पोखरा अन्तरराष्ट्रिय विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित
गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्यत् सबस्टेशनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्विस लेन र फुटफाथ निर्माण हुन नसकेको हो । सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत्का पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि कुनै सुनुवाइ नभएको बताए । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ । उक्त स्थानमा विद्युतीय तार भूमिगत गर्न संरचना बनाएबापतको भुक्तानी विमानस्थल कार्यालयबाट नहुँदासम्म विद्युत् पोल हटाउन नसकिने जानकारी प्राधिकरणले दिएको इन्जिनियर कुँवरले बताए । नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले विमानस्थल क्षेत्रमा तार भूमिगत गर्न संरचना तयार भइसकेपनि विमानस्थलले भुक्तानी नदिएसम्म सेवा सञ्चालन गर्न नसकिने उल्लेख गरे । विमानस्थलले रु एक करोड ६३ लाख प्राधिरणलाई तिनुपर्ने उनको भनाइ छ । 'विमानस्थलको डेडिकेटेड लाइनलाई भूमिगत संरचनामा लैजाँदाको खर्च प्राधिकरणलाई भुक्तानी भएपछि मात्र भूमिगत सेवा सुरु हुन्छ', उनले भने, 'भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् पोल हट्छन्, सडक आयोजनाले आफैँ पनि हटाउन सक्छ ।' भूमिगत लाइन सुरु नभएका कारण विमानस्थलमा अहिले पुरानै संरचनाको विद्यत् सेवा सञ्चालनमा छ । प्राधिकरणका इन्जिनियर सुवेदीले विमानस्थल व्यवस्थापनबाट रकम जम्मा गरिदिने आश्वासनमात्र आउने गरेको बताए । 'यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसँग शनिबार पोखरामा छलफल भएको छ, मन्त्रालय तहबाट यसको समाधान हुनेमा हामी आशावादी छौँ', उनले भने । निर्माणको भुक्तानी नआएसम्म भूमिगत विद्युतीय लाइन सञ्चालनमा ल्याउँदा पछि कानुनी समस्या पर्न सक्ने भन्दै प्राधिरणले पहिले विमानस्थलले रकम तिनुपर्ने अडान राख्दै आएको छ । कुँडहरचोकबाट विमानस्थल प्रवेशमार्गसम्मको झन्डै एक किमी दूरीमा तार भूमिगत गर्नका लागि प्राधिकरणले संरचना निर्माण गरिसकेको छ । सडक आयोजनाका इन्जिनियर कुँवरले विद्युत् पोलसँगै मापदण्डविपरीतका संरचना शीघ्र हटाउन, खानेपानी पाइप, कटान गरिएका रुखलगायतलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेका गरिएको बताए । सडक आयोजनाको पश्चिम खण्ड (पोखरा-जामुने)को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उनको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई आगामी असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७७ दशमलव ४७ र वित्तिय प्रगति ६२ दशमलव २० प्रतिशत पुगेको छ । कुल ३८ दशमलव ७१ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव २८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६ दशमलव ३२ किमीको सर्विस लेनमा हालसम्म १७ दशमलव ६६ किमी कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए । विसं २०७८ माघमा ठेक्का भई विसं २०८० वैशाखदेखि निर्माण सुरु भएको विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखराका मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्न लागिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्वारबाट पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकबाट सभागृह, पृथ्वीचोक, जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ । रासस
श्री एयरलाइन्सको आम्दानी ५.१० अर्ब रुपैयाँ, २ सयमा आईपीओ बिक्री गरेर बैंकको ऋण तिर्ने
काठमाडौं । श्री एयरलाइन्सले ६ महिनामा साढे २ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो । गत आव २०८१/८२ को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब १० करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेका छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी २५.४६ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले ४ अर्ब ७ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले आव २०७९/८० मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र आव २०७७/७८ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानी दुई प्रमुख रुटमा मात्रै केन्द्रित छ । काठमाडौं-नेपालगञ्ज र काठमाडौं-धनगढी रुटबाट मात्रै करिब ५१ प्रतिशत आम्दानी हुने गरेको कम्पनीले जनाएको छ । यो आम्दानीको हिस्सा अघिल्लो वर्ष ५९ प्रतिशत थियो । साथै चालु आवको ६ महिनामा घटेर ४८ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले नयाँ टर्बोप्रप विमान थपेपछि काठमाडौं-सुर्खेतबाट हुने आम्दानी बढेको जनाएको छ । गत वर्ष सो रुटबाट ९ प्रतिशत आम्दानी भएको कम्पनीले जनाएको छ । साथै कम्पनीको कुल आम्दानीमध्ये करिब ९२ प्रतिशत विमानबाट र ८ प्रतिशत मात्र हेलिकप्टरबाट आउने गरेको छ । श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १९ प्रतिशत (सन् २०२५ जुलाईसम्म) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको जनाएको छ । कम्पनीका अनुसार कुल सञ्चालन खर्चमा इन्धन खर्चको हिस्सा ठ्याक्कै आधा रहेको छ । गत वर्ष इन्धन खर्च मात्रै करिब ५० प्रतिशत भएको थियो । यसले भाडा वृद्धि गर्न बाध्य पार्न सक्ने र यात्रु संख्या घट्न सक्ने चुनौती कम्पनीले जनाएको छ । साथै मध्यपूर्वमा जारी द्वन्द्वका कारण एभिएसन टर्बाइन फ्युलको मूल्य एक्कासी दोब्बर बढ्दा कम्पनीको लागतमा दबाब परेको कम्पनीले जनाएको छ । यस्तै, तीव्र प्रतिस्पर्धाका कारण एयरलाइन्सहरूले सहजै मूल्य वृद्धि गर्न नसक्ने भएकाले नाफामा प्रत्यक्ष असर पर्ने कम्पनीले जनाएको छ । एयर अनन्याको नाममा सन् १९९९ मा स्थापित कम्पनीले पछि नम परिवर्तन गर्दै श्री एयरलाइन्स बनेको हो । साढे दुई दशकदेखि नेपाली हवाई क्षेत्रमा सञ्चालनमा रहेको यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् । मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ । आन्तरिक पर्यटन उद्योगमा नियमित उडान सेवा प्रदान गर्दै आएको श्रीएयरलाइन्सले हेलिकप्टर चार्टर सेवा समेत उपलब्ध गराउँछ । एयरलाइन्ससँग हाल ९ वटा बम्बार्डियर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये २ जेट र ७ टर्बोप्रप हुन् । कम्पनीका अनुसार २ वटा लिजमा सञ्चालन भइरहेका छन् । त्यसैगरी हेलिकप्टरतर्फ ६ वटा एमआई-८ र २ वटा एयरबस हेलिकप्टर रहेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीसँग १८ वटा विमान थिए । तर, इन्धन बढी खपत गर्ने सीआरजे विमान बिक्री गरेपछि हाल १७ वटामा सीमित रहेको कम्पनीले जनाएको छ । श्रीएयरलायन्स संयुक्त राष्ट्रसंघ र वर्ल्ड फूड प्रोग्रामद्वारा मान्यता प्राप्त सेवा प्रदायक सूचीमा समावेश हुने पहिलो नेपाली एयरलाइन्स समेत हो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ६८ करोड २३ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीको कुल ऋण ५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ थियो । कम्पनीका अनुसार कुल ऋण तिर्न लाग्ने समय १२ वर्षबाट घटेर ५ वर्षमा झरेको छ । प्रवर्द्धकबाट थप पुँजी लगानी, नियमित ऋण भुक्तानी तथा नाफा वृद्धिले वित्तीय आधार थप बलियो बन्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने निर्णय गरिसकेको छ । आईपीओ पश्चात् कम्पनीले ऋण अझ घट्ने अपेक्षा गरेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १ सय रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २ सय रुपैयाँका दरले ६३ लाख कित्ता सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेपश्चात् कम्पनीले कुल १ अर्ब २६ करोड रुपैयाँ बराबरको पुँजी सर्वसाधारण लगानीकर्ताबाट संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
ग्रामीण पर्यटनको नयाँ मोडेल : बन्दीपुर–केशवटार ‘होमस्टे सर्किट’ अगाडि बढ्यो
दमौली । यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ‘मोडेल’का रूपमा अगाडि सारिएको छ । सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । कुनै समय व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुर सदरमुकाम दमौली सरेपछि ओझेलमा परेको थियो । हिजोआज सोही सहर पुनः खुला र जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रूपमा स्थापित हुँदै गएको छ । ‘पहाडकी रानी’ उपनामले समेत यो सहरले छुट्टै पहिचान बनाइसकेको छ । अब होमस्टेमार्फत यहाँको पर्यटन प्रवर्द्धनका लागि थप काम गर्न खोजिएको अध्यक्ष थापाले बताए । “बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतापछि गाउँपालिकाले सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । सोहीबमोजिम विविध प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्दै नयाँ गन्तव्यको विकास गर्ने क्रममा ‘सर्किट’ को अवधारणाअनुसार महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ”, उनले भने । करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस ‘सर्किट’मा १४ वटा ‘होमस्टे’ र २० भन्दा बढी गाउँ समेटिनेछन् । गुरुङ, मगर, नेवारसँगै क्षेत्री, ब्राह्मण र दलित समुदायबाट सञ्चालित होमस्टेहरूले फरक–फरक सांस्कृतिक अनुभव प्रदान गर्नेछन् । गाउँपालिकाका अधिकांश वडाका साथै व्यास नगरपालिकाको वडा नं १४ यसमा समेटिएको छ । थापाका अनुसार यस सर्किटले होमस्टे सशक्तीकरणसँगै पर्यटनमार्फत ग्रामीण समुदायको आम्दानी वृद्धिमा टेवा पुग्नेछ । यसको विकासका लागि तीन चरणमा कार्यक्रम अघि बढाइएको जनाइएको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले संयुक्त रूपमा क्षेत्रको अध्ययन, अवलोकन तथा प्रत्येक ‘होमस्टे’ गाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेका छन् । यस्तै, नेपाल पर्यटन बोर्ड पोखरासँगको सहकार्यमा आगामी वैशाख १८ र १९ गते आयोजना हुने गण्डकी प्रदेशस्तरीय ‘गाउँ पर्यटन मार्ट २०८३’ मार्फत ‘सर्किट’को राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गरिनेछ । ग्रामीण पर्यटनलाई थप सहज बनाउन गाउँपालिकाले सफारी जीप सेवासमेत सञ्चालनमा ल्याइसकेको छ, जसले गाउँ–गाउँमा पर्यटकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको गाउँपालिका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले बताए । यो ‘सर्किट’ नेपालकै पहिलो नमुना परियोजनाका रूपमा विकास गर्न खोजिएको र यसले विश्वसामु नेपाली ग्रामीण पर्यटनको नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको पर्यटनविज्ञ हरिसिंह गुरुङले बताए । स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई जोगाउँदै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको महसुस गरी योजना अगाडि बढाउन लागिएको र यसले दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे । यसमा बन्दीपुर–२ को मोहोरिया, रामकोट, व्यास–१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर–६ धरमपानी, व्यास–१२ कमलाबारी, बन्दीपुर–५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन् । रासस