यती एयरलाइन्सले ल्यायो नयाँ विमान, भद्रपुर र भैरहवामा उडान विस्तार गर्ने

काठमाडौं । यती एयरलाइन्सले आफ्नो सेवा थप विस्तारित गर्ने उद्देश्यका साथ एमएसएन ८७६ सहितको एटीआर विमान थपेको घोषणा गरेको छ । नेपाली दर्ता नम्बर ९एन–एएमएन (म्यानुफ्याक्चरिङ सिरियल नम्बर) रहेको नयाँ विमान एफएए÷ईएएसए चाप प्रमाणित नेपाली आन्तरिक उडान क्षेत्रकै सर्वाधिक नयाँ (कान्छो) विमान भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी गरेको विज्ञप्तीअनुसार ट्विन ईञ्जिन सहितको एटीआर७२–५०० फ्रेञ्च–ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको छ । त्यसैगरी, वैश्विक बजारमा निरन्तर विस्तारित हुँदै विश्वका नयाँ बजारमा समेत प्रवेश पाइरहेको छ । एटीआर७२–५००लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दूई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू१२७ ईञ्जिनले शक्ति प्रदान गर्छ । यी अत्याधुनिक प्रविधि सुसज्जित ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, ईन्धन मितब्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्छ । एयर न्यूजिल्याण्ड, एयर लिंगस, एसएएस, एचओपी! , फ्लाइबी, अजुल, बैंकक् एयरवेज, जेट एयरवेज, मालिन्डो लगायत एटीआर७२–५०० विमानका वैश्विक रुपमा परिचित हवाई सेवा प्रदायकहरु हुन् । नयाँ एटीआर७२–५०० विमानका लागि नोर्डिक एभिएसन क्यापिटल (एनएसी)द्वारा वित्तिय पट्टा प्रदान गरिएको हो । ४७ देशका ७० एयरलाइन उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रिय पट्टादाता हो । एयरोमेक्सिको, एयर क्यानाडा, ब्रिटिस एयरवेज, एलवोटी, एयर बर्लिन, आजुल, गरुडा, फ्लाइबी, एचओपी! लगायत अग्रणी एयरलाइन्स तथा प्रमुख क्षेत्रीय वाहक एयर नोस्ट्रम, जेट टाइम, ईटिहाद रिजनल, बिन्टर, एयर केबीजी लगायत यसका सेवा ग्राहीका रुपमा रहेको छन् । एनएसीको हालका ३ सय ५० भन्दा बढी ओटा स्वामित्व प्राप्त र ३९ ब्यवस्थापन सम्हालिएका विमानमा एटएआर ४२, एटीआर७२, बम्बारडियर ड्याश ८, सीआरजे९००, सीआरजे१०००, सीएस३००, ई१७०, ई१७५, ई१९० र ई१९५ पर्छन् । एटीआर र बमर्बािर्डयर विमानका लागि एनएसी विश्वकै अधिक स्वामित्व प्राप्त तथा पट्टादाताका रुपमा परिचित छ । यती एयरलाइन्सले एटीआर७२–५००को सेवा थालनी विराटनगर र नेपालगञ्ज विमानस्थलबाट गर्ने छ । साथै, एनएसीद्वारा नै वित्तिय सहयोग प्रदान गरिएको दोस्रो एटीआर७२–५००को आगमन संगै कम्पनीले भद्रपुर र भैरहवाबाट समेत एटीआर सेवा सञ्चालनमा ल्याउने जानकारी दिएको छ । सन् १९९८बाट सेवा थालनी गरेको यती एयरलाइन्सले आफ्नो सब्सिडायरी तारा एयरको साथमा नेपालमै सर्वाधिक ठूलो सञ्जाल र अधिक विमान मार्फत सेवा प्रदान गरिरहेको छ ।  

युरोपियन युनियनको कालोसूचिबाट हट्दै नेपाली बायुसेवा कम्पनी

काठमाडौं । युरोपियन युनियनको कालोसूचिबाट नेपाली बायुसेवा कम्पनीहरु हट्ने भएका छन् । अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संस्था (आइकाओ) को टोलीले गरेको सेफ्टी अडिट नेपालका बायु सेवा कम्पनीहरुले आधारभुत स्तर पारे गरेपछि कालोसूचिबाट हटेका हुन् । आइकाओले कालोसूचिबाट हटाएपछि इयुले पनि हटाउने सम्भावना रहन्छ । इयुको कालोसूचीमा एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स थिए। इयुले नेपाल बाहेक अफगानिस्तान, कङ्गो, अंगोला, इन्डोनेसिया, लाइवेरिया, मोजाम्विक, सिरियालियोन, इरान, इराकका बायु सेवा कम्पनीलाई कालोसूचिमा राखेको छ ।

यती एयरलाइन्सबाट यात्रा गरेका यात्रुहरुलाई चन्द्रागिरि केबलकारको टिकटमा विशेष छुट

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड र यती एयरलाइन्स डोमेस्टिक बिच सेवाग्राहीलाई छुट लिने दिने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार यती एयरलाइन्स मार्फत हवाइ यात्रा गरेका यात्रुहरुलाई हवाई यात्राको बोर्डिङ्ग पासका आधारमा चन्द्रागिरि केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, चन्द्रागिरि केबलकारको टिकटका आधारमा यती एयरलाइन्सको टिकटमा ११(एघार) देखि २०(विष) प्रतिशत सम्म छुट पाउने व्यवस्था मिलाइएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रमशाह र यती एयरलाइन्स डोमेस्टिकको तर्फबाट प्रविना के.सी. ले हस्ताक्षर गरेका छन् । यो छुट योजना २०७४ साउन १ गते देखि २०७५ असार मसान्तसम्म लागु हुनेछ । चन्द्रागिरि हिल्स लिमिटेडले ल्याउने सेवाग्राही मुखि प्रर्बद्धनात्मक कार्यक्रम र यती एयरलाइन्सले ल्याउने दशैं तिहारको टिकट शुल्कमा यो योजना लागु हुने छैन । अन्यशर्तहरु सम्झौताबमोजिमलागु हुने छन् । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।