निजी क्षेत्र आर्थिक विकासको मेरुदण्ड, निर्वाचनपछिको एकता अपरिहार्य : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् । महासंघको ६० औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।  उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान पुर्याउने निजी क्षेत्र नै मुलुकको वास्तविक आर्थिक इन्जिन भएको उल्लेख गरे । अध्यक्ष ढकालले पूर्वाधार निर्माणदेखि हरेक सेवा प्रवाहमा निजी क्षेत्रको संलग्नता रहेको चर्चा गर्दै निजी क्षेत्रको अनुपस्थितिमा मुलुकको समृद्धिको कल्पना समेत गर्न नसकिने बताए ।  आफ्नो कार्यकालमा महासंघले नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ (सीएनआई) सँग मिलेर निजी क्षेत्रका एजेण्डाहरूलाई सामूहिक रूपमा अगाडि बढाएको उनले बताए । उनले कालोबजारी ऐन लगायतका पुराना कानूनहरूमा सुधार ल्याउन गरिएको प्रयास र निजी क्षेत्रको साख अभिवृद्धि गर्न ‘निजी क्षेत्र संरक्षण र प्रवद्र्धन योजना’ (पीएसपीपी) पारित हुनुलाई ठूलो उपलब्धि मानेका छन् । उक्त योजनाको प्रभावकारी कार्यान्वयन भएमा निजी क्षेत्रले अझ सशक्त रूपमा आर्थिक गतिविधि सञ्चालन गर्न सक्ने उनको विश्वास छ ।  उनले भने, ‘विगत तीन वर्षमा हामीले पुराना कानुनहरूको संशोधन र निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उल्लेखनीय पहल गरेका छौँ । सरकार र निजी क्षेत्रबिच ‘पक्ष र प्रतिपक्ष’ को जस्तो सम्बन्ध रहनु हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ र यसमा हामी एक हदसम्म सफल पनि भएका छौँ । निर्वाचनको प्रतिष्पर्धा भोट हाल्ने दिनसम्म मात्र सिमित हुनुपर्छ ।’ महासंघको आगामी नेतृत्व चयनका सन्दर्भमा बोल्दै अध्यक्ष ढकालले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि अधिकतम प्रयास गरेको तर त्यो सम्भव हुन नसकेको जानकारी दिए । उनले नयाँ आउने नेतृत्व र टिमले निजी क्षेत्रका अधुरा कामहरूलाई पूर्णता दिनेमा विश्वास व्यक्त गरे ।   

एभरेष्ट कलरको आईपीओ आजदेखि बिक्री खुला, ७ हजार कित्ता आवेदन दिन पाइने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज वैशाख १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख ९० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरेको हो ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

मोरङ उद्योग व्यापार संघद्वारा सांसदहरूलाई स्वागत, निजी क्षेत्रका समस्या समाधान गर्न बुझायो सुझाव

काठमाडौं । मोरङ उद्योग व्यापार संघले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको टोलीलाई स्वागत गर्दै निजी क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको छ । मंगलबार संघको कार्यालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय कोषाध्यक्ष माननीय लिमा अधिकारी (आचार्य) सहित सांसदहरू लाल विक्रम थापा, यज्ञमणि न्यौपाने, सन्तोष राजवंशी र आशा झा लगायतको टोलीलाई स्वागत गरिएको हो ।  कार्यक्रमको सभापतित्व गर्दै संघका अध्यक्ष अनुपम राठीले नयाँ सरकार र युवा नेतृत्वप्रति निजी क्षेत्रको ठूलो आशा रहेको बताए । उनले देशको आर्थिक विकास, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रका आवाजलाई नीति निर्माणको तहसम्म पु¥याउन सांसदहरूलाई आग्रह गरे ।  छलफलका क्रममा अध्यक्ष राठीले सांसदहरूमार्फत सरकारलाई खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापारलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने, दैनिक उपभोग्य कम्तिमा ४८ वटा वस्तुको भन्सार दर न्यून गरी स्वदेशी बजारलाई प्रोत्साहन गर्नुपर्ने, बहुदरको मूल्य अभिवृद्धि कर प्रणाली अवलम्बन गर्नुपर्ने, आर्थिक र फौजदारी कसुरलाई छुट्याई ’पहिले सुन्ने र पछि थुन्ने’ नीति अघि सार्नुपर्ने तथा विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल, पर्यटन र खेलकुदका पूर्वाधार निर्माणका साथै छुट्टै औद्योगिक कोरिडोरको व्यवस्था हुनुपर्ने सुझावहरू प्रस्तुत गरे ।  कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्षहरू पवन कुमार सारडा र खेमचन्द जैन, तथा वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले पनि आफ्ना धारणा राखे । उनीहरूले जलविद्युत् उत्पादनमा जोड, भ्रष्टाचारमुक्त प्रशासन र आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा निजी क्षेत्रका सुझावहरू समावेश गराउन पहल गर्न सांसदहरूलाई अनुरोध गरे ।  कार्यक्रममा विभिन्न वस्तुगत संघका प्रतिनिधि, महिला तथा युवा उद्यमी र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो । सांसदहरूले निजी क्षेत्रका यी जायज मागहरूलाई सदन र सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।