अन्नपूर्ण आरोहण दिवसमा तीन पर्वतारोही सम्मानित
काठमाडौं । ७६औं अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा तीन जना विशिष्ट पर्वतारोही सम्मानित भएका छन् । नेपाली पर्वतारोहण, साहसिक पर्यटन र हिमाली समुदायको योगदानको कदर गर्दै गोरखाकी पूर्णिमा श्रेष्ठ, लमजुङका नरेन्द्र शाही र मन राज गुरुङलाई सम्मान गरिएको हो । गण्डकी प्रदेश सरकारकी यशोदा रिमालले सम्मानपत्र प्रदान गर्दै हिमाल, पर्यटन र राष्ट्रको गौरव बढाउन तीनै जनाले पु¥याएको योगदान प्रेरणादायी रहेको बताइन् । कार्यक्रम ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी को आयोजनामा तथा नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण आयोजना, गण्डकी प्रदेश सरकार र दोर्दी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो । सम्मानित व्यक्तिमध्ये पूर्णिमा श्रेष्ठ नेपाली पर्वतारोहण क्षेत्रमा पछिल्लो समय सर्वाधिक चर्चित महिला आरोही हुन् । फोटो पत्रकारिताबाट करियर सुरु गरेकी उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेपछि लगातार विश्वका अग्ला हिमालहरूमा सफलता हासिल गरिन् । सन् २०२४ मा उनले केवल १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै विश्वकै पहिलो महिला बन्ने कीर्तिमान कायम गरिन् । उक्त उपलब्धि गिनिज वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ । पूर्णिमाले अन्नपूर्ण, धौलागिरि, मनास्लु, कञ्चनजङ्घा, मकालु, ल्होत्से र केटु लगायतका आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छन् । लमजुङको राइनास नगरपालिका निवासी नरेन्द्र शाही नेपाली पर्वतारोहण क्षेत्रका अनुभवी माउन्टेन गाइड तथा उद्धारकर्ता हुन् । सन् २००५ मा पर्वतारोहण यात्रा सुरु गरेका उनले हालसम्म पाँच पटक सगरमाथा सफल आरोहण गरिसकेका छन् । नेपालका हिमाल मात्र होइन, युरोपका विभिन्न देशका कठिन शिखरहरूमा समेत सफल आरोहण गरेका शाही पर्वतारोहण प्रशिक्षण, उद्धार तथा नयाँ पुस्ताका आरोही उत्पादनमा सक्रिय छन् । उनी नेपाल राष्ट्रिय माउन्टेन गाइड एशोसिएसनका पूर्व प्राविधिक निर्देशक तथा गण्डकी अल्पाइन क्लबका संस्थापक अध्यक्षसमेत हुन् । मनराज गुरुङलाई नेपाली पर्वतारोहण क्षेत्रमा ‘बौद्धिक आरोही’का रूपमा चिनिन्छ । लमजुङको प्यारजुङमा जन्मिएका उनले गत मे १५ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए । अन्तर्राष्ट्रिय माउन्टेन गाइडसमेत रहेका गुरुङले हिमलुङ, आमादब्लम, मेरा पिक र अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोसहित दर्जनौं हिमाल आरोहण गरिसकेका छन् । पर्वतारोहणसँगै शैक्षिक क्षेत्रमा समेत अब्बल रहेका उनले साहसिक पर्यटन, हिमाल र पर्वतारोहणसम्बन्धी विषयलाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । अन्नपूर्ण आरोहण दिवसको अवसरमा दोर्दी क्षेत्रमा नयाँ पदमार्गको प्रवद्र्धन, ग्रामीण पर्यटन विकास तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणबारे समेत छलफल गरिएको थियो । आयोजकका अनुसार कार्यक्रमले लमजुङको दोर्दी क्षेत्रलाई नयाँ साहसिक पर्यटन गन्तव्यका रूपमा परिचित गराउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । ७६ वर्षअघि भएको अन्नपूर्ण हिमालको पहिलो सफल आरोहणको सम्झनामा हरेक वर्ष मनाइने अन्नपूर्ण आरोहण दिवसले यसपटक पनि नेपाली पर्वतारोहण इतिहास, साहस र पर्यटन प्रवद्र्धनलाई एकै मञ्चमा जोडेको छ ।
पहिलो मानव पाइला परेको अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा
काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ । ८ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । यस अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविरतर्फ दौड प्रतियोगिता र नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरिएको छ । पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म पाँच सय ३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको वसन्तयाममा चारवटा समूहका २७ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताए । आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए । २० जना सहभागी खुला दौड प्रतियोगितामा विजेतालाई १ लाख रुपैयाँ, उपविजेतालाई ६० हजार रुपैयाँ, तेस्रोलाई ३५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने तीन-तीन जनालाई १०-१० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगितापश्चात नारच्याङमा सोमबारदेखि सुरु भएको दिवसको समापन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।
पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न फ्लाइ दुबई इच्छुक
काठमाडौं । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उड्डयनको क्षेत्रमा २० वर्षभन्दा बढी लामो अनुभव भएका लुकाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत उडान भर्न इच्छुक रहेको बताएको महानगर प्रमुख आचार्यले जानकारी दिए । उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गरेका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताए । विमानस्थलहरूको अन्तर्राष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिहरूको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएको समेत बताए । सो क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण रहने भएकाले सो का लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गरे । नेपाल सरकारसँग आफूले पटकपटक संवाद गरेको र विशेष समयमा अन्तर्राष्ट्रिय चार्टर उडानहरू सञ्चालन भइरहेकाले विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न सक्षम रहेको उनले उल्लेख गरे । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ भन्ने कुरा विभिन्न समयमा भएका चार्टर उडानबाट प्रमाणित भइसकेको छ । पोखरा पर्यटनको राजधानी सहर भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नका लागि समेत अन्तर्राष्ट्रिय उडानहरू आवश्यक छ । त्यसतर्फ हामीले जोड दिएका छौँ । आजको भेटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बढाएको छ,’ प्रमुख आचार्यले भने । भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी थिए । मित्रराष्ट्र चीनको सहयोगमा २२ अर्ब रुपैयाँ बढी लगानीमा निर्माण भएर वि.सं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदै आएको छ ।