कृषि र पर्यटन जोड्ने ‘सुन्तला–हाइकिङ’ कार्यक्रम काभ्रेपलाञ्चोकमा सुरु हुँदै

काभ्रेपलाञ्चोक । यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) काभ्रेपलाञ्चोक च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसमा जिल्लास्थित नेपाल युवा उद्यमी मञ्च र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गर्ने जनाइएको छ । यस्तै कार्यक्रम १५ वर्षअघि पनि सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम केही वर्षपछि सुस्ताएको थियो । हानका जिल्लाध्यक्ष प्रह्लाद प्याकुरेलले उक्त कार्यक्रमलाई पुनः सञ्चालन गर्न लागिएको बताए । उनले जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ डेढ दशकपछि ‘सुन्तला–हाइकिङ’ कार्यक्रम पुनः सञ्चालनमा ल्याइने बताए । डेढ दशकअघि सन् २०१० को नोभेम्बरमा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) ले नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध–बल्थली ‘सुन्तला–हाइकिङ’ कार्यक्रम आयोजना गरेको थियो । यसपटक पाँच वर्षपछि भएको हान काभ्रेपलाञ्चोक च्याप्टरको अधिवेशनसँगै कार्यक्रम ब्युँत्याइएको जनाइएको छ । जिल्लामा सुन्तलाखेतीको प्रचुर सम्भावना रहेकाले यसै सिजनमा नयाँ स्वरुपमा कार्यक्रम ब्युँत्याइने धुलिखेलस्थित होटल सारथीका प्रबन्ध निर्देशकसमेत रहेका प्याकुरेलले बताए । क्रिसमसको दिन पारेर बिहीबार औपचारिक रूपमा कार्यक्रम सञ्चालनमा ल्याइने उनले जानकारी दिए । कार्यक्रमअन्तर्गत पदयात्रा मुख्यतया जिल्लाको पर्यटकीय क्षेत्र नमोबुद्धबाट बल्थलीसम्म ‘रुट’ तय गरिएको छ । पदयात्रीले पहेँलपुर सुन्तला बगैँचाको दृश्यावलोकन गर्दै यात्रा गर्न पाउनेछन् । साथै स्थानीय बगैँचाका बोटबाटै ताजा सुन्तलासमेत खान पाउनेछन् । यात्रामा नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सुन्दरताको अनुभव लिँदै बल्थलीस्थित लड्केश्वर महादेवस्थान परिसरको विश्वकै अग्लो त्रिशूललगायतका धार्मिक तथा पर्यटकीय विकासबारे अवलोकन गर्न सकिने जनाइएको छ । क्रिसमसको बिदाको दिन भएकाले पैदल यात्रामा पर्यटन व्यवसायी, उद्योगी, जनप्रतनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटर, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, ट्राभल एजेन्सीलगायत कृषिसम्बद्ध पदाधिकारी गरी १०० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । यसपटकको प्रवर्द्धनात्मक ‘सुन्तला हाइकिङ’ को अनुभवले आगामी वर्षदेखि सुन्तलाको सिजन (नोभेम्बर र डिसेम्बर) मा एक महिनाकै ट्राभल प्याकेज बनाउने लक्ष्य लिएको हानले जनाएको छ । यसमा होटल–रिसोर्टका ट्यारिफमा विशेष छुट्का साथै अन्य आकर्षण थप्ने योजना बनाएको छ । आगामी वर्षदेखि सुन्तला सिजनमा कम्तीमा एक हजार जना पर्यटक काभ्रेपलाञ्चोक आउने र ‘सुन्तला हाइकिङ’ मा रमाउने गरी व्यवस्थापन गर्ने तयारी हुने हानले जनाएको छ । यसबाट स्थानीय होटल, रिसोर्ट, होमस्टे र कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । करिब डेढ सयमध्ये हाल जिल्लामा ३२ वटा स्तरीय होटल तथा रिर्सोट हानमा आबद्ध छन् । यसैबीच जिल्ला कृषि विकास कार्यालयले यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० देखि १५ प्रतिशतसम्म बढ्नसक्ने प्रक्षेपण गरेको छ । गतवर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो । हाल सुन्तला पकेट क्षेत्रमा उत्पादनको लगत लिने काम भइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक लगतका हिसाबले गत वर्षकाभन्दा १० देखि १५ प्रतिशतसम्म सुन्तला उत्पादन बढ्नसक्ने प्रक्षेपण गरिएको हो । कार्यालयका अनुसार जिल्लामा विसं २०८१ मा सात हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन हुने प्रक्षेपण गरिए पनि बाढीपहिरोका कारण बगैँचामा क्षति पुर्याउँदा ५०० मेट्रिकटन गिरावट भएको थियो । जिल्लाको कुल क्षेत्रफलमध्ये करिब एक हजार ३०० हेक्टर अर्थात् करिब ३० हजार रोपनी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष भने करिब आठ हजार मेट्रिकटन सुन्तला उत्पादन हुने जनाइएको हो । रासस

पूर्वाधार र प्रचार अभावले सिजनमा सीमित नेपालको पर्यटन

काठमाडौं । नेपालमा पर्यटनको सम्भावना वर्षभरि भएपनि व्यवहारमा भने सिजनमै सीमित हुँदै आएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मनसुन र हिउँदको समयमा पर्यटन आगमन घट्ने गरेको छ । उक्त समयमा होटल र ट्राभल व्यवसाय पनि सुस्त हुने गरेको छ ।  बोर्डको तथ्यांकअनुसार नेपालमा वार्षिक १० देखि १२ लाखको हाराहारीमा विदेशी पर्यटक एयरलान्समार्फत नेपाल आउने गरेका छन् । नेपालमा पर्यटनको पहिलो पिक सिजन अक्टोबर–नोभेम्बर र दोस्रो पिक सिजन मार्च–अप्रिललाई लिने गरेको छ । यो सिजनमा नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिन्छन् । मनसुन सिजन र हिउँद सिजनमा पर्यटनको आगमन घट्ने गरेको छ, जसलाई ‘लो सिजन’ भन्ने गरिन्छ । बोर्डको तथ्यांकअनुसार २०२५ को ११ महिनामा १० लाख ६० हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये सबैभन्दा धेरै अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटक नेपाल घुम्न आएका छन् । सबैभन्दा कम पर्यटक जुलाईमा ७० हजार ७११ भित्रिएका छन् ।  पर्यटनसँग सम्बद्ध सरोकारवालाहरूले नेपालमा बाह्रै महिना पर्यटन सिजन नहुनुका कारण प्राकृतिक, संरचनात्मक, नीतिगतलगायत कारण बताउँछन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले १२ महिना पर्यटक भित्र्याउन नसक्नुको प्रमुख चुनौती खराब मनसुन र पूर्वाधारको अभाव औंल्याए । पूर्वाधारमा सुधार भएको अवस्थामा नेपालमा बाह्रै महिना पर्यटक भित्र्याउन समस्या नभएको उनले बताए ।  उनले भने, ‘पर्यटकीय हिसाबले सबै क्षेत्रमा सबै थोक छ, तर सबै ठाउँमा पूर्वाधारको सुविधा छैन, उदाहरणको लागि विन्टर सिजनमा बेस क्याम्प जाँदा होटलहरूमा हिटर सिस्टम मात्रै भयो भने पर्यटक आगमन घट्दैन ।’ थपलियाका अनुसार बखायाममा नेपालको मौसम एकदमै खराब हुने भएकाले त्यो समयमा पर्यटकलाई प्रमोट गर्न गार्‍हो हुने र पर्यटक आगमन घट्ने गर्छ ।  ‘मनसुनमा हामी नेपालीहरू नै हिँड्न डराउनुपर्ने स्थिति छ, यो बेला कहाँ पहिरो खस्छ, कहाँ बाढी जान्छ थाहा नै हुँदैन । बर्खा याम अलि जोखिमपूर्ण नै भएकोले हामीलाई प्रमोट गर्न अलि गाह्रै छ,’ उनले भने ।  सिजनको समयमा मौसम पनि राम्रो हुने र विदेशी पर्यटकलाई पनि त्यो समय मन पर्ने हुँदा स्वभाविक रूपमा पर्यटनको संख्या बढ्ने गरेको उनको भनाइ छ । यद्यपि ‘लो सिजन’ मा पर्यटकलाई आकर्षण गर्न सक्ने खालको विभिन्न कार्यक्रम गर्न सके पर्यटक भित्र्याउन सम्भावना भएको थपलियाले बताए । उनका अनुसार लो सिजनमा ४० हजारको हाराहारीमा भारतीय पर्यटकहरू नेपाल हुँदै कैलाश मानसरोवरको यात्रा गर्छन् ।  त्यो संख्या बढाउन सकेको खण्डमा पनि लो सिजमा पर्यटन व्यवसायीलाई अप्ठ्यारो नहुने उनले बताए ।  थपलिया भन्छन्, ‘४० हजार पर्यटक अहिले पनि कैलाश मानसरोवर जानको लागि आउँछन् । उनीहरू नेपालमा कम्तीमा चार रात बस्छन्, त्यो समयमा राम्रै खर्च गर्न सक्ने क्षमताको पर्यटक हुन्छन् ।’ पूर्वाधारमा सुधार र मनसुनमा हुने प्राकृतिक विपत्तिको समयमा सरकारले पर्याप्त तयारी गरेको खण्डमा नेपालमा बा¥है महिना पर्यटन सिजन हुने थपलियाले बताए ।  होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुके पनि नेपालको कमजोर पूर्वाधारकै कारण पर्यटकको संख्या चाहेर पनि बढाउन नसकेको तर्क गर्छन् । पर्यटनसम्बन्धी प्रचार–प्रसार सरकारी निकायबाट जुन तहमा हुनुपर्ने त्यो नहुँदा पनि नेपालमा पर्यटनको सिजन बाह्रै महिना हुन नसकेको उनी बताउँछन् ।  ‘निजी क्षेत्र, चर्चित ब्लगरहरूले युट्युब, टिकटकजस्ता सामाजिक सञ्जालबाट नेपालबारे प्रचार प्रचार गरिरहेका हुन्छन्, तर सरकारी निकायबाट न्यून हुने गरेको छ,’ उनले भने, ‘जति हामीले प्रचारप्रचार गर्न सक्यौं त्यति नै पर्यटक भित्रिने सम्भावना बढ्दै जान्छ । पर्यटनसँग सम्बन्धित टुरिस्ट प्रहरी, स्वंयसेवकलगायतलाई अधिकतम खटाउने, तालिमहरू दिएर संवेदनशील बनाउनु आवश्यक रहेको पनि उनले औंल्याए ।  ‘नेपाल आउने पर्यटकहरलाई कस्तो व्यवहार गर्ने, कसरी स्वस्थ वातावरण बनाउने भनेर पर्यटक प्रहरीलगायत पर्यटनसँग सम्बवद्धलाई तालिम दिएर संवेदनशील बनाउनुपर्छ,’ उनले भने । अध्यक्ष चुके गर्मी महिनामा आउने पर्यटक चिसो ठाउँमा जान सक्ने र जाडोमा आउने पर्यटकलाई पनि घुम्नको लागि पर्याप्त ठाउँहरू भएको बताउँछन् । उनले सरकारी निकायलाई मात्रै दोष नदिएर सरकार, गैरसरकारी संघसंस्था र होटल व्यवसायीहरू सबै लागि प¥यो भने जुनसुकै समयमा पर्यटन आउने वातावरण बनाउन सकिने दावी गरे । मनसुनको सिजनमा पर्यटकलाई नयाँ अनुभव दिन सक्ने चुके बताउँछन् । उनले पछिल्लो समय मौसविद्हरूले गर्ने मौसम पूर्वानुमान मिलिरहने भएकोले त्यसलाई आधार मानेर यात्रा गर्न सक्ने भएकाले पर्यटकलाई पनि त्यही किसिमले सूचनाहरू प्रचारप्रसार गर्नुपर्ने औंल्याए ।  ‘मौसमसम्बन्धी सही जानकारी दिएको खण्डमा पर्यटकहरूले त्यसलाई हेरेर मनसुनमा पनि आफ्नो कार्यक्रमको सेड्युल बनाउँछन्,’ उनले भने ।   १२ महिना नै पर्यटन गन्तव्य बनाउने बोर्डको रणनीति  नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले सिजनबाहेकको बाँकी महिनामा पनि पर्यटन गतिविधि विस्तार गर्ने तीव्र रूपमा अघि बढाएको बताए ।  उनका अनुसार नेपाललाई ‘अफ सिजन’ नभएर ‘अल सिजन’   गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको छ ।  ‘हामीले अब अफ–सिजन भन्ने शब्द नै प्रयोग गर्न छोडेका छौं, अहिले ‘लो सिजन’ भन्छौं । शब्दबाटै करेक्सन गर्दै आएका छौं,’ उनी भन्छन्, ‘पहिले–पहिले अफ–सिजनमा होटल बन्द हुन्थे, स्टाफहरू छुट्टीमा हुन्थे। अहिले त्यो अवस्था छैन । व्यवसाय बन्द गरेर बस्नु पर्ने अवस्था छैन ।’ जाडो मौसमा पनि पर्यटन गतिविधि बढाउन विन्टर स्पोर्ट्स र विन्टर ट्रेकिङलाई अघि बढाउँदै आएको उनको भनाइ छ । ‘युरोपमा घाम नलाग्ने, अत्यधिक चिसो हुने बेला नेपालका घाम लाग्ने मिडहिल र हिमाल नजिकका क्षेत्रहरू आकर्षक हुन्छन् । त्यसैले यो समयमा पनि नेपालमा पर्यटक आउन सक्ने अवस्था छ,’ लामिछाने भन्छन् ।  घान्द्रुक, घोरेपानी, इलामजस्ता स्थानहरू जाडोयाममा पनि घाम लाग्ने र चिसो कम महसुस हुने भएकाले उपयुक्त गन्तव्य बन्न सक्ने उनी बताउँछन् । उनका अनुसार बोर्डले पछिल्लो दुई–चार वर्षदेखि व्यवसाय नै बन्द गर्नुको सट्टामा विभिन्न प्याकेजहरू बनाएर बेच्न व्यवसायीहरूलाई प्रोत्साहन गर्दै आएको छ । मनसुनलाई पनि अवसरका रूपमा प्रयोग गर्न सकिने लामिछानेको तर्क छ । ‘मिडहिलमा मनसुन टुरिजम, रेन टुरिजम गर्न सकिन्छ, मध्यपूर्वका धेरै पर्यटकले जीवनमा पानी परेको देखेकै हुँदैनन्, बर्खामा भिज्नु, छाँगाछहरा हेर्नु, हुस्सुमा हिँड्नु उनीहरूका लागि ‘लाइफ–टाइम एक्सपेरियन्स’ हो,’ उनी भन्छन् ।  धान रोपाइँ, खेतबारीका गतिविधि, हरियाली र वर्षायामको प्राकृतिक सौन्दर्यलाई पनि पर्यटन उत्पादनका रूपमा प्रवद्र्धन गर्नतर्फ बोर्ड सकारात्मक रहेको उनले बताए । लामिछानेले बोर्डले पर्यटक ल्याउने, प्रडक्ट बेच्नेभन्दा पनि पर्यटक आउने माहोल बनाइदिने रहेको उनको भनाई छ । उनका अनुसार बोर्डले व्यवसायीलाई एजुगेट गर्ने, पर्यटकको आकर्षण के मा छ, के गर्दा उपयुक्त हुन्छ भनेर त्यसअनुसार गरिरहेको छ ।  यही अवधारणालाई आत्मसात् गरेको उनी बताउँछन् । ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’ भन्ने भिजन राखिएको छ । ‘सुरक्षित, भरपर्दो र दिगो गन्तव्य बनाउँदै जीवनपर्यन्त अनुभूति दिने पर्यटन विकास गर्नु नै हाम्रो लक्ष्य हो,’ उनको भनाइ छ।

पर्यटनले रोजगारी र स्थानीय अर्थतन्त्र चलायमान बनाइरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित 'लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन' विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन तथा स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताए । साथै, उनले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताए । 'पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ,' उनले भने । पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको र यसले महिलाहरूलाई आत्मनिर्भर बन्न सघाएको चर्चा गर्दै अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले महिलाहरूको उद्यमशीलता विकास तथा नेतृत्व विकासमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिए । महासंघको नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न विधान संशोधन गरी महिला सहभागिता अभिवृद्धिका लागि पहल गरिएको समेत उनले जानकारी दिए । अध्यक्ष ढकालले नेपालमा थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्दै नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । साथै, उनले नेपालमै आन्तरिक पुँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील कार्य गर्न सकिन्छ भन्ने सोचका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिए । उनले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्थापन दुवैका लागि कम्पनीले सहयोग गर्ने बताए । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।