मौसम खुलेसँगै मनाङमा साढे ७ हजार पर्यटक भित्रिए​​​​​​​

काठमाडौं । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा साढे ७ हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ । डेढ महिनामा ७ हजार ४६१ पर्यटकको आगमन भएको एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए ।  उनका अनुसार याम सुरु भएपछि इजरायलका १ हजार १२७, जर्मनीका ५०१, बेलायतका ४६६ र अष्ट्रेलियाका ४४१ जनाले मनाङ अन्तर्गत अन्नपूर्ण पदमार्ग, थोराङ्ला भञ्ज्याङ (पास), लार्के भञ्ज्याङ (पास), तिलिचो तालको भ्रमण गरेका छन् ।  ‘ती देशसँगै विश्वका ८७ देशका नागरिकले मनाङका रमणीय स्थानको भ्रमण गरेका छन् । निराश भएका मनाङवासीका साथै देशकै अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको छ,’ संरक्षण शिक्षा सहायक गुरुङले भने ।  जेनजी आन्दोलन र मनसुनको अन्त्यमा बाढीपहिराका कारण पर्यटकको आगमनमा समस्या भएकामा अहिले चहलपहल हुन थालेको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताए ।  उनले भने, ‘मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्ने गर्छ । जेनजी आन्दोलनले विदेशी पर्यटकले बुकिङ गरेका होटल पनि फिर्ता लिइरहेका थिए । अहिले देशमा शान्ति कायम हुँदै गएपछि आगमन बढ्दै गएको छ ।’ जेनजी आन्दोलनपछि सुनसान बनेको मनाङमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढेको छ । मनसुन सकिएपछि पर्यटकको आगमन बढ्नुपर्ने यहाँ मनसुन अन्त्यमा सक्रिय भएर ठूलो धनजनको क्षति हुँदा पर्यटन व्यवासय पनि सुस्ताएकामा अहिले पर्यटन व्यवसायमा अपेक्षाकृत बन्ने व्यवसायीको भनाइ छ ।  बुकिङ रद्द गरिएका होटल अहिले भरिन थालेका होटल व्यवसायी नवीन विक्रम सिंहले बताए ।  उनले भने, ‘जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति भएको छैन । तर अहिले केही मात्रामा विदेशी पर्यटकको आगमन चाहिँ भएको छ ।’ विशेषगरी देशकै ठूलो मानिएको हिल्टन होटल जलाइएपछि पर्यटक बढी त्रसित भएको हुनसक्ने पर्यटन तथा होटल व्यवसायीको अनुमान रहको उनको भनाइ छ ।  यस समयमा मनाङका सडक तथा पदमार्गमा पर्यटक प्रशस्त देखिन्थे । तर यस वर्ष त्यति छैनन् । पूर्ण रूपमा पर्यटकको आगमन पनि हुनसकेको छैन । देशको अर्थतन्त्रलाई प्रभाव पार्ने मनाङको पदमार्गको यात्रा तथा सडक सहज बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । अहिले नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । यसले पनि स्वदेशी पर्यटन प्रवर्द्धन भइरहेको छ ।  विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका पाइन्छन् । प्रविधिको युगमा वास्तविक प्राकृतिक मानवीय जीवनको महसुस गर्न आउने गरेका छन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला जोडिएका छन् । काठमाडौंदेखि बेँसी सहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारीसाधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्र मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।

डिशहोम र ‘डल्ले’ बीच साझेदारी, उपत्यकाका सबै आउटलेटमा ग्राहकलाई छुट

काठमाडौं । डिशहोमले रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ । यस सहकार्य अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा छुट पाउनेछन् । यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने बताइएको छ । कम्पनीकाअनुसार, भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एपबाट डाउनलोड गर्न सकिनेछ । यसपछि दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस् । होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस र डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् । यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डाइरेक्टर आलोक योन्जोन, डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।

अन्नपूर्ण आधार शिविर पदमार्गमा सञ्चार सुविधाको अभाव, पर्यटकलाई सास्ती

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् । असोजको सुरुआतदेखि दैनिक १५० देखि ३०० जनासम्म पर्यटक आधार शिविर क्षेत्रको भ्रमणमा पुगेका छन् । सञ्चारको पहुँच नहुँदा पदमार्ग र आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेका होटलसँग सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले पर्यटकको बसोबासमा समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता समेत रहेका पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार, यस पदमार्गको हुमखोलासम्म विद्युत् र मोबाइल फोनको पहुँच पुगेको छ । 'हुमखोलादेखि आधार शिविरसम्मको क्षेत्रमा मोबाइल फोनको सञ्चार र विद्युत् पहुँच पुग्न सकेको छैन, साँधीखर्कको गुराँसेडाँडामा नेपाल टेलिकमको मोबाइल फोनको सामान्य पहुँच छ, आधार शिविर पुगेर फर्कने करिब दुईदिनको यात्राअवधिमा सञ्चार सम्पर्कविच्छेद हुने भएकाले पर्यटकको सुविधा र सुरक्षाका लागि सञ्चारको पहुँच अनिवार्य बनेको छ', पर्यटन व्यवसायी गुरुङले भने । विसं २०६८ देखि स्थानीयवासीको अग्रसरतामा नारच्याङगाउँदेखि अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदमार्ग निर्माण सुरु भएको थियो । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको र हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरी ठाउँ–ठाउँमा होटल सञ्चालनमा आएपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आधार शिविरको मनोरम पञ्चकुण्ड तालसँगै झरना, खोला र रमणीय भू–वनोटका कारण पर्यटकको आगमन बढेको छ । होटलको क्षमताभन्दा बढी पर्यटक आउँदा होटल व्यवसायीलाई पर्यटकको खाना र बसोबासको प्रबन्ध मिलाउन हम्मेहम्मे हुने गरेको छ । अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहे पनि विद्युत् र सञ्चारको पहुँच, खानेपानीको सुविधा विस्तार तथा सडकमार्गको स्तरोन्नति तत्काल गर्नेपर्ने देखिएको विराटनगरबाट समूहमा भ्रमणमा आउनुभएका मोहन अटलले गुनासो गरे । पदमार्ग क्षेत्रमा रहेका होटलमा बुकिङ गर्न मोबाइल फोन र इन्टरनेटको पहुँच पु¥याउनतर्फ सरकार तथा सरोकारवालाको ध्यान जानुपर्ने उनले बताए । यस पदमार्गअन्तर्गत हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा टेन्टमा बस्ने सुविधासहितका होटल सञ्चालनमा रहेका छन् । सञ्चारसँगै विद्युत् सुविधा नहुँदा खाना पकाउने ग्याँस र बत्तीको लागि जेनेरेटरको व्यवस्था गर्दा खर्चिलो तथा झण्झट व्यहोर्नुपरेको होटल व्यवसायी बताउँछन् । कम्तीमा दुईदिनको पदयात्रा अवधिमा पर्यटक सञ्चार सम्पर्कबाट विच्छेद हुँदा बिरामी भएको र हिमपातको कारण अलपत्र परेको समयमा उद्धारमासमेत समस्या हुँदै आएको छ । हिमाल आरोहणमा आउने टोलीले स्याटेलाइट प्रविधिको फोनको प्रयोग गर्ने गरे पनि अन्य पर्यटकमाझ सञ्चार सम्पर्कको माध्यम र पहुँच छैन । हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय रहेका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले दुई दिनको पदयात्रा अवधिमा सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा सकस हुने गरेको बताए । 'पर्यटक घुम्न आएको समयमा बेमौसममा हिमपात हुनसक्छ, हिमपहिरो नै जान पनि सक्छ, आपत्कालीन रुपमा कसरी उद्धार माग्ने सञ्चारको कुनै पहुँच छैन, पर्यटकको हराएको समयमा धेरै पटक खोजीकार्यमा सञ्चार नहुँदा कठिन हुने गरको छ, पदमार्गमा रहेका होटलमा कम्तीमा स्याटेलाइट वा वाकिटकी फोन राख्न आवश्यक छ', उनले भने । नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । पर्वतारोहणको क्षेत्रमा इतिहास बोकेको यस पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको छ । विगतका वर्षमा खाना र बस्नका लागि आफैँ बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै हटे पनि सञ्चार र विद्युत्को पहुँच विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको छ । रासस