काठमाडौंमा जनकपुरे माछा, मिथिला खाना प्रचारमा सेफ सन्तोष
काठमाडौं । ‘म नेपालभित्र तराईको खाना र नेपाल बाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो,’ मङ्गलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटनका क्रममा बिबिसी मास्टर सेफ सन्तोष साहले भने । साहले भने जस्तै उनी जनकपुरदेखि काठमाडौंसम्म मिथिला खानाको प्रचारप्रसार एवं प्रवर्द्धन गर्दै आएका छन् भने देश बाहिर विभिन्न प्रकारका नेपाली खाना प्रवर्द्धन गर्दै छन् । देश बाहिर अमेरिकादेखि यूरोप, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार प्रवर्द्धन गरिरहेका छन् । पछिल्लो समय उनले विभिन्न देशमा पप-अप शो आयोजना गर्दै आएका छन् । जसमा अधिकतम २० देखि २२ जना मात्रै सहभागी हुन्छन् भने साहले १७ कोर्ससम्मको परिकार पस्किन्छन् । उनको यो पप-अप शो अहिले विश्वका विभिन्न देशमा माग आइरहेको छ । त्यसैगरी स्वदेशमा भने मिथिला थालीको प्रचारप्रसारमा काम गरिरहेका छन् । एक वर्षअघि काठमाडौंबासीलाई मिथिला परिकार खुवाउने उद्देश्यले ललितपुरको झम्सिखेलमा ‘मिथिला थाली’ रेष्टुरेण्ट सुरु गरेका साहले त्यसपछि नक्साल र गौशालामा आउटलेट विस्तार गरेका थिए । राजधानी बासीलाई मिथिला थालीको स्वाद चखाएपछि उनले यतिबेला जनकपुरको स्वाद झल्कने माछाका परिकार ल्याएका छन् । साहका शब्दमा यो प्रयास ‘क्रस प्रमोसन’को एउटा अंश हो । नक्सालको मिथिला थाली रेष्टुरेण्टमा सुरु गरिएको ‘जनकपुर फिस हाउस’मा माछाका परिकारमा जनकपुरको स्वाद पाउन सकिने उनको दाबी छ । ‘माछा पकाउने शैली र स्वाद दुरुस्त ल्याउने प्रयास गरेका छौँ, यसले उहाँहरूलाई जनकपुरे माछाको तलतल मेटाउने छ,’ उनले भने । मङ्गलबार साँझ जनकपुर फिस हाउसमा उपस्थित विभिन्न क्षेत्रका पाहुनालाई सेफ आफैले पकाएर खुवाउँदै थिए । उनका अनुसार यहाँ माछाका विभिन्न परिकारको खान पाइन्छ । उपस्थित पाहुनाले माछाको स्वाद निकै मीठो भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले माछाका पारखीका लागि नक्सालको जनकपुर फिस हाउस प्रमुख गन्तव्य बन्नेमा विश्वास व्यक्त गरे । जनकपुरमा जस्तै मोटो तावामा, सर्सिउँको तेलमा तारेको माछालाई धेरैले मन पराउनेमा सेफ साह विश्वस्त छन् । फिस हाउसमा ओपन किचन हुनेछ । सेफ सन्तोषको यो काममा उनका दाजु सेफ दिलीपले साथ दिएका छन् । सन्तोषलाई हस्पिटालिटी क्षेत्रमा भित्र्याउने दिलीपसँग नेपाल, भारत र मध्य अमेरिकाका हस्पिटालिटी क्षेत्रमा काम गरेको साढे तीन दशक लामो अनुभव छ । सेफ दिलीप भन्छन्, ‘जसरी काठमाडौंमा किलोमा सेकुवा खाने प्रचलन छ, त्यसरी नै माछाको मात्र प्रचलन गर्ने उद्देश्यले यो रेस्टुराँ खोलिएको हो, जनकपुरमा जसरी माछा खाने परम्परा छ, त्यो स्वाद र अनुभव यहाँ ल्याउने हाम्रो प्रयास हो ।’ उनका अनुसार फिस हाउसमा करिब दश प्रकारका माछाका परिकार पाइनेछ । स्पेशल तावा फिस, सानो जनकपुरी मुरी र मुलाको अचारसँगै चाख्न पाइनेछ । ट्राउट, झिँगे माछा, फिस चिली, फिस सेट जस्ता परिकारहरू पनि उपलब्ध छन् । सबै परिकारहरू जनकपुर र मिथिलाको पारम्परिक स्वाद र शैलीमा तयार पारिन्छन् । जनकपुर फिस हाउसमा पेय पदार्थ पनि सुलभ मूल्यमै उपलब्ध गराइएको सेफ सन्तोष साहको भनाइ छ । यसअघि सेफ शाहको ‘मिथिला थाली’ देशभर निकै लोकप्रिय बनिसकेको छ । मिथिला थालीको शाखा जनकपुरसँगै काठमाडौंको नक्साल गैरी धारा, गौशाला र झम्सिखेलमा विस्तारित छ ।
नागार्जुन रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ : वनमन्त्री ठकुरी
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न रिसोर्टको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको मंगलबार उद्घाटन गर्दै शाहीले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्नेदेखि रिसोर्टहरुले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने गरेको बताएका हुन् । उनले नेपालमा पर्यटकहरु भित्र्याउनका लागि वातावरण बनाउन जरुरी रहेको बताए । अहिलेको सरकार निजी क्षेत्रलाई आर्थिक लगानीको वातावरण बनाउन अग्रसर रहेको बताए । लगानीको सुरक्षा र लगानी प्रवर्द्धन गर्नका लागि पेशा र व्यवसायको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध रहेको बताए । देशको अर्थतन्त्रलाई विशेष टेवा दिने क्षेत्र भनेको पर्यटन, जलस्रोत, वन रहेको जानकारी दिए । मन्त्री शाहीले भने–‘नेपालमा पर्यटकहरुको ओइरो लाग्न सक्छ । देशको आर्थिकलाई विशेष टेवा दिने क्षेत्र भनेको पर्यटन, जलस्रोत, वन हो । पर्यटनका जतिपनि सम्भावना छन । ती सबै वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्र रहेका छन ।’ सो अवसरमा ओशो तपोवनका स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । उनकाअनुसार नागार्जुन क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । पर्यटनका लागि ठूलो गन्तव्य बन्न सक्छ । अहिले पनि त्यहाँ रहेको तपोवनले ६०–८० देशका पर्यटकहरु ल्याउने गरेको छ । तर ठाउँ कम भएकाले कोठा पुग्दैन । उनले भने–‘नागार्जुन रिसोर्टले हामीलाई ठूलो सहयोग गर्ने छ । तपोवनमा अहिले ठाउँ छैन । मुस्लिमदेखि इसाइ कन्ट्रिसम्मका व्यक्तिहरु ध्यान र योग सिक्न नेपाल आउने गरेका छन । पर्यटन नेपालको ठूलो सम्पदा हो । जो हामीले एक्सप्लो नै गर्न सकिरहेका छैनौं ।’ उद्घाटन समारोहमा बोल्ने अन्य व्यक्तित्वहरुले रिसोर्टले आगामी दिनमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने तथा समग्र समुदायलाई लाभ पुर्याउने लक्ष्य रहेको स्पष्ट पारेका थिए । के छ नागार्जुन रिसोर्टमा ? नागार्जुन रिसोर्टमा हाल ६५ ओटा सुविधा सम्पन्न कोठा छन्, जसले पाहुनालाई उच्च स्तरको आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । रिसोर्ट व्यवस्थापन पक्षका अनुसार यहाँको प्रमुख आकर्षणहरूमा एयर कन्डिसन युक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने व्यवस्था, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका विविध परिकारहरू रहेका छन् । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ सञ्चालनमा आएको नागार्जुन रिसोर्टले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
सुविधासम्पन्न नागार्जुन रिसोर्ट सञ्चालनमा, रोजगारी र पर्यटनमा टेवा पुग्ने अपेक्षा
काठमाडौं । तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मंगलबार एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गरे । त्यस अवसरमा उनले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताए । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै उनले निजी क्षेत्रलाई सरकारले सधैँ प्रोत्साहन गर्ने बताए । स्वामी आनन्द अरुणले पर्यटनका लागि हाम्रो देश स्वर्ण भूमि हो भन्दै विश्वका विभिन्न देशका पर्यटक नेपालप्रति आकर्षित भएका बताए । उनले हाम्रो देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिकताले सबै किसिमका पर्यटकलाई लोभ्याएको विचार व्यक्त गरे । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नं वडा कार्यालयका अध्यक्ष परशुराम अर्यालले देशको पर्यटन प्रवर्द्धनमा रिसोर्ट सहयोगी हुने विश्वास व्यक्त गरे । रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ आफूहरुले रिसोर्ट सञ्चालन गर्ने बताए ।