नेपाल–चीन उद्योग वाणिज्य संघद्धारा आयोजित ‘इन्भेस्टमेन्ट इन् नेपाल’ सम्मेलन सम्पन्न
काठमाडौं, १४ जेठ । चीनको कमिसन अफ इन्ड्रस्ट्री एण्ड इनफरमेसन टेक्नोलोजी अफ गन्सु प्रोभिन्सका उप–निर्देशक जङ्ग फुकीको नेतृत्वमा १३ सदस्यीय व्यापारिक टोली नेपाल भ्रमणमा आएको सन्दर्भमा नेपाल–चीन उद्योग वाणिज्य संघले इन्भेस्टमेन्ट इन् नेपाल विषयक एक सम्मेलनको आयोजना गरियो । कार्यक्रममा दुई देश बीच लगानी, आर्थिक, व्यापारिक तथा पर्यटन विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ । सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै, दुई देशबीच लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि आग्रह गरेका छन् । उनले नेपालमा जलविद्युत, पर्यटन, कृषिजन्य उत्पादन, सिमेन्ट, निर्माण, जडिजुटी क्षेत्रमा लगानी गर्न अनुरोध गरे । साथै गान्सु प्रान्तमा हुने व्यापार मेलाहरुमा नेपाली व्यवसायीहरु भाग लिन इच्छुक रहेको र गान्सु शहरमा नेपाली उत्पादनहरु प्रवद्र्धनका लागि अनुरोध गरेका छन् । कार्यक्रममा उपनिर्देशक जङ्ग फुकीले नेपाली व्यवसायीहरुसँग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण विषयमा छलफल गर्न पाएकोमा आभार व्यक्त गरेका थिए । गान्सुको लान्जाउबाट सिगात्से सम्म रेल आइपुगेको हुँदा यसबाट दुई देशबीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने बताए । साथै संघ तथा सि.सी.पी.आइ.टी. गान्सु प्रान्त बीच सम्बन्ध विस्तारका लागि समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो । साथै द्विपक्षीय लगानीका लागि संघले ६ वटा नेपाली तथा चीनिया कम्पनीहरुबीच सम्झदारी पत्रमा हस्ताक्षर गरेको छ ।
बरियारपुरबाट उद्योगपति केडियाको अपहरण, अपहरणकारीको गोली प्रहारबाट चालक गम्भीर घाइते
पर्सा, १४ जेठ । वीरगन्जका उद्योगपति सुरेश केडियालाई बिहिबार साँझ बाराको बरियारपुरबाट अज्ञात समूहले अपहरण गरेको छ । कामविशेषले बरियारपुर गएका उद्योगपति केडियालाई बाराकै पशाहपुल नजिकैबाट अपहरण गरिएको हो । बा१०च ७२४० नंको जिपमा सवार भई वीरगन्जतर्फ आउने क्रममा हतियारधारीले चालक पर्सा, बिन्ध्यवासिनी निवासी श्यामउनेश साहलाई गोली हानी उद्योगपति केडियालाई अपहरण गरी लगेको अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिए । उनले घाइते चालक साहको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताए । उद्योगपति केडियाको खोजी भइरहेको छ । घाइते साहको अवस्था गम्भीर रहेको र उनको थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । रासस
दुई बर्षपछि सात लाख नेपालीलाई रोजगारी, सुकुम्बासी, हलिया र कमैयालाई प्राथमिकता
काठमाडौं, १० चैत । सरकारले आगामी दुई बर्षपछि सात लाख नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सक्ने गरि सात हजार बिगाह क्षेत्रफलमा फैलिएका सात वटा औद्योगीक क्षेत्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेड मार्फत उद्योग मन्त्रालयले त्यसको ५० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।गरिब, सुकुम्बासी, कमैया र हलियाहरुलाई रोजगारीमा बिशेष प्राथमिकता निर्धारण गरिनेछ र त्यसलाई डिपिआरमै उल्लेख गरिने छ । अप्रत्यक्ष रोजगारी भने ३५ लाख भन्दा बढिले पाउनेछन् । औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले सात वटै प्रदेशमा न्युनतम एक हजार बिगाह क्षेत्रफलमा फैलिएका एक/एक वटा औद्योगीक क्षेत्र निर्माणको काम ५० प्रतिशत सम्पन्न भैसकेको बताए । लिमिटेडले ऐलानी जमिनमा औद्योगीक क्षेत्र निर्माण गर्न लागेको हो । त्यसका लागि लिमिटेडले सबै प्रदेशमा रहेका पायक पर्ने ऐलानी जमिनको खोजी कार्य जारी राखेको छ । कुन प्रदेशमा कति भयो काम ? कहाँ बन्दैछन् औद्यौगीक क्षेत्र ? प्रदेश नम्बर १ लिमिटेडले प्रदेश नम्बर १ को झापास्थित दमकमा ५०० बिगाह जमिन फेला पारेको छ । ऐलानी सो जमिनलाई औद्योगीक बोर्डका नाममा नामसारी गर्ने प्रक्रिया अघि बढिसकेको बस्नेतले जानकारी दिए । प्रदेश नम्बर २ दुई नम्बर प्रदेशका लागि लिमिटेडले सर्लाही, धनुषाको जनकपुर, बारा वा पर्साका बिभिन्न स्थानमा जमिन खोज्ने काम अघि बढाएको छ । मधेश आन्दोलन प्रभावी सो प्रदेशमा पुर्व पश्चिम राजमार्ग आसपासको क्षेत्रमा जमिन खोज्न उद्योगी व्यवसायीले आग्रह गरेको लिमिटेड अध्यक्ष बस्नेतले बताए । प्रदेश नम्बर ३ तीन नम्बर प्रदेशका लागि हेटौडाँमा ३०० बिगाह जमिन खोजिसकिएको छ । थप पाँच सय बिगाह चीतवनमा र अन्य जमिन पायक पार्ने अर्काेस्थानमा खोजि कार्य जारी छ । प्रदेश नम्बर ४ प्रदेश नम्बर ४ का लागि तनहुँदेखि पोखरासम्म राजमार्ग आसपासमा जमिनको खोजी कार्य जारी छ । प्रदेश नम्बर ५ बुटवलस्थित मोतिपुरमा ८१३ बिगाह जमिन खोजी भैसकेको छ । तिनाउ नदिको वारीपारि रहेको सो ऐलानी जमिन छिट्टै अधिग्रहण हुनेछ । थप ५०० बिगाह जमिन भने बाँके जिल्लामा खोजी भैरहेको छ । प्रदेश नम्बर ६ छ नम्बर प्रदेशका लागि जुम्ला वा सुर्खेतमा जमिन खोज्ने काम जारी छ । प्रदेश नम्बर ७ सात नम्बर प्रदेशका लागि भने कञ्चनपुरको दैजीमा ९०० बिगाह जमिन खोजीसकिएको छ । थप ५०० बिगाह भने कैलालीको लम्कीमा फेला परेको छ । प्रत्येक औद्योगीक क्षेत्रमा एउटा टेक्निकल इन्स्टिच्युट औद्योगीक क्षेत्रको डिपिआरमै प्रत्येक क्षेत्रमा एउटा टेक्निकल इन्स्टिच्युट स्थापना गर्नु पर्ने उल्लेख गरिनेछ । सो इन्स्टिच्युटले औद्योगीक क्षेत्रका लागि आवश्यक पर्ने दक्ष तथा अर्धदक्ष जनशक्तिको उत्पादन गर्नेछ । उद्योगीलाई सहुलियतै सहुलियत ती औद्योगीक क्षेत्रमा उद्योग स्थापना गर्ने उद्योगहरुले प्रशस्त्रै सहुलियत प्राप्त गर्नेछन् । बाटो, बिजुली र पानीका साथमा केहि बर्षका लागि कर छुटको सुबिधा समेत उपलब्ध गराईने लिमिटेडका अध्यक्ष बस्नेतले बताए ।