दैनिक सात सय मेट्रिक टन सिमेन्ट उत्पादन
गाईघाट । देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा विद्युत्भार कटौती भएपछि सिमेन्ट उत्पादनमा सुधार आएको छ । उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर विद्युत्भार कटौती भएका कारण रु दुई करोडभन्दा बढी घाटा ब्यहोर्नु परेको भए पनि हाल विद्युत् वितरण तथा विद्युत्भार कटौतीमा सुधारका कारण सिमेन्ट उत्पादन बढेको हो । एक हप्ता यतादेखि उद्योगले दैनिक ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्न थालेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले जानकारी दिए । “अब यसरी नै एक महिनासम्म निरन्तर सञ्चालन भए उद्योगको घाटा कम गर्न सकिने छ,” उनले भने । गत आवमा सो उद्योगले झण्डै २५ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आवको भदौमा विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उत्पादनमा कमी आएको साहले बताए । विगतमा दिनमा १० पटकसम्म विद्युत्भार कटौती हुँदै आएको थियो । रासस
जुट उद्योग बन्द हुँदा ५००० मजदुर बेरोजगार
मोरङ । मोरङ-सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् । विराटनगर जुट मिल्स, नरेश राठीको गुह्येश्वरी जुट मिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भएको नेपाल जुट मिल्स एशोसिएशनका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए । सरकारले उद्योग प्रवर्धनमा प्रोत्साहन नगर्दा सुनसरी–मोरङमा सञ्चालित जुट उद्योग धरासायी बन्दै गएको जुट उद्योगीले गुनासो गरेका छन् । भारतबाट कच्चा पदार्थ आयात गरेर नेपाल आइपुग्दा झण्डै दोब्बर लागत खर्च पर्न जान्छ । त्यसकारण जुट उद्योग धरासायी बन्दै गएको हो । अध्यक्ष गोल्छाले बिजुली अभाव, सरकारीस्तरबाट सहयोग नहुँदा पनि जुट उद्योग बन्द गर्नुपरेको बताए । उनका अनुसार जुट बन्द हुँदा चार हजार ५०० देखि पाँच हजार मजदुर र कर्मचारी बेरोजगार हुनुका साथै करोडौँ रूपैयाँ बराबरको प्रत्यक्ष नोक्सानी भएको छ । जुट मिल बन्द हुनुको मुख्य कारण विद्युत्भार कटौती, पर्याप्त मजदुर नभेटिनु, बन्द, हडताल, चक्काजाम र उत्पादित सामानको बिक्रीभन्दा ढुवानी खर्च बढी पर्नुलगायतका समस्या रहेको जुट उद्योगीको भनाइ छ । बजार व्यवस्थापन तथा आन्तरिक समस्या समाधानमा सरकार गम्भीर नभएकाले घाटामा उद्योग चलाउँदै आएको मोरङ व्यापार संघका उपाध्यक्ष तथा बाबा जुट उद्योगका सञ्चालक प्रकाश मुन्दडा बताउँछन् । देशकै जेठो तथा पुरानो जुटमिल विराटनगर जुटमिल तीन वर्षदेखि बन्द छ । पटक–पटक बन्द हुँदै खुल्दै आएको सो जुटमिल पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टर नेशनललाई सरकारबाट २५ वर्षका लागि भाडामा दिइएको थियो । सो मिललाई ११ केभिए प्रसारण लाइन सरकारले उपलब्ध नगरेपछि उत्पादन बन्द गरिएको विराटनगर जुटमिलका पूर्व सञ्चालक मुकुन्द नेपाल बताउँछन् । रासस
सर्वियाका राष्ट्रपतिद्वारा वाइवाइ प्लान्टको उद्घाटन, १२२ कम्पनीमा १० हजार जनालाई रोजगारीको अवसर
काठमाडौं । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशको रुमामा स्थापित वाइवाइ चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिदै नवनिर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सरिक भएको चौधरी ग्रपुले जनाएको छ । उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । वाइवाइले सर्वियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । समुद्घाटन समारोहमा सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीले युरोपेली बजारमा वाइवाइ प्रवेशका लागि सर्विया प्रस्थान विन्दू बनेको बताउदै वाइवाइको विश्वब्यापीकरण अभियानमा यो कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरेका छन् । अध्यक्ष चौधरीले सर्वियामा उत्पादीत वाइवाइ युरोपभरको बजारमा वितरण हुने जानकारी दिएका छन् । कच्चापदार्थ र दक्ष जनशक्तिको उपलव्धता एवं उत्पादनको लागत मूल्य लगायतको विश्लेषणका आधारमा उनले सर्विया आफ्नो ग्रुपका लागि युरोप प्रवेशको रणनीतिक केन्द्र बनेको पनि बताएका छन् । उक्त प्लान्टमा वाइवाइ उत्पादनका लागि हाल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पछिल्लो पुस्ताको मेशिनरी प्रयोग गरिएको छ । यस प्लान्टको उच्च व्यवस्थापनमा नेपाली व्यवस्थापकहरू रहेका छन् भने चार सयभन्दा बढी सर्वियाका स्थानीय नागरिकले रोजगारी प्राप्त गर्नेछन् । सिजीकर्प ग्लोबलका प्रवन्ध निर्देशक निर्वाण चौधरीले रुमाबाट एक हजार किलोमिटरको दुरीभित्रै युरोपका थुप्रै ठूला बजारहरु रहेकाले यहाँ उत्पादीत वाइवाइलाई युरोपको बजारमा प्रवेश गर्ने प्रवेशद्वारका रुपमा लिएको बताए । एसियामा लोकप्रिय ब्राण्डका रुपमा स्थापित वाइवाइ मध्यपूर्व र अमेरिकामा समेत लोकप्रिय खानाका रुपमा रुचाइँदै आएको छ । सर्वियाको सरकारी निकाय तथा स्थानीय प्रशासनको सहयोगले काम सुरु भएको १६ महिनाभित्रै प्लान्ट स्थापना गर्न सम्भव भएको भन्दै उनले सर्विया सरकार, सम्वन्धित कर्मचारीको प्रशंशा गरेका छन् । गत सेप्टेम्बरदेखि वाइवाइले उक्त प्लान्टबाट व्यवसायिक उत्पादन शुरू गरेको चौधरी ग्रुपले जनाएको छ । सीजीकर्प ग्लोबलले विश्वका ३० देशमा पूर्वाधार निर्माण, आतिथ्य सत्कार, वित्तीय क्षेत्र, खाद्य तथा पेय, इलेक्ट्रोनिक,जलविद्युत, शिक्षालगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । यस ग्रुपले विश्वब्यापी रुपमा १२२ कम्पनी र ७६ ओटा ब्राण्ड व्यवस्थापन गरिरहेको र प्रत्यक्ष रुपमा दश हजार भन्दा बढी जनशक्तिले राेजगारीकाे अवसर पाएकाे चौधरी ग्रुपका जनरल म्यानेजर मधूसुधन पौडेलले जानकारी दिएका छन् ।