ । तुम्लिङटार, जनकपुर, सिमरा, भरतपुरमा शत प्रतिशत र विराटनगरलगायत छोटा गन्तव्यमा ७० प्रतिशतको हाराहारीमा टिकट बुकिङ भएको बुद्ध एयरले जनाएको छ । केही महँगो भए पनि सुलभ र छिटो यातायातका रुपमा रहेको विमान चढेर गन्तव्यमा पुग्ने यात्रुको औधी चाहना हुन्छ, धेरैको त बाध्यता नै पर्छ । तर, दशैँको मुखमा विमानबाटै गन्तव्यमा जानुपर्ने बाध्यतामा रहेका यात्रुले टिकट पाउन सास्ती हुने गरेको छ, यो नयाँ समस्या भने हैन । हरेक वर्ष दशैँका बेला यस्तै समस्या आउने गरेको व्यवसायी तथा सेवाग्राही बताउँछन् । वायु सेवा जस्तै सडक यातायातका साधनको पनि समस्या उही छ । अहिले हेलिकोप्टरसहित २० वटा निजी वायुसेवा कम्पनीले अन्तरिक उडान भर्दै आएका छन् । रासस

चाडपर्व नजिकिदै गर्दा कतार एयरवेजले सेप्टेम्बरदेखि काठमाडौंमा उडान थप गर्दै

कतार । कतार एयरवेजले सेप्टेम्बर १ देखि आफ्नो दोहा–काठमाडौंको उडान संख्या थप गर्ने भएको छ । सेप्टेम्बर तथा ओक्टोबर महिनामा पर्ने चाडपर्वका कारण बढ्ने उडान संख्या मागलाई सम्बोधन गरी यात्रुलाई सहजताको अनुभव दिन यसो गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । थप हुने उडान संख्याका लागि कम्पनीले एयरबस ए३२०को ब्यवस्था गरेकोे छ । सेप्टेम्बर १ देखि दोहाबाट १ः२५मा छुटेर सो विमान काठमाडौंमा ८ः५५मा अवतरण गर्ने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । थप गरिएको उडानले चाडपर्वका लागि नेपाल भ्रमणका लागि निस्कने यात्रुलाई सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य हो । चाडपर्वका लागि नेपाल फर्कन चाहने नेपाली तथा अन्य यात्रु मार्फत बर्षेनी बढ्दो संख्यामा माग हुँदै आइरहेको हुनाले सो सेवा दिन लागेको कम्पनीले जनाएको छ । कतार एयरवेज ग्रुप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकर भन्छन् “मागको समाधान स्वरुप उडान संख्या थप गरी यात्रुलाई सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ । साथै, थप गरिएको उडानले हाम्रा यात्रुलाई नेपाल भ्रमण तथा अनुभवका लागि थप अवसर प्रदान गर्ने हामीले विश्वास लिएका छौँ ।’ सेप्टेम्बर १ देखि थप गरिने उडानका साथमा कतार एयरवेजले दोहा र काठमाडौंको दैनिक चार उडान भर्ने कम्पनीले जानकारी दिएको छ । यसले यात्रुलाई आफ्नो आवश्यकता अनुसार उडान तालिका छनोटको अवसर समेत प्राप्त हुने कम्पनीको विश्वास छ । थप उडान सेवा प्रदान गर्न सञ्चालनमा ल्याइने एयरबस ए३२०मा १२ विजनेश क्लास सिट र १ सय ३२ ओटा ईकोनोमी क्लासका सिटहरु रहेका छन् । कतार एयरवेजले भरखरै श्रीलंका र बांग्लादेशमा रहेको बढ्दो मागको सम्बोधनका लागि कोलम्बो र ढाकाका लागि समेत उडान संख्या थप गरेको थियो । थप गरिएका उडान तालिका ः क्यूआर ६४८ दोहा (डीओएच)बाट काठमाडौं (केटीएम) छुट्ने ०१ः२५ अवतरण ः ०८ः२५ क्यूआर६४९ काठमाडौं (केटीएम)बाट दोहा (डीओएच) छुट्ने ०९ः५५ अवतरण ः १२ः१०

जापानको उरुतोरा रेस्टुरेन्ट अब नेपालको पोखरा र चितवनमा खुल्दै

काठमाडौं । जापानको उरुतोरा रेस्टुरेन्टको शाखा अब नेपालको पोखरा र चितवनमा खुल्ने भएको छ । जापानको विभिन्न शहरमा १२ वटा रेस्टुरेन्ट सञ्चालन गरिरहेको जापानीज चेन रेस्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ । ३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाई एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेस्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए । जापानमा रेस्टुरेन्ट व्यवशाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए । जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिनेयो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् । नेपालमा घुम्न आउने जापानीजहरु, जापानीज स्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेस्टुरेन्टले थोरै भएपनि सहयोग पुग्ने विश्वास प्रबन्ध निर्देशक केन्जी मिजुगुचीको छ । नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेस्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।