वस्तुगतमा १३ जना विजयी हुँदा ३ जनाको टुंगो गोलाप्रथाबाट हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि मंगलबार सम्पन्न निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने बाँकी ३ जनाबीच गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । निर्वाचन परिणामअनुसार अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राजकुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रधानले ६२ मत, भक्तबहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी छिन् । यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट ३ जनाले गोलाप्रथाबाट जित्ने छन् । वस्तुगततर्फ उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरे र नरेशलाल श्रेष्ठ आ-आफ्नो समूहसहित प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचित हुनेमा अरनिको राजभण्डारी, रवीन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष बिष्ट, होमप्रसाद घिमिरे र सुनिता नेहाफुकी सदस्यहरूमध्ये घिमिरे समूहबाट उम्मेदावर थिए ।  त्यसैगरी, विदुर धमला, सागर ढकाल, पशुपतिदेव पाण्डे, लिलेन्द्रप्रसाद प्रधान र भक्तबहादुर हमाल श्रेष्ठ समूहबाट उम्मेदवार थिए । यस्तै बराबर मत ल्याउनेमा रघुनन्दन मारु घिमिरे समूहका उम्मेदवार हुन् भने निराजन चलाउने, विप्लव अधिकारी र सुरज बन्जाडे श्रेष्ठ समूहबाट उम्मेदवार हुन् । 

द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट महासंघमा मनोज पौडेल निर्वाचित

काठमाडौं । मनोज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा उनले ५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पराजित गरेका हुन् । पौडेल नेपाल-मलेसिया उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका थिए । द्वीराष्ट्रिय उद्योग वाणिज्य संघ अन्तर्गत एक सदस्यका लागि भएको प्रतिस्पर्धामा नेपाल-जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द कुँवर पनि उम्मेदवार रहेका थिए । तर, उनी निर्वाचनमा पराजित भए ।

नेपाल उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न, राति ८ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान कार्यक्रम सम्पन्न भएको छ । महासंघको आगामी कार्यकालका लागि आज बिहानदेखि सुरु भएको मतदान केही बेरअघि मात्रै सकिएको हो । निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी सुरु गरिएको छ ।  समितिले आजै राति ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने जानकारी दिएको छ ।  सोमबारदेखि सुरु भएको महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको हो । महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । उनीबाहेक अन्य विभिन्न पदाधिकारी र कार्यकारिणी सदस्य पदका लागि भने निर्वाचन भएको हो । निर्वाचनमा मुख्य दुई समूहबीच प्रतिस्पर्धा भएको थियो । स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूह र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबीच प्रतिस्पर्धा भएको हो । श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्ष उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार छन् । त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।