चौधरी ग्रुपको नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ बजारमा, प्रतिस्पर्धी भन्दा २५ रुपैयाँ सस्तो
काठमाडौं । चौधरी ग्रुपले नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरको छ । चौधरी ग्रुप अन्तर्गतको बिएलसी होल्डीङ्स अन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रा. लि.’को उत्पादन र प्रर्बधनमा माल्टोजीङ्ग बजारमा ल्याईएको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत अर्नुद जेन च्याम्पीले ‘माल्टोजीङ्ग’को सार्वजनिकरण गरेका थिए । माल्टोजीङ्ग आजैदेखि नेपालका सबै किराना पसलमा उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक पारस शाक्यले बताए । माल्टोजङ्ग बजारमा रहेका अन्य उत्पादन भन्दा गुणस्तरीय तथा सुपत मूल्यमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत होम न्यौउपानेका अनुसार माल्टोजीङग हाल क्लासिक माल्ट र चोकलेट गरी दुई स्वादमा बजारमा ल्याईएको छ । चोकलेट स्वादमा प्रतिबट्टा ३५० रुपैयाँ र क्लासिक माल्ट स्वादमा प्रतिबट्टा ३३० रुपैयाँ मूल्य तोकिएको छ । माल्टोजीङग बजारमा विद्यामान विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैयाँ सस्तोमा उपभोक्ताहरुलाई उपलब्ध गराइएको उनले बताए । नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि सम्बोधन गर्ने उदेश्य राखिएको उनले बताए । यसमा ब्रेन, बोन र बडी (मष्तिष्क, हाड र शरिर) लाई अति आवश्यक तत्वहरु प्रोटिन, फ्याट, काब्रोहाईड्रेट्स, भिटामीन बि सिरिज, बायोटिन, आयोडिन, भिटामीन ए, भिटामीन सि, भिटामीन डी र अत्यावश्यक सम्पूर्ण खनिज तत्वहरु जस्तै म्याग्नेसियस, क्याल्सियम, फस्फोरस, कपर, सेलेनियम, जिङ्क, पोटासियम र आईरन लगायतको मिश्रण रहेको छ । ‘माल्टोजीङ्ग’को प्रयोगले सबै उमेर समूहका उपभोक्ताहरुको दैनिक पोषणको आवश्यकतालाई परिपूर्ती गर्ने कम्पनीको दावी छ । ‘मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कपोषणको समस्यालाई केहि हदसम्म अन्त्य हुने हामीले विश्वास गरेको छौं । यस उत्पादनको प्रयोग र प्रवद्र्धनमा हामी सरकारसँग साझेदारी गर्न इच्छुक छौं’ न्यौउपानेले भने । ‘माल्टोजङ्ग’ ब्राण्ड चौधरी ग्रुपले लिएको छ भने यसको उत्पादन भारतमा गरिएको छ । माल्टोजाङ्गको बजारिकरण हाललाई नेपालमा गर्ने र केही समयपछि विश्व बजारमा लैजाने तयारी गरेको छ ।
गतवर्षको तुलनामा उद्योगको सङ्ख्या वृद्धि, पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी
काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगको सङ्ख्यामा वृद्धि भएको हो । गत आर्थिक वर्षको ६ महिनामा विदेशी लगानीका २६६ उद्योगले नेपालमा कामका लागि स्वीकृति लिएकामा यस वर्षको ६ महिनामा भने २९३ उद्योगले उद्योग सञ्चालनका लागि निवेदन दिएका छन् । उद्योग दर्ताका लागि अनुमति माग्नेमा पर्यटन क्षेत्रका उद्योग बढी छन् । पर्यटन क्षेत्रमा मात्र ८६ उद्योग छन् । गत वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा ७७ उद्योगले सञ्चालनका लागि अनुमति लिएका थिए । यस्तै, कृषि तथा वन क्षेत्रमा १४, निर्माण तीन, उर्जामूलक १९, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ११, उत्पादनमुलक ७८, खनिज एक, र सेवामूलक ८१ उद्योग रहेका छन् । सबै उद्योग सञ्चालन भएमा १५ हजार २७० जनाले रोजगार पाउनेछन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)का महासचिव रमेश थापा स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको बताउँछन् । “नेपाल प्राकृतिक दृष्टिकोण र पर्यटकीय महत्वका केन्द्र बढी भएको कारण पनि पर्यटन क्षेत्रमा उद्योगको सङ्ख्यामा वृद्धि भएको हो”, उनले भने । नेपालको पर्यटन व्यवसाय पहिलेको तुलनामा क्रमिक रुपमा बढ्दै गएको र सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न पनि होटल तथा रेष्टुरेन्टमा विदेशी लगानी भित्रिएको उनको भनाइ छ । पर्यटन क्षेत्रमा चालू आर्थिक वर्षमा ६८ करोड ७७ लाख ३६ हजारको ८६ उद्योगका लागि लगानी भित्रिएको हो । उक्त रकम गत वर्षको लगानीभन्दा धेरै कम हो । गत वर्ष एक अर्ब १८ करोड ७४ लाख ४५ हजार बराबरको लगानी भित्रिएको थियो । गत वर्षको छ महिनामा पर्यटन उद्योगबाट तीन हजार २५ ले प्रतक्ष्य रोजगारी पाएका थिए भने चालू आर्थिक वर्षमा उद्योगको सङ्ख्यामा वृद्धि भए पनि कम लगानीका उद्योग भएकाले दुई हजार ५०२ जनाले प्रत्यक्ष रोजगार पाउने उद्योग विभागले जनाएको छ । उद्योग विभागका सूचना अधिकारी जीवनराज सेढाईं उद्योग क्षेत्र बढ्नु मुलुकको विकासका लागि सकारात्मक कुरा भएको बताउँछन् । “उद्योग बढेसँगै मुलुकमा रोजगारीको वातावरण सिर्जना हुनुका साथै अधिकांश सामान मुलुकमा नै बन्ने भएकाले मुलुकलाई फाइदा पुग्छ”, उनले बताए । ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारका कारण उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएको विभागले जनाएको छ । विभागले १० करोडभन्दा कम विदेशी लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आइरहेको छ । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र साना तथा घरेलु उद्योग विभागबाट दर्ता हुँदै आएका छन् । रासस
नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा, नविल बैंकको प्रायोजनमा ७ संस्थाले सहयोग गर्ने
काठमाडौं । काठमाडौंमा यही फागुन २ गते आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल उद्योग परिसंघले आइतबार एक पत्रकार सम्मेलन गरी उक्त सम्मेलनको तयारी पूरा भएको जानकारी गराएको हो । नेपाल उद्योग परिसंघ, नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्त रुपमा “नेपाल उद्यमशीलता सम्मेलन २०१९ को आयोजना गर्ने भएका छन् । यस सम्मेलनले मुलुकको आर्थिक समृद्धिमा विशेषतः उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र श्रृजनशीलताको प्रमुख भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने छ । “फिडेरल नेपालः अपर्टुनिटिज फर इन्भेन्टमेन्ट एण्ड ग्रोथ” थेम राखिएको यस सम्मेलनले उद्यमशीलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै, साना, मझौला तथा ठूला उद्योग–व्यवसायएवं देश भरिका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तार गर्ने, नयाँ प्रतिभा, प्रविधि, श्रृजन शीलताका साथै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र विदेशमा रहेका युवाहरुलाई स्वदेशमै उद्यम तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान छ । यस सम्मेलनबाट नेपालमा उद्यमशीलता विकासमा ठोस टेवा पुग्ने आयोजकले बताएको छ । यस सम्मेलनलाई प्रधानमन्त्रीबाट विशेष सम्बोधन हुने छ । सम्मेलनमा संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा संघीय अर्थमन्त्रीका समेत नेपालमा औद्योगिक विकास तथा उद्यमशीलता प्रवद्र्धनका विषयमा आफ्ना विचारहरु प्रस्तुत हुने छ । यस्तै यस सम्मेलनमा नेपालका ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरुमार्फत सम्बन्धित प्रदेशका औद्योगिक सम्भाव्यता तथा उद्ययमशीलता प्रवद्र्धनका कार्यक्रमहरु रहेको जानकारी दिईएको छ । सो सम्मेलनमा नेपाल सरकारका सम्बन्धित क्षेत्रका पदाधिकारीहरु, साना, मझौला तथा ठूला उद्योगहरुमा संलग्न वा संलग्न हुन चाहने उद्यमी/व्यवसायी, स्वदेशीएवम् विदेशी उद्यमीहरु, नव–प्रवर्तन, नयाँ प्रविधी र उद्यमशीलताको प्रवद्र्धनमा संलग्न महिला तथा युवा उद्यमीहरु तथा नेपालका ७ वटै प्रदेशका उद्यमीहरु गरि करिव ४०० जना यस सम्मेलन उपस्थित हुने निश्चित भईसकेको आयोजकले जनाएको छ । उक्त सम्मेलनको मुख्य प्रायोजन नविल बैंक लिमिटेडले गरेको र अन्य सहयोग गर्ने संस्थाहरुमा देउराली जनता फर्मासीटिकल्स प्रा.लि., होंशि-शिवम् सिमेन्ट प्रा.लि., शिखर ईन्सुरेन्स लिमिटेड, डिस होम मिडिया नेटवर्क, चन्द्रागिरी हिल्स, शंकर ग्रुप तथा हिलटेक इन्डष्ट्रिज प्रा.लि. रहेका छन् ।