६ प्रतिशतले हवाई यात्रु बढे, दैनिक ३ सय विमान उड्छन्
१७ पुस । मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन विमानस्थलमा अहिले साना ठूला गरी दैनिक तीन सयभन्दा बढी विमान आवतजावत गर्ने गरेको जनाएको छ । स्थापनाको १६ औं वार्षिकोत्सव मनाउने क्रममा क्यानले आफ्नो सेवालाई सुरक्षित, स्तरीय तथा प्रभावकारी तुल्याउन समय सापेक्ष प्रविधिको विकास, पूर्वाधार निर्माण तथा दक्ष जनशक्तिको साथमा सेवालाई विस्तार गर्दै लगेको बताएको छ । ६५ वर्ष घि सन् १९४३ मा स्थापना भएको नेपालको हवाई उडान क्षेत्रले अहिले विश्वव्यापी पहुँच र विस्तारसँगै ठूलो फड्को मारेको छ । सन् १९६६ ताका पहिलो पटक जेट एयरबाट अन्तर्राष्ट्रिय उडान भित्र्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् १९६८ देखि थाई एयरको नियमित उडान सुरु भएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को तथ्याङंअनुसार सन् २०१३ मा विश्वव्यापी यात्रु आवागमन ५ दशमलव ५ प्रतिशतले वृद्धि भई ५ दशमलव ८ प्रतिशत यात्रु संख्या पुगेको थियो भने सन् २०१४ मा हवाई यात्रु आवागमन विश्वव्यापी रूपमा ६ दशमलव शून्य प्रतिशत र एसिया–प्रशान्त क्षेत्रमा सात दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । आगामी सन् २०१५ मा विश्वव्यापी यात्रु आवागमन दर ६ दशमलव तीन प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । क्यानका महानिर्देशक रतीशचन्द्रलाल सुमनका अनुसार नेपालमा समग्र हवाई यात्रु आवागमनको स्थिति सन् २०१२ को तुलनामा सन् २०१३ मा अन्तर्राष्ट्रिय हवाई सेवातर्फ हवाई यात्रु आवागमन सात दशमलव ३६ प्रतिशतले, वायुयान आवागमन एक दशमलव २८ प्रतिशतले बढेको छ । क्यानको प्रगति विवरणअनुसार सन् २०१३ को पहिलो १० महिनाको तुलनामा सन् २०१४ को पहिलो दस महिनामा हवाई यात्रुतर्फ १२.७३ प्रतिशतले, वायुयान आवागमनतर्फ १६.०४ प्रतिशतले र कार्गो ढुवानीतर्फ १९.३५ प्रतिशतले वृद्धि भएको छ । सन् २०१४ को पहिलो १० महिना अर्थात अक्टोवर सम्म त्रि.अ.विमा करिब २८ लाख ८५ हजार अन्तर्राष्ट्रिय उडानबाट हवाई यात्रु आवागमन भएको देखिन्छ । आन्तरिक हवाई यातायाततर्फ यस वर्षको पहिलो १० महिनामा सन् २०१३ को सोही अवधिको तुलनामा हवाई यात्रु आवागमनतर्फ पाँच दशमलव ७२ प्रतिशत, वायुयान आवागमन सुन्य दशमलव ३४ प्रतिशतले ह्रास आएको क्यानले जनाएको छ । यात्रु संख्याको दृष्टिकोणले सन् २०१४ को पहिलो १० महिना अर्थात अक्टोवरसम्म त्रि.अ.वि. मा करिब ११ लाख ९४ हजार अन्तरिक उडानबाट हवाई यात्रु आवागमन भएको देखिन्छ । त्रि.अ.वि. को सन् २०१३ को तथ्यांकअनुसार अन्तर्राष्ट्रिय हवाई ट्राफिकमा नेपाली वायुसेवाको योगदान वायुयान आवगमनतर्फ छ दशमलव ५८ प्रतिशत, यात्रुतर्पm छ दशमलव ८६ प्रतिशत र कार्गो ढुवानीतर्फ पाँच दशमलव ४९ प्रतिशत रहेको छ । नेपालले द्धिपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकहरूको संख्या ३६ पुगेको छ । अहिले त्रि.अ.वि. बाट दुई वटा स्वदेशी तथा २३ वटा विदेशी वायुसेवाहरू गरी कुल २५ वटा अन्तर्राष्ट्रिय वायुसेवाहरूले १३ मुलुकका २२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । क्यानबाट हालसम्म ५९ वटा वायुसेवा कम्पनीहरूलाई वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र प्रदान गरिएकोमा ४२ वटा रद्ध भएको र जम्मा १७ वटा मात्र सञ्चालनमा रहेका छन् ।
पर्यटन केन्द्र ओझेलमा, ‘रक क्लाइम्बिङ’ को छैन प्रचार
१४ पुस । लमजुङको पर्यटकीय गाउँ पुरानोकोट गाविसका बासिन्दा गाउँलाई साहसिक पर्यटनको केन्द्र बनाउन लागिपरे पनि पर्यटक तान्न भने सकेका छैनन् । ऐतिहासिक पुरातात्विक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण पुरानोकोटमा विदेशी पर्यटकलाई समेत लोभ्याउन साहसिक पर्यटनको विकास गर्न गाउँलेहरू कस्सिए पनि उचित प्रचारप्रसार तथा स्थानको प्रवद्र्धन हुन नसक्दा पर्यटकहरूको आकर्षण हुन नसकेको हो । पुरानकोटामा डोरीको सहायताले पहरामा चढ्ने र झर्ने अर्थात रक क्लाइम्बिङका लागि उपयुक्त स्थान छनोट गरी आवश्यक जनशक्तिसमेत उत्पादन गरिएको छ । अमेरिकी नागरिक टाइलटले रक क्लाइम्बिङका लागि आवश्यक डोरी, जुत्तालगायतका सामग्री पनि उपलब्ध गराएका थिए । डेढ सय मिटर अग्लो पहरोलाई रक क्लाइम्बिङका लागि तयार पारीएको छ । गाउँका धेरै युवाहरूले यससम्बन्धी प्रशिक्षण लिए पनि ३ जना युवाहरू दक्ष भएर निस्केका छन् । तर यससम्बन्धी प्रशिक्षण लिएर दक्ष बनिसक्दा पनि यसको प्रमाण पत्र दिने निकाय नेपालमा नभएकाले समस्या परेको बताइएको छ । रक क्लाइमिङबाट साहसिक पर्यटकहरू आउने अपेक्षा गरिए पनि त्यसअनुरुप पर्यटक भित्राउन नसकिएको पुरानोकोट ग्रामीण पर्यटन विकास बोर्डका अध्यक्ष ऋषिकान्त खनालले बताए । लमजुङ जिल्लाको पर्यटन गुरुयोजनामा पुरानकोटको रक क्लाइमिङ र ताघ्रिङ स्याँगेको क्यानोनिङलाई साहसिक पर्यटनभित्र राखे पनि उचित प्रचार प्रसार हुन सकेको छैन् । जसका कारण पुरानकोटको रक क्लाइमिङ र ताघ्रिङको क्यानोनिङ साहसिक खेल पर्यटनको राम्रो सम्भावना बोक्दा बोक्दै पनि पर्यटक आकर्षित गर्न सकेको छैन । साहसिक खेल पर्यटनका लागि जिल्लाले विभिन्न समयमा कार्यक्रम नै आयोजना गरेर स्थानको परिचय तथा प्रर्वद्धन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन । बेसीशहरबाट निकै नजिकै रहेको र पर्यटकीय सम्भावना राम्रो भएको पुरानोकोटलाई विकास गर्न पुरानकोटबासीले राजनीतिक दल तथा सम्बन्धित निकायसँग पनि आग्रह गरेका छन् । तर पर्यटन विकासका लागि जिल्लाले पर्याप्त मात्रामा रकम विनियोजन गर्न सकेको छैन । पर्यटन क्षेत्रका लागि विनियोजन गरिएको रकम महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरेर सक्ने प्रचलन रहेको पर्यटनकर्मीहरूले बताएका छन् । पुरानकोटमा च्वाइस नेपालको सहयोगमा एक अमेरिकी नागरिक झिकाइ गाउँका केही युवाहरुलाई ‘रक क्लाइम्बिङ’ को प्रशिक्षण दिइएको थियो । पुरानोकोटको तारे भित्ता भन्ने भीरलाई ‘रक क्लाइम्बिङ’ को लागि छनोट गरिएको छ । सोही भीरमा अमेरिकी नागरिक टाइलटले ६ महिनासम्म स्थानीय युवाहरुलाई प्रशिक्षण दिएका थिए । पुरानकोटको तारेभिरको उचित प्रचार प्रसार तथा प्रर्वद्धन गर्न सके सहासिक खेलका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु भित्राउन सकिने गाउँलेहरूको धारणा छ । बेसीसहरमा बसेर पर्यटनको गफ चुट्ने होटल ब्यबसायीहरूले पनि पुरानकोटको रक क्लाइमिङको प्याकेज बनाएर गाउँमा पर्यटक पठाउन नसकेको गाउँलेहरूले गुनासो गरेका छन् ।
दरबार मार्गको नाङलो रेष्टुरेन्ट बन्द
६ पुस । दरबार मार्गको नाङलो रेष्टुरेन्ट बन्द भएको छ । नाङ्लो प्रा.लि ले आईतबार सूचना प्रकाशित गरी पुस ६ गतेदेखि नै रेष्टुरेन्ट बन्द गरेको जनाएको छ । ‘दुभाग्यभस प्रतिकूल बातावरणका कारण आजैको मितिदेखि हामीले हाम्रो सेवाबाट अवकाश लिएको घोषणा गर्दछौं’ कम्पनीले जनाएको छ । के कति कारणले व्यवसाय गर्न प्रतिकूल बातावरण भयो भन्नेबारे सूचना उल्लेख गरिएको छैन । केहि समय पहिले नाङलोका प्रबन्ध निर्देशक गोपालसुन्दर कक्षपतिले विदेशमा समेत शाखा विस्तार गर्ने तयारी गरिरहेको बताएका थिए । सन १९७६ मा एक लाख रुपैंयाँको लगानीबाट सुरु गरिएको नाङलो र यसका सिस्टर कम्पनी द वेकरी क्याफेका देशभर १८ शाखा विस्तार भैसकेका छन् भने करोडौंको लगानी रहेको छ । नाङलोमा हाल करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने झण्डै ५० जना अपाङगहरुले समेत काम गरिरहेका छन् । नाङलोले सार्वजनिक गरेको सुचना अनुसार केहि समय भित्रै उपभोक्ताहरुको चाहनालाई ख्याल गर्दै पुनः सञ्चालनमा आउने समेत उल्लेख छ । कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, जग्गाको मालिक, व्यवसायका पार्टनर, बैकर्स, आपूर्तिकर्ता सबैलाई धन्यवाद दिएको छ ।नेपालमा रेष्टुरेन्ट व्यवसायलाई प्रवेश गराउनेदेखि लामो समय यो क्षेत्रको रोलमोडल रेष्टुरेन्ट रुपमा चल्दै आएको थियो ।