‘बैंकका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्न निरुत्साहित गरिँदैछ, निजी क्षेत्रमा अख्तियार छिर्नु हुँदैन’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई लगानीमा निरुत्साहित बनाउने किसिमकले सरकार अगाडि बढिरहेको धारणा राखेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंकका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्नका लागि सरकारले निरुत्साहित बनाउने प्रयास गरिरहेको बताएका हुन् । उनले बैंकमा स्वामित्व भएकै कारण अन्यमा लगानी गर्न नपाउने हो भने उत्पादन र रोजगारी सिर्जनामा ठूलो समस्या सिर्जना हुने पनि बताएका छन् । बैंक तथा वित्तीय संस्था ऐन संशोधन गरेर सरकारले यस्तो प्रयास गर्न खोजिरहेको उनको दाबी छ । ‘सरकार बैंक तथा वित्तीय संस्था ऐन (वाफिया) संशोधन गर्न खोजिरहेको छ, त्यसमा बैंकमा स्वामित्व भएका लगानीकर्तालाई अन्य क्षेत्रमा लगानी गर्न निरुत्साहित गर्न खोजिरहेको छ, बैंकिङ क्षेत्र आएको चार दशक बढी भइसकेको छ, यो क्षेत्रमा अर्थतन्त्रमा ठूलो योगदान छ, उद्योगी व्यवसायीको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन,’ उनले कार्यक्रममा भने । उनका अनुसार अहिले नेपाल राष्ट्र बैंकको नियमन आफैंमा कडा छ । ‘कर्जा दुरुपयोग भएको छ भने गलत गर्नेलाई कारवाही गरौं । तर, निषेध र नियन्त्रण गर्न नखोजौं, १ प्रतिशतभन्दा बढी सेयर भएको व्यक्ति तथा समूह भन्ने व्यवस्थाले निजी क्षेत्रलाई संकुचन गर्नसक्छ,’ उनले भने । यस्तै, उनले अख्तियार अनुसन्धान आयोगले निजी क्षेत्रलाई हेर्न विषयप्रति पनि आपत्ति जनाए । उनले निजी क्षेत्रमा अख्तियार प्रवेश गरेमा निजी क्षेत्रले गरेको आर्थिक गतिविधि ब्रेक लाग्ने बताए । ‘यो विषयलाई सबैलाई सबैले मनन् गर्न आवश्यक छ, अब सरकारले ऐन संशोधनमार्फत् निजी क्षेत्रको भूमिका कम गर्न खोजेको होकि भन्ने भइरहेको छ, ८० प्रतिशत बढी योगदान भएको क्षेत्रको संकुचन गर्ने काम नगरियोस्,’ उनले भने । के छ बाफियामा ? सरकारले बैंकर र उद्योगी छुट्याउने तयारी थालेको छ । लामो समयदेखि यस विषयमा बहस हुँदै आएको भए पनि यस पटक भने काम अगाडि बढेको छ । अहिले बाफिया संशोधनका लागि संसदमा पेस भएको छ । त्यसपछि पनि उद्योगी व्यवसायी सो प्रस्तावको विरोध गरिरहेका छन् । यसले लगानीको वातावरण बिगार्न सक्ने उनीहरुको धारणा छ । प्रस्तावित संशोधनअनुसार ऐनको दफा २ को खण्ड ‘च’ मा कुनै व्यक्ति वा संस्थाले बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको वा सेयर स्वामित्वका कारण बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न सक्ने अवस्था सम्झनु पर्ने उल्लेख छ । ऐनको दफा ५२ मा संशोधन गरी कुनै बैंकमा उल्लेख्य स्वामित्व (पुँजीको १ प्रतिशत वा बढी) भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न नपाउने व्यवस्था पनि गरिएको छ । यही व्यवस्थाको नै उद्योगी व्यवसायीहरु विरोध गरिरहेका छन् । यो व्यवस्था संसदबाट पारित भएमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर लगानी गरेको व्यक्तिले नेपालको वित्तीय प्रणालीबाट ऋण लिन पाउने छैन । हालको व्यवस्था अनुसार कुनै पनि बैंकमा २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ भने उनले सोही बैंकबाट कर्जा लिन पाउँदैन । तर, अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइन्छ । बैंकले सो व्यवस्थाबाट बच्नका लागि आफू आवद्ध नभएको बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने गरेका थिए । तर, यस पटक भने बाफियामा १ प्रतिशत बढी सेयर भएको व्यक्तिले कुनै पनि बैंकबाट ऋण लिन पाउने छैन । चुक्तापुँजीको १ प्रतिशतभन्दा बढी ऋण लिएको छ भने बैंकको सञ्चालक बन्न अयोग्य ठहर्न सकिने व्यवस्था पनि प्रस्तावित ऐनमा छ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङचेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर),निदा दुन मल्ल (मेम्बरसिपचेयर), पुनित अग्रवाल (फाइनान्सचेयर),अंकुर अग्रवाल (नेटवर्क एन्ड कम्युनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एन्ड एक्सपान्सन चेयर), र साइनी खेतान (स्टार्टअपचेयर) निर्वाचित भएका हुन् । सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल थिए । नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरूलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गरे । देशमा रोजगारी बढाउन, औद्योगीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरूलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष अग्रवालले यसमा काम गर्न नयाँ टिमलाई सुझाव दिए । मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्ने विश्वास व्यक्त गरे । स्टार्ट–अप र युवा उद्यमीहरूलाई प्रोत्साहनको खाँचो रहेको भन्दै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवाहरूलाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताए । व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आबद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुन् । उनी मञ्चमा सन् २०१९ देखि सक्रिय छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।
मुक्तिनाथ विकास बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । महासंघमा आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्यसहित सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एक कार्यक्रमबीच भएको उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको तर्फबाट महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताअनुसार अगामी दिनमा महासंघमा आबद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासका लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्ने बताइएको छ । महासंघका अध्यक्ष सिंहले अगामी दिनमा झन सहज तरिकाबाट उद्योगीहरूले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यावसायिक साक्षारतामा बैंकको सहकार्य हुनेमा विश्वास व्यक्त गरे । साथै, बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।