‘हेरिटेज होम्स’ उद्घाटन : झापा आन्दोलनको स्मृति र सांस्कृतिक पर्यटनको नयाँ गन्तव्य

काठमाडौं । अल्फाविटा ग्रुपले झापाको अर्जुनधारा नगरपालिकास्थित सालवारीमा ‘सालवारी हेरिटेज होम्स’ सुरु गरेको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको समारोहमार्फत परियोजनाको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रम अल्फाविटा ग्रुपका अध्यक्ष द्विराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्य प्रमुख अतिथि थिए । साथै, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । ‘सालवारी हेरिटेज होम्स’ केवल एक निर्माण परियोजना मात्र नभई झापा आन्दोलनको ऐतिहासिक गौरव र सहिदहरूको सम्मानमा समर्पित सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा प्रस्तुत गरिएको छ । यस परियोजनाले सालवारीको ऐतिहासिक गाथालाई उजागर गर्नुका साथै झापा आन्दोलनको ५० वर्षको स्मृतिलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको छ । १० कोठाको आधुनिक भवन, स्विमिङ पुल, झापा आन्दोलनसम्बन्धी संग्रहालय, प्रदर्शनी कक्ष लगायतका संरचनाले परियोजनालाई आकर्षक बनाएका छन् । अल्फाविटा ग्रुपले यसलाई केवल पर्यटकीय स्थलमा सीमित नराखी सामाजिक र आर्थिक विकासको केन्द्रको रूपमा पनि विकास गर्ने लक्ष्य राखेको छ। भविष्यमा कृषि, ऊर्जा, पर्यटन, शिक्षा, रोजगारमूलक तालिम र स्वरोजगारका अवसरहरू समेत विस्तार गरिने योजना सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले सालवारी हेरिटेज होम्सलाई झापा आन्दोलनको क्रान्तिकारी चेतना, सहिदहरूको बलिदान र सांस्कृतिक जागरणको प्रतीकका रूपमा उल्लेख गरेका थिए । यस पहलमार्फत सालवारीलाई राष्ट्रियस्तरको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य बनाउने विश्वास गरिएको छ ।

होटल संघको आयोजनामा एचआर सम्मेलन, दक्ष जनशक्ति उत्पादनमा जोड

काठमाडौं । होटल संघ नेपालले नेपाल सरकार र इन्स्योर परियोजनाको सहकार्यमा मानव संशाधन सम्मेलन-२०२५ (एचआर मिट) मंगलबार काठमाडौंमा सम्पन्न गरेको छ। कार्यक्रममा मुलुकमा तीव्र रूपमा वृद्धि भएको तारे होटलहरूको संख्या, भारतीय तथा चिनियाँ पर्यटकको बढ्दो आगमन र वैदेशिक रोजगारीतर्फ आकर्षणले उत्पन्न गरेको जनशक्ति संकटबारे गम्भीर छलफल भएको थियो । अतिथ्य क्षेत्रमा स्तरीय सेवा प्रवाहका लागि दक्ष जनशक्ति र उत्पादकत्व वृद्धिमा राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ । संघका अध्यक्ष विनायक शाहले होटलहरू अझै पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा पनि जनशक्ति अभाव हुनु विडम्बना भएको उल्लेख गरे । उनले यही विषय उजागर गर्न सम्मेलन आयोजना गरिएको बताए । सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले समय सापेक्ष तथा मागअनुसारको पाठ्यक्रम विकासमा निजी क्षेत्रको सहकार्य अपेक्षित रहेको बताए । कार्यक्रममा होटल संघका कानुनी सल्लाहकार गान्धी पण्डितले आतिथ्य उद्योगसँग सम्बन्धित नीति, कानुन र औद्योगिक प्रक्रियाबारे प्रस्तुति दिए । इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहले औद्योगिक प्रशिक्षार्थी सम्बन्धी दृष्टिकोण राखे । प्यानल छलफलको सञ्चालन संघका कोषाध्यक्ष युवराज श्रेष्ठले गरेका थिए । छलफलमा शिक्षा मन्त्रालय, श्रम मन्त्रालय, सीटीईभीटी, निजी क्षेत्र तथा नाथम प्रतिनिधिहरूले सहभागिता जनाए । उनीहरूले दक्ष जनशक्ति अभाव, वैदेशिक इन्टर्नसिप र पाठ्यक्रम अद्यावधिक सम्बन्धी विविध पक्षमा आ-आफ्नो धारणा प्रस्तुत गरे । सम्मेलनको निष्कर्षस्वरूप आतिथ्य उद्योगमा संलग्न एचआर व्यवस्थापकहरूको ‘एचआर क्लब’ गठन गर्ने निर्णय गरिएको छ, जसले मानव संसाधनको विकास र विस्तारमा एकीकृत ढंगले काम गर्ने अपेक्षा गरिएको छ ।

बन्दीपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ बिक्री गर्ने, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । बन्दीपुर केवलकार एंव टुरिजमले साउन ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र तनहुँको बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नं. १ र गोरखाको पालुङ्गटार नगरपालिका वढा नं. ७ का स्थानीय बासिन्दालाई छुट्याएको छ । साथै, जारी पुँजीको १८.७० प्रतिशत अर्थात् ५२ करोड ९४ लाख रुपैयाँको ५२ करोड ९४ हजार कित्ता सेयरमध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता सेयर छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले साउन २० गते र वैदेशीक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई छुट्याएको सेयर पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २० गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकसँगै केवलकारको तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।