८ महिनामा ३२ ठूला उद्योग दर्ता, डेढ खर्ब बढी लगानीको प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ३२ वटा ठूला उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा स्वदेशी तथा विदेशी गरेर नेपालमा २५८ वटा उद्योगहरु दर्ता भएकोमा ३२ वटा ठूलो उद्योग दर्ता भएका हुन् । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा ३२ वटा ठूला उद्योग, २२ वटा मझौला उद्योग र २०४ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगहरुमा १ खर्ब ५५ अर्ब लगानीको प्रस्ताव गरिएको छ भने ती उद्योगहरुले १८ हजार १५३ जनालाई रोजगारी दिने प्रस्ताव छ । विभागका अनुसार फागुन मसान्तसम्म २५३ वटा विभिन्न कम्पनीहरुलाई विभागले नेपालमा लगानीको लागि स्वीकृति दिएको छ, जसले २९.१३ अर्ब लगानी भित्र्याउने प्रस्ताव गरेका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा २ वटा प्याटेन्ट दर्ता, ७ वटा डिजाइन दर्ता, ३ हजार ८१३ वटा ट्रेडमार्क दर्ता भएका छन् । त्यस्तै, सोही अवधिमा विभिन्न २२ वटा उद्योगहरुले प्रारम्भिक वातावरणीय परीक्षण समेत गरेका छन् ।

राजस्व छलेको आरोपमा सिरहाको शारदा डिस्टीलरी सिल

काठमाडौं । राजस्व छली प्रकरणमा सिरहाको शारदा डिस्टीलरी सिल गरिएको छ । अन्तशुल्कको एउटा स्टीकरलाई दुई टुक्रा पारी मदिराको बोतलमा लगाएर राजस्व छलेको आरोपमा गोलबजारस्थित शारदा डिस्टीलरीको गोदाम सिल गरिएको आन्तरिक राजस्व कार्यालय लहानले जनाएको हो । आन्तरिक राजस्व विभागले प्रदान गर्ने स्टिकरलाई सरोकारवालाको मिलेमतोमै दुई टुक्रा पारेर प्रयोग गरी उद्योगले राजस्व छली गर्दै आएको विशेष सूचनाका आधारमा राजस्वको टोली गोदाममा पुगेको थियो । गोदामबाट शारदा डिस्टिलरीबाट उत्पादित मदिरासहित ३१५ कार्टुन मदिरा बरामद गरिएको छ । थप मदिरा कोठामा बन्द गरेर राखिएका कारण परिणाम यकिन हुन नसकेको बताइएको छ । साथै, उद्योगका प्रतिनिधि सुपरभाइजर लोकबहादुर बस्नेत र सिरहाको माडरस्थित आशीष जनरल स्टोरका प्रोपराइटर ललनकुमार यादव बयान दिन गएका थिए । दुबैजनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।

नीति तथा कार्यक्रमका लागि महासंघले दियो २९ बुँदे सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नीति तथा कार्यक्रमका लागि सरकारलाई सुझाव पेस गरेको छ । महासंघले सरकारलाई बाह्य क्षेत्र सकारात्मक भएपनि आन्तरिक क्षेत्रमा माग बढाउन २९ बुँदे सुझाव बुझाएको हो । अर्थतन्त्रको वाह्य क्षेत्र सकारात्मक भएपनि मुलतः आन्तरिक मागमा आएको कमीका कारण अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न बजारमा रकम प्रवाहका लागि साना मझौला उद्यममा पुर्नकर्जा सुविधा विस्तार, बैंक वित्तीय संस्थाहरूलाई सानो ऋण प्रवाहका लागि प्रोत्साहन गर्ने, उद्यमी व्यवसायीको मनोबल वृद्धि, लगानी प्रवद्र्धन र सामाजिक सेवा एवं सुरक्षामा सुधार गरि सर्वसाधारणको विश्वास जगाउने नीति तथा कार्यक्रम आउनु पर्ने महासंघको माग छ । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रद्धारा प्रवद्र्धित आर्थिक रुपान्तरणका लागि लगानी प्रवद्र्धन विशेष योजनालाई प्रोत्साहन गरिनेछ । स्वदेशी एवं विदेशी लगानी बढाउन ऐन नियममा संसोधन, द्धिपक्षीय लगानी सम्झौता, प्रभावकारी सहायता योजना मार्फत लगानीकर्ताहरुको मनोबल बढाइनेछ । निजी क्षेत्रको नेतृत्वमा नयां पुस्ताको आर्थिक पुनसंरचना कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिनेछ । आन्तरिक श्रोतको सिमिततासंगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न वैदेशिक लगानी प्रवद्र्धन दशकका रुपमा आगामी बर्षदेखि विशेष कार्यक्रम संचालन गर्नु पर्ने माग पनि महासंघको छ । बीमा व्यवसाय, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषको न्यूनतम ५० प्रतिशत लगानी उत्पादनमूलक उद्योग र पूर्वाधार क्षेत्रमा लगानी हुने व्यवस्था कार्यान्वयन गरिनुपर्ने माग गरेका छन् । [pdf id=471170]