सुर्खेत–जुम्ला हवाई सेवा शुरु, भाडा ३९६५ रुपैयाँ
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सिधा हवाई सेवा शुरु भएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर सो सेवाको उद्घाटन गरेका हुन् । उनीसंगै उक्त जहाजबाट बधबार १८ जनाले पनि सुर्खेतबाट जुम्लाको यात्रा गरेका छन् । साहित्य, कला, संस्कृति र भाषालगायत क्षेत्रमा प्रदेशकै लागि अत्यन्त महत्वपूर्ण मानिएको जुम्लाको राजधानी सुर्खेतसँग सहज पहुँच कायम गर्न सिधा हवाई सेवा शुरु गरिएको मन्त्री बुढाले बताए । “यो सेवाको शुभारम्भले नागरिकको सेवा र पहुँच मात्र बढ्ने छैन,” उनले भने, “यसले यहाँका पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने छ ।” सुर्खेत–जुम्ला सिधा हवाई भाडा दर ३ हजार ९६५ कायम गरिएको समिट एयर सुर्खेतका प्रबन्धक चन्द्रङ्ग शाहीले जानकारी दिए । प्रबन्धक शाहीकाअनुसार हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार सुर्खेत–जुम्ला सिधा हवाई सेवाका लागि उडान गरिनेछ । सुर्खेत–जुम्ला सिधा हवाई उडानका लागि भने गो कर्णाली टुर्स एण्ड ट्राभल्स प्रालिसँग सम्झौतमा भएको उनले बताए। जुम्लाको ऐतिहासिक पर्यटकीय सिञ्जा उपत्यका, गुठिचौर र तातोपानी गाविसको हाँकुमा पर्ने गिडी दहको अध्ययन अवलोकन गर्ने बताउँदै मन्त्री बुढाले सिञ्जाको सांस्कृतिक सम्पदा, ओझेलमा परेको गिडी दह र गुठिचौरको पर्यटन प्रवद्र्धन तथा संरक्षणका लागि विनियोजित बजेट र योजनामा सहजता ल्याउनका लागि आफूले त्यसको अवलोकन गरिने जानकारी दिए। मन्त्रालयले गुठिचौरको पर्यटन विकासका लागि १ करोड ५० लाख, सिञ्जा उपत्यकाको विकास गर्न १ करोड तथा गिडी दह पर्यटन सडक निर्माणका निम्ति ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ । रासस –––
निजगढमा विमानस्थल र एयरपोर्ट सिटी बनाउन २२ लाख रूख कटानसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति
काठमाडौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ । आज वन मन्त्रालयमा भएको बृहत् छलफलपछि उनीहरुबीच निजगढ विमानस्थल निर्माणसँगै सो क्षेत्रमा शहर (एयरपोर्ट सिटी) पनि निर्माण गर्दा थप रूख कटान गर्नुपर्ने सम्बन्धमा समेत छलफल भएको थियो । निजगढमा शुरुमा विमानस्थल मात्र निमार्ण गर्ने निर्णय भएको थियो तर पछि पर्यटन मन्त्रालयले विमानस्थलसँगै शहर पनि निर्माण गर्नुपर्ने प्रस्ताव अघि बढाएको छ । छलफलपछि पर्यटनमन्त्री अधिकारीले उक्त प्रस्ताव शीघ्र मन्त्रिपरिषद्मा लैजान वनमन्त्री बस्नेतसँग आग्रह गरेका थियो । मन्त्री बस्नेतले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएको प्रेस संयोजक दयानिधि भट्टले राससलाई जानकारी दिए। निजगढमा विमानस्थल मात्र निर्माण गर्दा सो क्षेत्रको वनका आठ लाख रूख कटान गर्नुपर्ने देखिएको छ । शहरसमेत निर्माण गर्नका लागि २० देखि २२ लाख रूख कटान गर्नुपर्ने वन मन्त्रालयको अनुमान छ । उहाँहरुबीच पर्यापर्यटनलाई प्रवद्र्धन गर्न दुवै मन्त्रालयबीच संयुक्त सर्भे टोली गठन गर्ने सहमति पनि भएको बताइएको छ । रासस
पर्यटककाे तथ्याङ्क राख्न ‘टुरिजम स्याटेलाइट एकाउन्ट’, असाेजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के कति दिन बिताए र कति खर्च गरे भन्नेसम्मको एकीकृत तथ्याङ्क राख्ने तयारी गरिएको छ । आर्थिकरुपमा पर्यटकले पार्ने प्रभावलाई त्यस्तो तथ्याङ्कले योगदान गर्छ । यस्तो प्रणाली विश्व पर्यटन सङ्गठनले सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी, गैर बजेटरी प्रभाव स्याटेलाइट तथ्याङ्कले राख्नेछ । नेपाल भ्रमणमा आउने विदेशी नागरिकको अध्यागमन विभागले राख्ने तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले कुन महिनामा के कति पर्यटक आए भनेर जानकारी दिने गरेको छ । विभागले राखेको तथ्याङ्क सही हो वा होइन भन्नेमा समेत फरक मत रहँदै आएको छ । केहीले विभागले दिने तथ्याङ्क नै आधिकारिक मान्ने गरेका छन् भने पर्यटन क्षेत्रमा कार्यरत संस्थाले स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क विभागले नराख्ने भएकाले फरक पर्ने गरेको बताउँछन् । सरकारले नेपालको पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा गरेको प्रयासका कारण पछिल्लो समयमा पर्यटकको सङ्ख्या बढ्दो छ । बोर्डका अनुसार सन् २०१७ मा नौ लाख ४० हजार २१८ पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१६ मा सात लाख ५३ हजार दुई पर्यटक नेपाल आए । स्थलमार्गबाट आउने भारतीय पर्यटक विभिन्न गन्तव्यमा पुगेर फर्कन्छन् । भारतीय पर्यटकले बढी खर्च गरेको पाइएको छ । अचेल भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । हवाई भन्दा स्थलमार्गबाट आउने पर्यटकको बसाई अवधि बढी हुने गरेको छ । खर्चको अनुपातमा स्थलमार्गबाट आउनेले बढी खर्च गरेको पाइन्छ । उनीहरुको समेत सही र वस्तुनिष्ठ तथ्याङ्क राख्न सकिए सकारात्मक प्रभाव पर्ने देखिन्छ । रसुवागढी नाका भएर भित्रने चिनियाँ पर्यटक देशका विभिन्न स्थानमा पुग्ने गरेका छन् । हवाई मार्गबाट आउने मात्रै पर्यटक हुन् त ? भन्ने प्रश्न पनि अहम् छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी भन्छन्, “जुनसुकै माध्यमबाट आएपनि हाम्रा पाहुना र पर्यटक हुन् । उनीहरुको भरपर्दो तथ्याङ्क हुनु जरुरी छ ।” सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने गरी सो वर्षलाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने भएको छ । कसरी सम्भव छ त्यत्रो सङ्ख्या ? भन्ने प्रश्नमा मन्त्री अधिकारी भन्छन्, “सन् २०२० भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सैँ घण्टा सञ्चालनमा आउने छ । गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चल्नेछ र पर्यटकीय पूर्वाधारमा ठूलो लगानी हुनेछ ।” उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडानसमेत थप गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमतामा ६० प्रतिशतले वृद्धि हुने जानकारी दिए । नेपाल वायुसेवा निगमका वाइड बडी जहाजले मात्रै चार लाख पर्यटक बोक्नेछ । सन् २०२० सम्म यूरोप, दक्षिण पूर्वी एशियालगायतका देशमा निगमको जहाजले उडान भर्नेछ । आन्तरिकरुपमा होटल, रेष्टुराँमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्ने, घरबास पर्यटनलाई बढावा दिने र नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी प्रचारप्रसार गरिनेछ । यातायात सुगम बनाउन विशेष ध्यान दिइने, बन्द हडताल मुक्त गर्ने, दक्ष श्रमिक तथा पर्यटकमैत्री भौतिक पूर्वाधारको विकासमा जोड दिने सरकारको लक्ष्य छ । पर्यटकको सङ्ख्या मात्रै बढाउनेतर्फ ध्यान नदिई गुणस्तरीय पर्यटक भित्र्याउन स्वदेशी विदेशी एजेन्सी तथा संयन्त्र परिचालन गर्ने तयारी सरकारको छ । पर्यटकको बसाई लम्ब्याउने गरी पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा जोड दिइएको छ । मुख्य पर्यटकीय गन्तव्यमा मात्रै नभई देशभर गुणस्तरीय होटल तथा रेष्टुराँको स्थापना, स्थानीय उत्पादनलाई बढावा दिने र गाउँमै रोजगारीको अवसर प्रदान गर्न पनि मन्त्रालय लागेको मन्त्री अधिकारीको भनाइ छ । ‘सबै मौसम पर्यटकीय मौसम’ भन्ने नारालाई सरकारले रणनीतिकरुपमा कार्यान्वयनमा ल्याएको मन्त्री अधिकारीले जानकारी दिए । उनले भने, “नेपाल बाह्रै महिना नै पर्यटकका लागि घुम्न योग्य गन्तव्य हो भन्ने सन्देश विश्वभर नै प्रवाह गर्न कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घ तथा नेपाललाई माया गर्ने विदेशी नागरिकलाई आग्रह गरिएको छ ।” भूकम्पले भत्काएका पुरातात्विक महत्वका क्षेत्र, नयाँ पदयात्रा मार्गको खोजी, हिमाल पहाड र तराई नै पर्यटकीय गन्तव्य हो भन्ने अवधारणालाई कार्यक्रमका रुपमा लागू गरिएको छ । मन्त्री अधिकारीको दाबी छ “सन् २०२० मा २० लाख होइन, त्योभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आउँछन् ।” विगतका वर्षमा कति पर्यटक आए भन्ने तथ्याङ्क मात्रै राखिन्थ्यो । तर अब भने पर्यटन क्षेत्रबाट कूल गार्हस्थ्थ उत्पादनमा के कति योगदान पुग्यो भन्ने विषयलाई प्राथमिकतामा राखिने छ । काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रमा सहज आवागमनका लागि विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने, बत्तीको उचित प्रबन्ध गर्ने र खानपानको सहज व्यवस्था गर्ने योजना बनाइएको छ । छिमेकी मुलुक भारत र चीनबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउने गरी द्विपक्षीय तथा बहुपक्षीय सम्झौता भएको जानकारी दिँदै मन्त्री अधिकारीले अन्य मुलुकसँग उडान थप्न आग्रह गरिएको छ । त्यस्तो प्रक्रिया अन्य मुलुकसँग अगाडि बढाइनेछ । गुणस्तरीय पर्यटनलाई विशेष जोड दिइएको उल्लेख गर्दै उनले तत्काल बढी खर्च गर्ने पर्यटक ल्याउनेभन्दा त्यसमा सुधार गरिने बताए । “सरकारको योजनाअनुसार काम हुनसके देशमा वार्षिक ५० लाख पर्यटक भित्र्याउन कुनै समस्या पर्दैन” मन्त्री अधिकारीले भने, “विदेश गएका धेरै युवालाई आफ्नै घरमा रोजगारी दिएर फर्काउन सकिन्छ ।” हालको तथ्याङ्कलाई विश्लेषण गर्दै आगामी दिनको सम्भावनालाई दृष्टिगत गरेर २० लाखको सीमा तय गरिएको मन्त्री अधिकारीको तर्क छ । “ आगामी दिनमा जहाजबाट आउने पर्यटक १५ लाखको हाराहारीमा हुनेछन्, स्थलमार्गबाट आउने सङ्ख्या छ लाख नाघ्नेछ,” उनले भने । रासस