रन सुजको स्कुल कलेज अफर
काठमाडौं, ६ असार । रन सुज इण्डष्टिज प्रालिले स्कुल कलेज अफर, सात जनालाई सात लाख बम्पर नामक उपहार योजना बजारमा ल्याएको छ । योजना अनुसार प्रत्येक जोर जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपन पाईने छ, जसमा हातखाली नहुने गरि एक लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सकिने छ । साथै स्कुल र कलेजका विद्यार्थिलाई लक्षित गरि नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ । बजारमा आएका नयाँ मोडलका स्कुल कलेज जुत्ताहरु सस्तो, बलियो र आरामदायी रहेको कम्पनिका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । रनका जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । गुणस्तर मापदण्डको आधारमा दिईने अन्तराष्ट्रिय स्तरको आईएसओ ९००१ः२००८ अवार्ड प्राप्त उद्योगले रन ब्राण्डका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल/कलेज शुज, लेडिज तथा जेन्स चप्पल उत्पादन गरी मुलुकको ७५ वटै जिल्लाहरुमा बिक्रि वितरण गर्दै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका स्थानहरुमा ६ वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ ।
अर्घाखाँचीे सिमेन्टले सफल वर्ष उत्सव मनायो
काठमाडौं, ६ असार । अर्घाखाँची सिमेन्टले आफ्नो सफल वर्ष उत्सव मनाएको छ । उत्पादन सुरु गरेको डेढ वर्षमा नै नेपालमा अग्रणी सिमेन्ट कम्पनीको रुपमा पहिचान बनाउन सफल भएको भन्दै कम्पनीले सफल वर्ष उत्सव मनाएको हो । सफल वर्ष उत्सव कार्यक्रममा सिमेन्टका प्रमोटर ग्रुप, डिलर, ईन्जिनियरहरु, कन्ट्रयाक्टर लगायत अन्य सरकारी निकायका वरिष्ठ व्यक्तिहरुको पनि उपस्थिती थियो । अर्घाखाँची सिमेन्टको ब्राण्ड एमबेसडर तथा नेपाल र भारतमा समेत लोकप्रियता कमाईसकेका कलाकार सुनिल थापाको पनि सहभागीता रहेको थियो । अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओपिसि सिमेन्ट उत्पादन गर्ने नेपालका ठूला कम्पनीहरु मध्ये एक हो । भैरहवाको मैनहीया गाविसमा अवस्थित यो सिमेन्ट उद्योग आफ्नै चुनढुङ्गा खानी भएको सम्भवतः नेपालकै सबैभन्दा ठूलो ओपिसि सिमेन्ट भएको कम्पनीको दावी छ । यसले आफैं उच्चस्तरिय क्लिंकर र ओपिसि सिमेन्ट उत्पादन गरिरहेको छ । हाल कम्पनीले दैनिक १२ सय मेट्रिक टन सिमेन्ट (२४ हजार बोरा) उत्पादन गर्दै आएको छ । यस कम्पनीमा सिमेन्ट उत्पादनको क्षेत्रमा विगत लामो समय देखि अनुभव हासिल गरेका सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र उमा सिमेन्ट इन्टरनेशनल (भारत) उद्योगका जस्ता अनुभवी र प्रख्यात व्यावसायीक घरानाहरुको संलग्नता रहेको छ । रुपन्देहीको मैनहीयामा रहेको उद्योगमार्फत उच्चस्तरीय क्लिंकर र ओपिसि सिमेन्टको उत्पादन गरेर मुलुकलाई सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनाउने अर्घाखाँची सिमेन्टको प्रमुख उद्देश्य रहेको कम्पनीको भनाई छ । यसमा प्रयोग हुने चुुनढुंगा अर्घाखाँचीको खाँचीकोटको चुनढुङ्गा नेपालकै सबैभन्दा उत्कृष्ट भनेर चिनिन्छ र त्यहि चुनढुङ्गा प्रयोग गरि यस उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ । अर्घाखाँचीमा रहेको ७.४८ हेक्टर क्षेत्रफलमा फैलिएको चुनढुङ्गा खानीबाट ल्याइएको चुनढुङ्गासँगै बक्साइट, आइरन ओर र रेड क्ले लगायतका कच्चा पदार्थहरु उत्पादन प्रकृयामा लानुभन्दा पहिले आफ्नै कारखानामा रहेको अत्याधुनिक ल्याबमा परिक्षण गरि अत्याधुनिक जर्मन् प्रबिधीको मेशिनद्वारा सिमेन्ट तथा क्लिंकर उत्पादन भैरहेको छ । कम्पनीका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका भन्छन्आ-फ्नो स्थापनाको छोटो समयमा अर्घाखाँची सिमेन्टले असम्भवलाई सम्भव बनाएको छ । कम्पनीले आगामी दिनमा प्रति दिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीको यो लक्ष्य डेढ वर्ष भित्र पुरा गर्ने संकल्प गरेको छ ।
लगानी गर्न अमेरिकाका ३२२ उद्योगले पाए स्वीकृति, करिब ७ अर्ब ३३ करोड बराबरको लगानी गर्ने
काठमाडौं, ५ असार । संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा रु सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा क्षेत्रमा १४८ उद्योगको रु दुई अर्ब ६९ करोड ७० लाख, उत्पादनमूलक क्षेत्रमा ७० उद्योगको रु दुई अर्ब १० करोड ३० लाख, पर्यटन क्षेत्रमा ८० उद्योगको रु एक अर्ब दुई करोड १० लाख लगानी रहेको छ । त्यस्तै ऊर्जा क्षेत्रमा तीन उद्योगको रु एक अर्ब २८ करोड ७० लाख, कृषि तथा वनजन्य क्षेत्रमा २० उद्योगको रु २१ करोड २० लाख र निर्माण क्षेत्रमा एक उद्योगको रु एक करोड लगानी छ । विसं २०७३ जेठ मसान्तसम्म स्वीकृत पाएका अमेरिकी उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा १६ हजार २९३ रोजगारी सिर्जना हुने विभागले जनाएको छ । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र छिट्टै सञ्चालनमा आउने विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताउनुभयो । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजतासँगै मुलुकमा विदेशी लगानी बढ्ने क्रम जारी छ । नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ । भारतपछि दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका उद्योगले नेपालमा लगानी गरेका बताइएको छ । रासस