द्विपक्षीय लगानी सम्झौतामा कतारी राजदूतको चासो, व्यापार प्रवर्द्धनलाई प्रोत्साहन गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् । ढकालले सोमबार नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका थिए । सो भेटवाता दुई देशबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा केन्द्रित भएको थियो । भेटमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए । उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए । उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए । महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद स्थापना गर्ने योजनाको छलफल पनि भएको थियो । संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ । काउन्सिलले एकअर्काको बजार विस्तार गर्न संयुक्त पहलका लागि प्लेटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ । यसैबीच, मिसाल बिन मोहम्मद अल अन्सारीले द्विपक्षीय लगानी सम्झौतामा गहिरो चासो व्यक्त गरे। उनले यस्तो सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए । दुवै पक्षले सम्भावित फाइदाहरूबारे छलफल गरे र थप कदमहरू खोज्न सहमत भए । अन्त्यमा दुवै पक्षले आर्थिक सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धता दोहोराए । महासंघ र कतार चेम्बरले संयुक्त व्यापार परिषद् सम्झौतामा हस्ताक्षर गर्न र लगानीका अवसरहरूको विषयमा वार्ता जारी राख्ने समेत प्रतिबद्धता जनाए ।
सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह
काठमाडौं । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवद्र्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई भेटेर स्थानीय उत्पादनको एकीकृत प्रवद्र्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आग्रह गरेको हो । चेम्बरले विप्रेषणबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई आग्रह गरेको छ । विप्रेषणको झन्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले संसद्मा विचाराधीन आर्थिक विधेयकलाई तत्काल पारित गर्नका लागि भूमिका खेल्न आग्रह गरेको छ । ‘सरकारले आगामी वैशाख तेस्रो साता अन्तरराष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐननियमहरु बाधक रहेकाले समयमै समस्या हल गर्नुपर्छ,’ अध्यक्ष मल्लले भने । वर्तमान समयमा कालोबजार ऐन, २०३२ का कतिपय प्रावधान असान्दर्भिक भएकाले समयसापेक्ष सुधार गर्नुपर्ने उनको भनाइ छ । चेम्बरले स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवं वनजन्य उद्योगमा आवश्यक कानुन बनाई निर्यात प्रवद्र्धन गरिनुपर्ने जनाएको छ । बजार अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन चेम्बरले मन्त्रीसमक्ष आग्रह गरेको छ ।
८ महिनामा ३२ ठूला उद्योग दर्ता, डेढ खर्ब बढी लगानीको प्रस्ताव
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ३२ वटा ठूला उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा स्वदेशी तथा विदेशी गरेर नेपालमा २५८ वटा उद्योगहरु दर्ता भएकोमा ३२ वटा ठूलो उद्योग दर्ता भएका हुन् । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा ३२ वटा ठूला उद्योग, २२ वटा मझौला उद्योग र २०४ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगहरुमा १ खर्ब ५५ अर्ब लगानीको प्रस्ताव गरिएको छ भने ती उद्योगहरुले १८ हजार १५३ जनालाई रोजगारी दिने प्रस्ताव छ । विभागका अनुसार फागुन मसान्तसम्म २५३ वटा विभिन्न कम्पनीहरुलाई विभागले नेपालमा लगानीको लागि स्वीकृति दिएको छ, जसले २९.१३ अर्ब लगानी भित्र्याउने प्रस्ताव गरेका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा २ वटा प्याटेन्ट दर्ता, ७ वटा डिजाइन दर्ता, ३ हजार ८१३ वटा ट्रेडमार्क दर्ता भएका छन् । त्यस्तै, सोही अवधिमा विभिन्न २२ वटा उद्योगहरुले प्रारम्भिक वातावरणीय परीक्षण समेत गरेका छन् ।