बन्दीपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै, जारी पुँजीको १८.७० प्रतिशत अर्थात् ५२ करोड ९४ लाख रुपैयाँको ५२ करोड ९४ हजार कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता सेयर छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २० गते र वैदेशीक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
धरहराबाट करिब ५ करोड राजस्व संकलन, दैनिक हजारभन्दा बढीले धरहरा चढ्ने
काठमाडौं । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ । गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् । हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन् । 'बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन', व्यवस्थापन एकाइ प्रमुख राईले भने, 'बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ ।' धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो । यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ । रासस
'जिओ फ्लाईट' सञ्चालनमा : मोबाइलबाटै सहज र सस्तोमा हवाई टिकट पाईने
काठमाडौं । उपभोक्तालाई सस्तो, सहज र डिजिटल माध्यमबाट हवाई टिकट र भ्रमण प्याकेज उपलब्ध गराउने लक्ष्यसहित 'जिओ फ्लाईट' नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा आएको छ । जोय ग्रुपले प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यले यो प्लेटफर्म सार्वजनिक गरेको हो । एन्ड्रोइड र आइओएस दुवै संस्करणमा उपलब्ध रहेको 'जिओ फ्लाईट' मोबाइल एप तथा वेबसाइटमार्फत देशभित्र र बाहिरका हवाई टिकट सहजै खरिद गर्न सकिने सुविधा रहेको छ । साथै, प्रयोगकर्ताले धार्मिक, पारिवारिक, व्यवसायिक तथा व्यक्तिगत भ्रमण प्याकेज पनि एप वा वेबसाइटमार्फतै छनोट र खरिद गर्न सक्नेछन् । जिओ फ्लाईटका प्रबन्ध निर्देशक रमेश पौडेलका अनुसार यो एपले अन्य प्लेटफर्मभन्दा फरक र प्रयोगमैत्री अनुभव दिनेछ । 'अहिलेसम्म अधिकांश प्लेटफर्मबाट हवाई टिकट मात्र खरिद गर्न सकिन्थ्यो । तर, हाम्रो एपबाट सम्पूर्ण जानकारी प्राप्त गर्दै, सस्तो मूल्यमा टिकट तथा प्याकेजहरू उपलब्ध हुन्छन्,' पौडेलले भने । उनका अनुसार एपमार्फत उपलब्ध सेवाले प्रयोगकर्ता र सेवा प्रदायकबीचको दूरी कम गर्नेछ, र सम्पर्कमा आउने झन्झट हटाउनेछ । जिओ फ्लाईटमार्फत नयाँ व्यवसाय सुरू गर्ने, पर्यटन व्यवस्थापनसम्बन्धी जानकारी लिने र परामर्श प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ । यसले नेपालको पर्यटन क्षेत्रलाई प्रविधिसँग जोड्दै, थप उचाइमा पुर्याउन सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।