उद्योगी भन्छन : कच्चापदार्थ, इन्धन भाउ र ढुवानी भाडा बढ्दा सिमेन्ट महंगियो
काठमाडौं । कच्चा पदार्थ, बिजुली, इन्धन र ढुवानी भाडा बढेपछि उत्पादन लागत थप हुदा सिमेन्टको भाउ बढेको उद्योगीले बताएका छन् । एक महिना अघिदेखि नै भारतबाट आयात हुदै आएको कच्चा पदार्थ क्लिंकर, फलाइ एस र जिप्सनको मूल्यमा भारी वृद्धि भएपछि नेपालमा सिमेन्टको भाउ बढेको पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघले जनाएको छ । महिना दिनभित्र डिजेल प्रतिलिटर ५, बिजुली प्रतियुनिट ५ रुपैयाँ २० पैसाबाट बढाएर ८ रुपैयाँ ४० पैसा, भारतबाट कच्चा पदार्थ ढुवानी गर्दा ३ दिन लाग्दा डिटेन्सन चार्ज २ हजारबाट बढेर ५ हजार भारु पुगेको संघले दावी गरेको छ । यस्तै भारतमै कच्चा पदार्थ क्लिंकरको मूल्य २ हजार ३ सयबाट ३ हजार २ सय भारु, सिमेन्ट बनाउन आवश्यक पर्ने फलाइ एस प्रति टन १ हजार ६ सयबाट बढेर २ हजार ३ सय भारु पुगेको संघको भनाई छ । जिप्समा प्रतिटन १ हजार ५ सय भारु, ढुवानी भाडा १ हजार ८ सयबाट २ हजार ५ सय भारु, भारतका ठुला कारखानामा पेट्रो कोकमा वातावरण प्रदुषणका कारण रोक लगाइएकाले मिनरल कोइला प्रयोग गर्दा क्लिंकरको उत्पादन लागत बढेको संघको भनाई छ । यस्तै नेपालमा ढुवानी भाडा बढ्दा यसको असर उत्पादन लागतमा परेको संघले जानकारी दिएको छ । सिमेन्टको भाउ बढ्नाले भुकम्प पीडितलाई भवन पुनर्निर्माण गर्ने कार्यमा झनै पीडा थपेको छ । केही महिनाअघिदेखि सिमेन्टमा बोराको २० देखि ३० रुपैयाँ गर्दै भाउ निरन्तर बढीरहेको छ । जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठकले भारतमै सिमेन्टको कच्चापदार्थ (क्लिंकर) बढेकोले कम्पनीले सिमेन्टको भाउ बढाउन परेको बताउछन् । मंसिरबाट निरन्तर सिमेन्टको मूल्य २० देखि ३० रुपैयाँको दरले बढीरहेको उनको भनाई छ । अहिले ओपीसी सिमेन्टको कारखाना मूल्य प्रतिबोरा ८५० र पीपीसीको मूल्य ७३० रुपैयाँ रहेको छ । अहिले भारतबाट आउने कच्चापदार्थको मूल्य ५० प्रतिशतसम्म बढेदा यसको असर उद्योगमा परेको पाठकको भनाई छ । युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडाले माग बढेकोले मूल्य पनि बढ्न गएको बताए । ‘पुसयता सिमेन्टको माग करिब २५ प्रतिशतले बढेको छ,’ उनले भने ‘जसकारण मूल्यमा समेत प्रतिबोरा ३० रुपैयाँ बढेको हो ।’ उनका अनुसार युनाइटेड सिमेन्टको उद्योग मूल्य ८९० रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टका सेल्स एण्ड मार्के्टिङ प्रमुख केशब अर्यालले पनि पछिल्लो समय सिमेन्ट(ओपीसी) को मूल्य बढेर ९१० रुपैयाँ पुगेको बताए ।
शिवम् सिमेन्टको कीर्ति समारोह सम्पन्न, ६४ डिलर तथा बिक्रेतालाई विभिन्न विधाका अवार्ड
काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त समारोह मार्फत सिमेन्टले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो । उक्त समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरुमा स्वस्तिमा खड्का, हेमन्त राना, कार्टुन क्रुज जस्ता लोकप्रियनामहरु समावेश थिए भने अन्तर्राष्ट्रिय कलाकारमा भारतीय सुपरिचित हास्य वंग्य कलाकार डा. महसुर गुलाटी अर्थात सुनिल ग्रोबरको प्रस्तुती रहेको थियो । उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र्रकुमार गोएलले आफ्ना सम्पूर्ण बिक्रेता तथा डिलर साथीहरुलाई अझ मेहेनत गरी लगनका साथ शिव्म सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसिया कै नं. १ सिमेन्ट बनाउनका लागि आवहन गरेका थिए । त्यसैगरी, उक्त कार्यक्रमका नेशनल डाईमण्ड अवार्ड विजेता सोहन मुरर्काले यस्तो कार्यक्रमहरुको आयोजनाले डिलर्सहरुलाई थप उत्साहित बनाउने र भविष्यमा दिगो मेहनत गर्न प्रेरित गर्ने बताएका छन् ।
सिमेन्टको व्यापारीद्धारा कालोबजारी, प्रतिबोरा १०० देखि १५० बढी मूल्य राखेर बेच्दै
वीरगञ्ज । सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्ने गरेको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यसको धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलवासीले अवरोध गर्दा क्लिङकर नेपालतर्फ आयात नभएको मौका छोपी यहाँका विक्रेताले कृत्रिम अभाव सिर्जना गरी स्टकमा रहेको सिमेन्ट बढी मूल्यमा बेच्दै कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो छ । घर बनाउनका लागि बजारमा सिमेन्ट किन्न जाँदा व्यापारीले तोकेको मूल्यभन्दा बढी मूल्य भनेकाले सिमेन्ट किन्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका-२४ बहुअरीका कपिलदेव यादवले भने, क्लिङकरको अभाव देखाएर स्टक गरेको सिमेन्ट बेच्ने व्यापारीलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरेका छन् । व्यापारीले पहिलेदेखि गोदाममा स्टक गरी राखेको विभिन्न ब्राण्डको सिमेन्ट प्रतिबोरा रु १०० देखि १५० सम्म बढी मूल्य राखेर बेच्ने गरेको छ । नेपाली सिमेन्ट उद्योगमा क्लिङकरको अभाव देखिएपछि उत्पादन प्रभावित हुने भएकाले विक्रेताले बढी मूल्यमा सिमेन्ट बेच्दा यसबाट सर्वसाधारण उपभोक्ता प्रभावित हुँदै आएको छ । पर्सा र बारामा रहेका १३ वटा सिमेन्ट उद्योगले पहिले कै मूल्यमा सिमेन्ट बिक्री गर्न विक्रेतालाई आग्रह गरे पनि विक्रेताले सिमेन्टको अभाव देखाएर बढी मूल्यमा सिमेन्ट बिक्री गरी उपभोक्तालाई ठग्दै आएको छ । सिमेन्टको कच्चा पदार्थ क्लिङकरबाट वीरगञ्ज भन्सार कार्यालयले वार्षिक रु चार अर्ब राजस्व उठाउँदै आएको भए पनि भारतीय पक्ष क्लिङकर आउनमा रोक लगाएपछि अहिले रक्सौलमा स्टक गरि राखिएको पुरानो माल मात्र आउने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए । क्लिङकरजस्तो खतरनाक प्रदूषणले रक्सौलवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै उनीहरुले क्लिङकर रक्सौलमा अनलोड नगरी सिधा वीरगञ्जको सिर्सिया बन्दरगाहमा अनलोड गर्नुपर्ने माग राखी अवरोध गर्दै आएको छ । रक्सौलको रेल्वे साइड छेउछाउको जग्गा नेपाल रेल्वेको हो र त्यहाँ भारतीय अतिक्रमण गर्दै आएकाले नेपाली पक्षले सो जग्गा खाली गराउनु पर्ने वीरगञ्जवासीको माग छ । भारतीय पक्षले रक्सौलमा क्लिङकर अनलोड गर्न नदिनुको रहस्य भने वेग्लै रहेको बुझिएको छ । पहिले पहिले भारतीय सिमेन्टको बिक्री नेपालमा बढी हुने गरिन्थ्यो । तर नेपालमै सिमेन्ट उत्पादन हुन थालेपछि भारतीय सिमेन्टको माग घट्न थाल्दा नेपाली बजारमा पुनःआफ्नो पकड बनाउन भारतीय पक्षले क्लिङकर अनलोडमा समस्यमा ल्याएको सिमेन्ट व्यापारीहरु बताउँछन् । क्लिङकर आयातको समस्याले सिमेन्टको मूल्य बढेको स्वीकार्दै वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योगी प्रदीप केडियाले समस्या समाधान गर्नतर्फ नेपाल सरकारले ध्यान नदिएकाले यो झन बढ्न सक्छ भने । भारतीय रेल्वे सेवा निगमले वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा क्लिङकर पुर्याउने सम्झौता नभएको भनी पन्छिँदै आएको आरोप लगाउँदै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव माधवराज पालले भने-“भारतीय पक्षले यसमा राजनीतिक गर्न खोजेको छ, जसको कारण नेपाली उद्योग प्रभावित भएको छ ।” यता वीरगञ्जस्थित सुख्खा बन्दरगाह वरिपरि रहेका बस्तीका बासिन्दाले पनि क्लिङकर सुख्खा बन्दरगाहमा अनलोड गर्दा यहाँ पनि प्रदूषण हुने भनेर विरोध गर्दै आएको छ । सिमेन्ट उद्योगीले नेपालगञ्ज, विराटनगर नाका भएर क्लिङकर आयात गर्दा महँगो पर्ने भएकाले रक्सौल नाका भएर क्लिङकर ल्याउनु पर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । रासस