एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ एकैदिन छ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिए । शुक्रबार एकैदिन दुई हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गरे । यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन् । यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताए । कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै छ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको सङ्ख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको कोषाध्यक्ष गुरुङले जनाए । हिउँदयाम सुरु भइसकेकाले चिसोसमेत बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको उनले बताए । यहाँ वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने कोषाध्यक्ष गुरुङले सुनाए । तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताए । चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ । विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमण गर्नेको संङ्ख्या बढेको अध्यक्ष लालचनले बताए । सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो । पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ । रासस
अर्थमन्त्री खनालले गरे हायात होटल व्यवस्थापनसँग भेट, सेवा सुचारु गर्न आग्रह
काठमाडौं । हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेश निषेध गरिएको सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार हायात रिजेन्सी व्यवस्थापनसँग कुराकानी गरी विषयमा जानकारी लिएका छन् । वार्ताको क्रममा अर्थमन्त्री खनालले सरकार होटलको सुरक्षाको पूर्ण प्रत्याभूति दिन तयार रहेको बताउँदै सेवा अबिलम्ब सुचारु गर्न आग्रह गरेका हुन् । उनले भने, 'तपाईंहरू आत्तिनु पर्दैन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौं। सुरक्षाको व्यवस्था हामी मिलाउँछौं । कत्ति पनि विचलित नभई आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।' अर्थमन्त्री खनालका अनुसार सरकारले आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक पहल गर्ने तयारी गरेको छ ।
बलबहादुरले सुरु गरे प्यारामिड होटल, सिलाङ र स्विजरल्याण्डका घरको डिजाइन
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भारतीय सेनाबाट सेवा निवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । ३ जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् । पोखराको राम बजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा फर्किएका छन् । तिलिजाले पोखराको घर आफन्तको जिम्मा लगाएर श्रीमती ज्यानमाया, जेठा छेरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि जन्मथलो फर्किएका हुन् । ‘छोरा, छोरी, बुहारी सबै विदेशमा भएका स्वाँतमै बस्ने एक जना आफन्तले वृद्ध अवस्थामा स्याहार, सुसारको अभावमा दुःख पाएको देखेर पैसाले मात्र केही हुने रहेनछ भन्ने सोच पलायो,’ बलबहादुरले भने, ‘बजारमा एउटै घरको ओल्लोपल्लो कोठामा बस्नेको चिनजान र वास्ता हुँदैन । गाउँमा स्वच्छ हावापानी, खानपान मात्र छैन सहयोगी भावना पनि जिवितै छ । छोरा बुहारीलाई विदेश जान रोकेर गाउँ ल्याएर होटल व्यवसायमा लगाएको छु ।’ बलबहादुरले स्वाँतमा प्यारामिड होटल सुरु गरेका छन् । उनले होटल सञ्चालन गर्नुको प्रमुख उद्देश्य छोराबुहारीलाई गाउँमै भुलाउनु हो । दुई रोपनी पाखो सम्याएर होटलका संरचना तयार पार्न १ करोड ८० लाख रुपैयाँ खर्चेको बलबहादुरले बताए । ‘छोराबुहारीलाई गाउँमा ल्याएर त्यतिकै राख्न भएन । होटलले उनीहरूलाई यहाँ बस्ने आधार र बाध्यता दुवै भयो,’ उनले भने । गत हप्तादेखि सञ्चालन भएको प्यारामिड होटलको संरचना म्याग्दीका अन्य होटलहरूको भन्दा भिन्न छ । पाहुना सुत्ने प्यारामिड शैलीका १३ वटा भवन छन् । एट्याच बाथरुम भएको एक तले भवनका दुई वटा बाहेक कोठामा दुई वटा बेड छन् । चिसो हुने र हिउँदमा पर्ने हिउँ जस्तापाताको छानोमा नथुप्रियोस् भनेर प्यारामिड शैलीको भवन बनाएको सञ्चालक तिलिजाको भनाई छ । होटलको डिजाइन भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको जस्तो छ । चुच्चो चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ । तिलिजा परिवारका चार जना बाहेक थप एक जनालाई होटलमा रोजगारी दिएका छन् । पाहुनाको स्वागत सत्कार, सरसफाई, व्यवस्थापन देखि भान्छाकोठाको काममा परिवारकै सदस्य खटिन्छन् । सिस्नोको मुना, रातो च्याउ, दौडे, लोकल कुखुरा र खसीबोकाको मासु, कोदो, मकैको ढिडो होटलका परिकार हुन् । अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी-घोडेपानी अन्तर्गत शिख देखि एक घण्टाको पैदलयात्रामा पुगिने स्वाँतको पृष्ठभूमिमा धौलागिरि हिमाल देखिन्छ । स्वाँतदेखि २० मिनेट पैदलयात्रा गरेपछि पुगिने छहरे झरना मनमोहक र आकर्षक छ । खोपारा, घोडेपानी, शिख, मोहरेडाडा, घान्द्रुक र बयलीको बाटो भएर समुन्द्रि सतह देखि दुई हजार तीन सय मिटर उचाइमा रहेको स्वाँतमा पुगिन्छ । होटलमा इन्टरनेट र चिसो याममा तातोपानीले स्नान गर्ने सुविधा छ । स्वाँतका करिब आधा घरपरिवारको बसोबास पोखरा, काठमाडौ, चितवन, बुटवल र बेलायतमा छ । ७० घर भए पनि हाल करिब २५ देखि ३० परिवार मात्र गाउँमा नियमित बस्ने गरेको स्वाँतको शिखर आधारभूत विद्यालयका प्रअ रामचन्द्र पाइजा पुनले बताए । स्थानीयबासी मनबहादुर पुनका अनुसार कच्चि सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट, मोवाइल सुविधा पुगेको छ । व्यवसायिक आलु खेती गर्न सकिने प्रशस्त उर्वर जमिन छ । रायो सागको विउ उत्पादनको स्रोत केन्द्र पनि हो स्वाँत । ‘रित्तिँदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हो । अरूलाई गाउँ फर्कने सन्देश दिनु पनि मेरो उद्देश्य हो,’ बलबहादुरले भने ।