हिल्सा हुँदै मानसरोवर पुगे साढे ६ हजार तीर्थयात्री, ७२ लाख राजस्व संकलन
सिमकोट । हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए । काठमाडौं, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षका यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्या हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेको लामाले बताए । एउटा होटलले १० लाखभन्दा बढी कमाई गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एकदुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ । साढे छ हजार विदेशी पर्यटक हुम्ला भित्रिए चीनसँग नेपालको हुम्ला हिल्सानाका गत वैशाख १८ गते खुलेपछि छ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका जनाइएको छ । जेठदेखि असोजको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने छ करिब छ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनले भने, ‘अन्य देशका ४५० जना र भारतका ५९५७ सहित ६४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठको दोस्रो हप्ताबाट हुम्ला भएर मानसरोवर दर्शका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।’ मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको यो सङ्ख्या यस वर्षको अब अन्तिम हो । मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दूरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्मका दैनिक दिन सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो । चीनले कोरोनापछि हिल्सानाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिएका दीपेन्द्र भण्डारीले बताए । उनले भने, ‘मानसरोवर कैलाशको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमपछिको यो उल्लेखनीय सङ्ख्यामा भित्रिएका हुन् ।’ जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट एक हजार १०० राजस्व सङ्कलन गर्दै आएको छ भने अन्य देशका पर्यटकबाट एक हजार ५०० शुल्क लिने गरेको छ । मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका ५९५७ जनाबाट ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार गरी ७२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ । व्यस्त सिमकोट विमानस्थल सुनसान पर्यटक आउँदाको समय दैनिक बिहानदेखि बेलुका ५ः०० बजेसम्म व्यस्त देखिएको सिमकोट विमानस्थल यतिबेला सुनसान देखिएको छ । जेठ, असार, साउन र भदौमा सिमकोट विमानस्थल निकै व्यस्त देखिनुका साथै नागरिकको समेत बाक्लो चहलपहल देखिए पनि असोजको दोस्रो हप्तादेखि सुनसानजस्तै देखिन थालेको छ । मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिएको हो । रासस
सिटि होटलको हकप्रद सेयरमा लगानी गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ । गत भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०।८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
नेपालञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ
नेपालगञ्ज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए । प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउपर्नेमा आठ जना भारतीय युवकसमेत रहेका छन् ।