नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैन : सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल भएको हो । समितिको छलफलका क्रममा उनले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको बताए । सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थ्ल थप्ने कुरा ल्याउनु उचित नरहेको बताए । अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाइ विस्तार गर्न जरुरी रहेको बताए । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्ने जानकारी दिए ।  उनले भने, ‘हाम्रो नेपालको हवाई सेवाको इतिहास हेर्दा १९४९ मा पहिलो पटक हवाई सेवा शुरु गरेका थियौँ । त्यस यता अहिलेसम्म १०८ वटा दुर्घटना भएका छन् । यसबाट ९५९ जना मान्छेको ज्यान गएको छ । यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् । यि ऐनहरु किन बनाइरहेका छौँ भन्दा यि दुर्घटनाहरुलाई कसरी मिनिमाइज गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या होलान् ।’ सचिव भट्टराईकाअनुसार १९४९ मा पहिलो पटक नेपालमा हवाई सेवा शुरु भएको थियो । त्यसपछि हालसम्म् १०८ वटा दुर्घटना भएका छन् । जसबाट ९५९ जनाको ज्यान गएको छ । अब दुर्घटना हुन नदिने गरी ऐन बनाउनुपर्छ ।  

वातावरणमैत्री बगैँचा रिसोर्ट जसले एकल महिला र राउटे समुदायलाई सक्षम बनाउँदै

काठमाडौं । पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे रहेका छन् ।  पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ ।  अझ भनौ पोखरा पुग्ने हरकोही एकपटक लेकसाइड पुग्ने र फेवातालमा डुंगा सयर गर्छन् ।  अब भने लेकसाइडमै पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले फरक अनुभूती गर्न पाउँने छन् । जोकोहीलाई तालले मात्र आकर्षण गर्दैन । सहर भित्र बनेका भौतिक संरचनालेसमेत लोभ्याउने गर्छ ।  वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम् उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएको छ ।   साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सुचारु हुनेछ । पोखराको प्रकृति, वरिपरि रहेको डाँडाकाँडा तथा हरियालीको आभास रिसोर्टले समेत दिने भएको छ । बगैँचा रिसोर्ट वातावरणमैत्रीको आभास दिलाउने र प्लाष्टिकरहित तथा प्रदुषणमुक्त वातावरण बनाइ जैविकमैत्री अभियानसहित सञ्चालन हुँदैछ ।  एकल महिलाद्वारा निर्मित सामग्री, स्थानीय क्षेत्रमा पाइने काठ, ढुंगा र हस्तकलामा आधारित सामग्रीले बनाइएका बगैँचाले मानिसलाई पुन: प्रकृतिसम्म पुर्याउने ग्रुपका सञ्चालक सौगात थापा बताउँछन् । ‘सहर भित्र पनि मानिसलाई प्रकृतिसँग नजिक राख्न सकिने उद्देश्य र वातावरणलाई जीवित तुल्याउन पनि बगैँचाले ठूलो योगदान पुर्याउने छ,' उनले भने,’ बाहिरको कोलाहलबाट मुक्ति दिलाउन सक्नु र शान्त वातावरण तथा वातावरणको दीर्घकालीन विकासलाई लामो समयसम्म राख्नु बगैँचाको उद्देश्य हो ।'  नेपाली माटो सुहाउँदो नाम हुँदा बगैँचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । बगैँचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए । मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले खुलाए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए ।  बगैँचा रिसोर्टको कोठमा न्यानो काठका टोन, बाहिरबाट पातलो प्रकाश र हस्तकलाबाट बनेका फर्निचरका सामग्री राखिएको छ । कोठाको सजावटलाई बढी आकर्षक बनाएको छ । बगैँचाले प्राकृतिक अनुकुलतालाई पहिलो प्राथमिकतामा राखेको छ । प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ । ‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्त्व हो भनेर सन्देश दिएका छौ,’ उनी भन्छन्,’ यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पुर्‍याउँनेछौ ।‘  महिला सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेर लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् । लैङ्गिक समानता तथा आर्थिक सबलीकरणलाई बढी ध्यान दिएको उनले प्रस्ट पारे । महिलाहरूले निर्माण गरेका सामग्रीहरू राखिएको छ । महिलाद्वारा निर्मित सामग्रीहरू विभिन्न जिल्लाबाट मगाएर रिसोर्टमा राखिएको छ । एकल महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उहाँहरूको सामग्री रिसोर्टमा प्रयोग गरिएको उनले बताए ।' हातले बनाएका सामग्री राखेका छौ, थापाले सुनाए, 'नेपालमा स्थानीय वस्तुहरू प्रयोगमा ल्याएका छौ । लोपोन्मुख राउटे समुदायले प्रयोग गर्ने भाडाकुँडा छन् ।' पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वभर देखा पर्दै गएको छ । यसको असर नेपाल लगायत पोखरामा पनि देखा पर्न थालिसकेको छ । समयमा पानी नपर्ने तथा पानीको अभाव हुने जस्ता संकेत देखा पर्न थालिसकेका छन् । प्रकृतिको केही भर हुन्न भने जस्तै बगैँचाले अहिलेदेखि वर्षाको पानी संकलन गर्न थालिसकेको थापाले जानकारी दिए ।  उनी प्राकृतिक रूपमा सिर्जित पानीको प्रयोगलाई पहिलो प्राथमिकतामा राखिएको बताउँछन् । रिसोर्टलाई प्रदूषणमुक्त बनाउन इलेक्ट्रिक सवारीसाधन प्रयोग गरिएको छ । निर्देशक थापाले यातायातको रूपमा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाइएको बताए ।  स्थानीय जैविक विविधतालाई संरक्षण गरेर वरिपरिको वातावरणलाई जगेर्ना गर्नु यस रिसोर्टको मुख्य उद्देश्य रहेको उनले बताए ।  थापाले रिसोर्टकै नाम अनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले अगाडि थपे,’ नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार ९ साउन्ड हेलिङ् र सिङ्गिङ बाउल थेरापी० बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाईन बगैंचाका विशेषता रहेका छन् ।‘  यहाँको अर्को विशेषता भनेको स्थानीय जडीबुटीबाट तयार पारिएको विशेष चिया उपलब्ध गराइने उनले जानकारी दिए । अन्त कतै उपलब्ध नहुने यस बगैंचामा रिसोर्टमा मात्र चिया उपलब्ध हुन थापाले उल्लेख गरे । पोखरालाई तालै तालको सहर भनेर पनि चिनिन्छ ।  तर पर्यटन क्षेत्रमा बगैँचाले पोखराको परिचय बदल्ने उनको विश्वास छ । तालहरूमा शान्त बोटिङ र बगैंचामा रुखका छहारी तथा यसका हाँगाले पाहुनालाई आनन्द र शितलता प्रदान गर्ने धारणा थापाले सुनाए । बगैंचाको शान्त वातावरणले पाहुनालाई पुनः पोखराका लागि निम्ता दिइरहने उनको विश्वास छ ।  रिसोर्टको बनोट र संरचना फरक किसिमले बनाइएकाले पनि अझ बढी आकर्षण बढ्ने थापा बताउँछन् । बगैँचा पारिवारिकमैत्री रहेको उनले जानकारी दिए । 'यहाँ परिवारसहित मजाले घुमेर आनन्द लिन सक्न गरे हामीले यहाँ भित्र संरचना तयार गरेका छौ,’ उनले सुनाए,’ यहाँको विशेष सेवा परिवारमैत्री रहेको छ । जसले गर्दा पाहुनालाई आफ्नो घरमा बसेर आनन्द लिइरहेको जस्तो होस ।' बगैँचामा दुई रेष्टुरेण्ट रहेको छ । मरिच इन्डो–चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उद्यमी रेष्टुरेण्ट जसले परिष्कृत प्यान–एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए ।  बगैँचामा 'टारो' पूलसाइड बार रहेकाले बगैँचाको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । यहाँ पाइने खानाका परिकारका सामग्रीहरू बगैंचाको आफ्नै अर्गानिक फार्मबाट ल्याइने निर्देशक थापाले जानकारी दिए । मौसम अनुसारका उपलब्ध हुने तरकारी अन्य खाद्य सामग्री पाइने उनले प्रस्ट पारे । ‘रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरि अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ,’ उनले उत्साहित हुँदै भने,’ ३२ वटा कोठामै निजी बाल्कोनी रहेकाले रिसोर्टबाट हरियाली वातावरण दृश्यको अवलोकन गर्न सकिन्छ ।‘   रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा र ७० करोड लागतमा सम्पन्न भएको छ । ‘यो एउटा उद्यम नभइ मुलुकका लागि बगैंचा दर्शन रहेको छ । जहाँ मानिसलाई शान्त बनाएर योग मार्फत स्वस्थ्य तथा मजबुत बनाउने नयाँ योजनासहित आएका छौ,' उनी दार्शनिक सुनिए,’ साँचो लक्जरी भनेको विचारशीलता हो, विचारले पनि मानिसलाई स्वस्थ्य बनाउन सकिन्छ भन्ने हाम्रो उद्देश्य हो । जहाँ विश्राम, पुनर्जागरण र सम्बन्धको समिश्रण हुन्छ । बगैंचा अभिव्यक्ति, भावनात्मक र अनुभवको स्वतन्त्रता पनि हो । यसलाई नेपालभित्रको भविष्यसूचकको संकेतका रूपमा लिन सकिन्छ ।‘ त्यसैगरी, ३१ एभिन्यु बाराही चोकमा ३१ पार्क पनि केही महिनापश्चात सञ्चालनमा आउने अंशुवाराका निर्देशक अविरल थापाले जानकारी दिए ।  

झापाको बिजनेस टावरमा सर्वसाधारणको आकर्षण, रेस्टुरेन्ट र साना पसलको व्यापार फस्टाउँदै

काठमाडौं । दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ । दमक नगरपालिका-३ दापगाँछीमा निर्मित ‘बिजनेस टावर’ साउन १ गतेदेखि उक्त भवन सर्वसाधारणको प्रवेशका लागि खुला गरिएको हो । ‘बिजनेस टावर’ रहेको दमक नगरपालिका-३ का वडाध्यक्ष नविन बरालले सो क्षेत्रमा पर्यटकीय चहलपहल बढेको बताए ।  ‘घुम्न, फोटो खिच्न र भिडियो खिच्न पहिले पनि मानिसहरू आउँथे । तर अहिले टावरको टुप्पासम्म चढेर टाढासम्मको रोचक दृश्यावलोकन गर्न पर्यटकहरू झुम्मिएको देखिन्छ,’ उनले भने ।  सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालले साउन ६ गतेसम्म २ हजार १४५ जनाले अवलोकन गरिसकेका छन् ।  टावरमा प्रवेशका लागि प्रतिव्यक्ति १ सय शुल्क तोकिएको छ । खनालका अनुसार साउन १ गते ४३८ जना, साउन २ गते ३८४ जना, साउन ३ गते ४८१ जना, साउन ४ गते २७९ जना, साउन ५ गते २९० जना र ६ गते साउन २७३ जनाले टावर घुमेका छन् ।  सरकारले दमक व्यापारिक कम्प्लेक्स, काठमाडौंको धरहरालगायत मुलुकका विशेष संरचनाको सञ्चालनका लागि हालै विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको गठन आदेश जारी गरिसकेको छ । सहकारी विकास मन्त्रालय मातहत रहने समितिले कार्यकारी निर्देशकको पदपूर्तिका लागि खुला विज्ञापन आव्हानसमेत गरिसकेको छ । उक्त समिति क्रियाशील नहुञ्जेलका लागि सहकारी विकास मन्त्रालयले हाल सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई नै ‘बिजनेस टावर’ सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी दिएको छ । कार्यालयले टावरको सञ्चालनका लागि खनालको नेतृत्वमा १० जना कर्मचारी परिचालन गरेको छ । टावर निर्माणमा १ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २३ गते ‘बिजनेस टावर’को विधिवत् उद्घाटन गरेका थिए । हाल बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ । व्यवस्थापकीय जिम्मेवारी सम्हाली रहेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत खनालका अनुसार हाल टावरको १६ तलासम्म चढेर दृश्यावलोकन गर्न सर्वसाधारणलाई खुला गरिएको छ । तला चढ्नका लागि २ वटा विद्युतीय सिँढी (लिफ्ट) प्रयोगमा ल्याइएको छ । दृश्यावलोकन र तस्वीर खिच्नका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेपछि ‘बिजनेस टावर’ वरपर खाना र खाजा खुवाउने रेस्टुरेन्ट र साना पसलको व्यापार फस्टाउन थालेको छ ।