ऐना पहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा, लगानी १५ लाख रुपैयाँ
काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका स्थित पर्यटकीय गन्तव्यस्थल ऐना पहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि स्काइ वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । १५ लाख रुपैयाँको लगानीमा स्काइ वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ । कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । ‘स्काइ वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ । सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन,’ उनले भने । यो स्थान पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनिरहेको रहेकाले यहाँ पूर्वाधार थप गरिएको उनको भनाइ छ । स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँ पर्यटकको घुम्ने गन्तव्यको रुपमा विकास भएको छ । सार्वजनिक बिदाको दिन आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आबुखैरेनी गाउँपालिका-२ का वडाध्यक्ष आश बहादुर गुरुङले जानकारी दिए । ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उनले बताए । ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ,’ उनले भने । ऐना पहराबाट गाउँपालिकाले ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ । राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । यहाँ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार १० करोड रुपैयाँ बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।
वर्षा सुरु भएसँगै म्याग्दीका पर्यटकीयस्थल सुनसान, घटे पर्यटक
म्याग्दी । वर्षा सुरु भएसँगै यहाँका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् । अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको बताए । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घोडेपानीमा दैनिक एक हजार क्षमताका २५ वटा सुविधायुक्त होटल रहेका जनाउँदै ती होटलहरू आजभोलि सुनसान रहेका उनले उल्लेख गरे । “जेठदेखि भदौसम्म झरी लाग्ने, सडक तथा पदमार्ग अवरुद्ध हुने हुँदा पर्यटन व्यवसायका हिसाबले बेमौसमी मानिन्छ”, पुनले भने, “पहाडी क्षेत्रमा बादल लागेर हिमाल छोपिने हुँदा पर्यटक आगमन नभएको हो ।” बेनी-जोमसोम सडक भएर मुस्ताङ जानेआउने पर्यटकहरूका लागि थकान मेटाउने थलोका रूपमा रहेको अन्नपूर्ण गाउँपालिका-२ स्थित भुरुङ तातोपानी र प्राकृतिक उपचारस्थलका रूपमा बेनी-४ स्थित सिङ्गा तातोपानी कुण्ड पनि सुनसान बनेको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्यले पर्यटकीय याममा दैनिक एक हजारको हाराहारीमा स्नान गर्ने धार्मिक पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउनेमा अहिले दैनिक ५० जना पनि नपुग्ने गरेको बताए । म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङ्खला, सूर्योदय, झरना, गल्छी, ग्रामीण जनजीवन र विभिन्न जातजातिको संस्कृतिको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना पर्यटकीय यामका रूपमा मानिन्छ । जेठ, असार, साउन र भदौ महिना पर्यटक आगमन शून्य जस्तै हुने गरेको छ । पर्यटक आगमन बघेसँगै होटल तथा पर्यटन व्यवसायीहरू फुर्सदिला भएका छन्, पदमार्गमा चहलपहल छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार म्याग्दीमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । रासस
साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने, मिडिया सेन्टर पनि सञ्चालनमा ल्याइने
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ । साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ । साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । यस महिनामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलाई पनि अनुगमनमा खटाउने गरी तयारी गर्न लागिएको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का पदाधिकारी एवं कार्य समिति सदस्यहरुसँगको अन्तरक्रियामा उनले साउनदेखि नै पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकार एवं सञ्चारकर्मीका लागि ‘मिडिया सेन्टर’ को सुरुवात गरिने प्रतिबद्धता जनाए । साउनको सोमबार र शनिबार, हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, विक्रम संवत्को नयाँ वर्ष वैशाख १ गते, अक्षया तृतीयालगायत पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । त्यसबेला पशुपति क्षेत्रबाट समाचार सङ्कलनमा समस्या हुने गरेको छ । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र एवं राष्ट्रदेवका रुपमा रहेको पशुपति क्षेत्रलाई थप व्यवस्थित बनाउन यसो गर्न लागिएको हो । कोषको कर्मचारी नियमावली छिटो ल्याउन पहल गर्ने पनि निमित्त सदस्यसचिव जोशीको प्रतिबद्धता छ । नियमावली अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको जनाइएको छ । लामो समयदेखि बढुवा नहुँदा कर्मचारी निराश भएकाले केही महिनामै विज्ञापन गर्नेगरी तयारी गरिएको जानकारी पनि उनले दिए । पशुपति क्षेत्र विकास कोष ऐनलाई संशोधनका लागि पनि पहल गरिने उनको प्रतिबद्धता छ । कोषले सूचना प्रविधिका विभिन्न माध्यमलाई प्रभावकारी बनाउँदै नागरिक एपमार्फत सेवा दिने तयारी पनि गरेको सदस्यसचिव जोशीले बताए ।