४० अर्बको डेभलपमेन्ट कम्पनी सम्भव, दोस्रो चरणको आर्थिक सुधार अपरिहार्य : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक रूपान्तरणलाई तीव्र बनाउन दोस्रो चरणको संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले निजी क्षेत्रको अगुवाइमा ठूला लगानी परियोजना अघि बढाउन सकिने बताउँदै ४० अर्ब रुपैयाँसम्मको डेभलपमेन्ट कम्पनी स्थापना गर्न सकिने सम्भावना प्रस्तुत गरे ।  उनले महासंघको ६० वर्षे यात्रा केवल संस्थागत इतिहासमा सीमित नभई देशको आर्थिक समृद्धिको दीर्घकालीन अभियान भएको उल्लेख गरे । 'यो यात्रा विगतको सम्झना मात्र होइन, आगामी समृद्ध नेपाल निर्माणको आधार पनि हो,' उनले भने ।  ढकालले विगतमा भएका विभिन्न राजनीतिक आन्दोलन र अस्थिरताका कारण निजी क्षेत्र पटक–पटक प्रभावित भएको स्मरण गर्दै अबको सरकारले व्यवसायमैत्री वातावरण सिर्जना गर्न सकारात्मक संकेत दिएको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थायित्व र कार्यान्वयनमा स्पष्टता आवश्यक रहेको धारणा राखे ।  उनका अनुसार अहिले देशले अभूतपूर्व अवसर पाएको छ । 'हामीसँग स्थायी सरकार छ, नीतिगत स्पष्टता ल्याउने अवसर छ, र लगानी आकर्षित गर्ने सम्भावना पनि उच्च छ,' उनले भने, 'यो अवसरलाई सदुपयोग गर्न नसके हामी फेरि पछि पर्न सक्छौं ।'  रोजगारी सिर्जना र आयस्तर वृद्धिलाई प्राथमिकतामा राख्दै उनले आगामी दशकभित्रै नागरिकलाई मर्यादित र उच्च आय सुनिश्चित गर्न सक्नुपर्नेमा जोड दिए । उनले हालको अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै हरेक वर्ष करिब ७ लाख युवा रोजगारीका लागि विदेशिनु चिन्ताजनक भएको बताए ।  'हामीले युवालाई उनीहरूको क्षमताअनुसार देशभित्रै अवसर दिन सकेनौं भने दीर्घकालीन विकास सम्भव हुँदैन,' उनले भने ।  ढकालले नागरिकको मुख्य चाहना सहज, सुरक्षित र गुणस्तरीय जीवनयापन भएको उल्लेख गर्दै आर्थिक नीतिहरू पनि त्यही दिशामा केन्द्रित हुनुपर्ने बताए । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो ।  सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको भावी आर्थिक इञ्जिनका रूपमा चित्रण गर्दै उनले यस क्षेत्रमा ठूलो विस्तारको सम्भावना रहेको बताए ।  'आईटी क्षेत्रले कम लगानीमा उच्च प्रतिफल दिन सक्छ, रोजगारी सिर्जना गर्न सक्छ, र विश्व बजारमा नेपाललाई प्रतिस्पर्धी बनाउन सक्छ,' उनले भने ।  यसै सन्दर्भमा उनले महासंघकै नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजी रहेको ‘नेपाल डेभलपमेन्ट कम्पनी’ स्थापना भइसकेको जानकारी दिए । उक्त कम्पनीलाई इक्विटीको आधार बनाएर थप लगानी जुटाउँदै ४० अर्ब रुपैयाँसम्म विस्तार गर्न सकिने उनको विश्वास छ ।  'यो कम्पनीले ठूला पूर्वाधार, ऊर्जा, पर्यटन र औद्योगिक परियोजनामा लगानी गर्नेछ,' उनले भने ।  उनले दोस्रो चरणको आर्थिक सुधारअन्तर्गत नीतिगत सुधार, प्रशासनिक सरलीकरण, लगानीमैत्री वातावरण निर्माण, वित्तीय पहुँच विस्तार र उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको औंल्याए । यस्ता सुधारले निजी क्षेत्रलाई सशक्त बनाउने र अर्थतन्त्रलाई दिगो वृद्धि मार्गमा लैजाने उनको तर्क थियो ।  ढकालले सरकार, निजी क्षेत्र र श्रमिकबीच सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए । 'एक्लैले कसैले पनि आर्थिक रूपान्तरण गर्न सक्दैन । सबै पक्षबीच विश्वास, सहकार्य र साझा लक्ष्य आवश्यक छ,' उनले भने ।  

घोराही सिमेन्टको नोक्सानी घट्यो, आम्दानी साढे ३ अर्ब रुपैयाँ

काठमाडौं । घोराही सिमेन्ट इण्डिष्ट्रिले नोक्सानी घटाएको छ । सिमेन्ट कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नोक्सानी घटाउँदै १५ करोड ८६ लाख ६८ हजार रुपैयाँमा झारेको हो । जबिक गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५५ करोड ४३ लाख ६४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।  चालु आवको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिमा कम्पनीले २ करोड ७५ लाख रुपैयाँ अन्य आम्दानी, ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा र ९२ करोड ६४ लाख रुपैयाँ कुल नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ लाख रुपैयाँ अन्य आम्दानी, १ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा र ७१ करोड ४४ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।  साथै चालु आवको ९ महिनाको अवधिमा कम्पनीको कस्ट अफ सेल २ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ र प्रशासनिक तथा बिक्री वितरण खर्च १३ करोड ८४ लाख रुपैयाँ गरेको छ ।  ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ७९ करोड ३२ लाख रुपैयाँ र २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ३.१६ रुपैयाँ ऋणात्मक रहेको छ । चैतसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १६८.६९ रुपैयाँ रहेको छ । सिमेन्ट उद्योगको बजारमा माग भन्दा बढि उत्पादन भएकोले प्रतिस्पर्धात्मक स्थितिमा बिक्रीमा अपेक्षा लिए अनुसार वृद्धि नभएको तर गत अवधिको तुलनामा यो अवधिमा सुधार भएको देखिएको कम्पनीले जनाएको छ । निर्माणका लागि महत्वपूर्ण मानिने आगामी अवधि नै सुख्खायाम पनि भएकाले विद्युत कटौतीको सम्भावना बढ्दै गएकाले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पार्न सक्ने कम्पनीले जनाएको छ । विद्युत आपूर्तिमा समस्या आएमा निरन्तर उत्पादनमा अवरोध हुने र त्यसले समग्र उत्पादन क्षमतामा असर पर्ने कम्पनीको भनाइ छ । साथै, पूर्वी एसियामा जारी द्वन्द्वका कारण कोइला र डिजेलजस्ता इन्धनको मूल्य बढ्दो क्रममा रहेकाले सिमेन्ट उत्पादन लागत महँगो बन्दै गएको छ । यद्यपि, बैंक ब्याजदरमा केही कटौती भए पनि लागतमा पर्ने दबाब कायमै रहेको छ । हालसम्म नगद प्रवाहमा ठूलो असर पार्ने खालका तत्कालीन जोखिम नदेखिए पनि दीर्घकालीन रूपमा लागत वृद्धि उद्योगको नाफामा असर पार्न सक्ने देखिन्छ । सिमेन्ट उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ चुनढुंगा उत्खनन अनुमति प्रक्रियामा ढिलाइ हुनु अर्को समस्या रहेको, खपतको तुलनामा उत्पादन बढी हुँदा आम्दानीमा प्रत्यक्ष असर परेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार समग्रमा, ऊर्जा आपूर्ति, इन्धन मूल्य, कच्चा पदार्थ व्यवस्थापन र बजार मागबीचको असन्तुलनले सिमेन्ट उद्योगलाई दबाबमा राखेको छ । 

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि बिक्री, ५ हजार कित्ता आवेदन दिन मिल्ने

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज वैशाख २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा वैशाख २४ गते र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।