दुई साताभित्र बजारमा ‘फुल सिलिन्डर’ ग्यास आउने

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज हुँदै गएकाले आगामी १० देखि १५ दिनभित्र उपभोक्ताले फुल सिलिन्डर (पूरा तौल भएको) ग्यास पाउने भएका छन् ।  आपूर्ति व्यवस्था पूर्ण रूपमा नियमित भएपछि मात्रै फुल सिलिन्डर ग्यास वितरण गरिने नेपाल आयल निगमले जनाएको छ । अहिले दैनिक ८० देखि ८५ बुलेट ग्यास नेपाल भित्रिरहेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।  बजारमा फुल सिलिन्डर ग्यास पठाउन दैनिक कम्तीमा १०० बुलेट आवश्यक पर्ने उनको भनाइ छ । प्रवक्ता ठाकुरका अनुसार यसका लागि इन्डियन आयल कर्पोरेसनसँग निरन्तर समन्वय भइरहेको छ । इन्डियन आयल कर्पोरेसन आफैले पनि आफ्नो कुल मागको ६० प्रतिशत ग्यास मध्यपूर्वी (मिडिल इस्ट) देशहरूबाट आयात गर्ने गर्दछ ।  हाल आपूर्ति प्रणाली सुचारु भइसकेकाले अबको दुई हप्ताभित्र बजारमा पूरा तौलकै सिलिन्डर उपलब्ध गराउन सकिने अपेक्षा निगमले गरेको छ । निगमका अनुसार हाल देशभर ग्यासको कुल खपत वार्षिक ३५ हजार देखि ३६ हजार मेट्रिक टनको हाराहारीमा रहेको छ ।  विगतमा आधा सिलिन्डर मात्रै वितरण गरिएको र उपभोक्ताहरूले पनि सुरुवाती चरणमा ग्यास सञ्चित (थुपारेर) राखेका कारण पछिल्लो समय बजारमा ग्यासको खपत केही घटेको देखिएको प्रवक्ताले स्पष्ट पारे ।  कुल खपत हुने ग्यासमध्ये झण्डै ५० देखि ६० प्रतिशत ग्यास काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको छ । यस्तै, मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले पेट्रोलियम ग्यास (एलपीजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको एएफपीले जनाएको छ । भारतको पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर-घरेलु प्याक गरिएको एलपीजीमाथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा सङ्कट सुरु हुनुअघिकै स्तरमा आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सङ्कटको सुरुआतमा रोकिएको बल्क एलपीजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारत एलपीजीको दोस्रो ठूलो आयातकर्ता हो ।  भारतमा प्रयोग हुने अधिकांश एलपीजी मध्यपूर्वी मुलुकहरूबाट आयात हुने भएकाले क्षेत्रीय द्वन्द्वले ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको थियो ।  विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका–इरान युद्ध सुरु भएपछि फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो ।  इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा सुधार आएको छ । त्यसपछि भारतले आपूर्ति व्यवस्थालाई क्रमशः सामान्य अवस्थामा फर्काउन थालेको हो । 

५० स्टोर पुर्याउने भाटभटेनीको लक्ष्य, ५० हजारलाई रोजगारी

काठमाडौं । करिब एक वर्षअघिको कुरा हो । गत वर्ष भदौको अन्तिम साता काठमाडौं अशान्त थियो । जेन्जी आन्दोलनको रापले देशभरका व्यवसायहरू त्रसित थिए । त्यही उत्तेजित भीडको निसानामा नेपालको व्यावसायिक सफलताको पर्यायवाची बनेको भाटभटेनी सुपरमार्केट पर्यो । जेन्जी आन्दोलनमा बौद्ध शाखा मात्र होइन, देशभरका झन्डै २० वटा शाखाहरूमा क्षति पुग्यो । १२ वटा स्टोर त हेर्दाहेर्दै खरानीको थुप्रोमा परिणत भए । अन्ततः झन्डै १० महिनापश्चात बौद्धको भाटभटेनी पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले उक्त दिनको क्षति सामान्य नभएको बताउँछन् । ‘हामीले १० अर्ब ८६ करोड रुपैयाँको भौतिक क्षति बेहोर्यौं,’ उनी भन्छन्, ‘भवनमात्र होइन, भित्रका अर्बौंका सामानहरू पनि जलेर सखाप भए ।’ बुधबारदेखि सञ्चालनमा आएकाे बाैद्धस्थित भाटभटेनी । तर भाटभटेनी व्यवस्थापनले हार मानेन । विगतमा जे– भयो सबै बिर्सिएर अगाडि बढ्ने भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको दृढ इच्छाशक्तिले अहिले धमाधम स्टोरहरू पुनः सञ्चालनमा आउन थालेका छन् ।  बौद्ध शाखा पुनः सञ्चालनमा आउनु भाटभटेनीको मात्र जित नभई नेपाली व्यवसायीहरूको आत्मविश्वासको पुनः उदय पनि हो । अहिलेको नयाँ भवन पहिलेभन्दा आधुनिक, सुरक्षित र प्रविधियुक्त बनाइएको छ ।  ‘क्षतिपश्चात हामीले २५ प्रतिशतसम्म थप लगानी गरेर स्टोरहरूलाई अपग्रेड गरेका छौं,’ पौडेलले भने । किनमेल गर्दै सर्वसाधारण । बौद्ध शाखाको पुनःनिर्माणमा मात्रै १०० करोड रुपैयाँभन्दा बढी लगानी भएको उनले जानकारी दिए । स्टोरभित्रको सामग्रीमा करिब ६० करोड रुपैयाँ र भवन पुनःनिर्माणमा थप ५०/५५ करोड रुपैयाँ खर्च भएको छ । उनका अनुसारस्टोरहरूमा नयाँ प्रविधि, आधुनिक प्रणाली र ग्राहकमैत्री सुविधाहरू थपिएका छन् । त्यसैले पुनःनिर्माण लागत क्षतिको मूल्यभन्दा २०/२५ प्रतिशत बढी पुगेको छ । कसैको रोजगारी गुमेन भाटभटेनीले देशभर १० हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको छ । पौडेलले कम्पनीले अब विगतलाई पछाडि छाडेर अगाडि बढ्ने बाटो रोजेको बताए ।  ‘हाम्रो जित भनेकै जलेका स्टोर पुनः सञ्चालनमा ल्याउनु हो । त्यही हाम्रो चेयरम्यानको निर्देशन पनि थियो,’ उनले भने, ‘राज्यलाई कर तिर्ने, रोजगारी जोगाउने र ग्राहकलाई सेवा दिने हाम्रो प्राथमिकता हो ।’ स्टोर जल्दा हजारौं रोजगारीहरूको भविष्यमाथि संकट मडारिँदा  पनि भाटभटेनीले आफ्ना कर्मचारीलाई एक्लो छाडेन । १८ वर्षदेखि कम्पनीमा आबद्ध रेडिमेड विभागकी इन्चार्ज पूजा निरौला त्यो दिन सम्झिँदा अहिले पनि भावुक बन्छिन् । ‘त्यो दिन सम्झिँदा अहिले पनि आँखाबाट आँसु झर्छ । धेरै नै पीडादायी थियो,’ पूजाले गला अवरुद्ध पार्दै भनिन् । उनीजस्ता १० हजार बढी कर्मचारीका लागि कम्पनीले अभिभावकको भूमिका निभायो । स्टोरहरू बन्द हुँदा पनि कुनै पनि कर्मचारीलाई भाटभटेनीले जागिरबाट निकालेन । अन्य शाखाहरूमा व्यवस्थापन गरेर सबैलाई रोजगारीको ग्यारेन्टी गरियो ।  १५ वर्षदेखि कार्यरत सुपरभाइजर सरिता व्यञ्जनकार भन्छिन्, ‘कम्पनीले हामीलाई सेवा–सुविधामा कहिल्यै तलमाथि गरेन, त्यसैले हामी झन् बढी उत्साहका साथ काममा फर्किएका छौं ।’ खुसी छन् स्थानीय बौद्ध शाखा पुनः सञ्चालनमा आएपछि ग्राहकहरू उत्साहित देखिएका छन् । उद्घाटनकै दिन किनमेल गर्न पुगेका ग्राहकहरूले भाटभटेनी बन्द हुँदा दैनिक उपभोगका सामग्री किन्न असहज भएको अनुभव सुनाए । गोकर्णकी जमुना तामाङले भाटभटेनी बन्द हुँदा एउटै सामानका लागि धेरै पसल धाउनुपर्ने अवस्था आएको बताइन् ।  ‘हामी त खुल्ने दिन कुरेर बसेका थियौं, एउटै छानामुनि सबै सामान पाइने भएकाले निकै सजिलो हुन्छ,’ उनले भनिन् ।  अन्य ग्राहकहरूले पनि भाटभटेनीमा खोजेका अधिकांश सामान सहज रूपमा उपलब्ध हुने भएकाले पुनः सञ्चालनले राहत मिलेको प्रतिक्रिया दिएका छन् । नारायणटारकी मञ्जु कुमारी र बौद्धकी सुमिना तामाङको अनुभव पनि उस्तै छ ।  सामानको गुणस्तर र छनोटका लागि धेरै विकल्प पाइने हुनाले उनीहरू यो स्टोर खुल्ने पर्खाइमा थिए । नयाँ ब्राण्डका इलेक्ट्रोनिक आइटम, किचनवेयर र फेसनका सामग्रीहरूले स्टोर सजिएको छ ।  भाटभटेनीले हाल उपत्यकाका मुख्य शाखाहरू पुनः सञ्चालनमा ल्याइसकेको छ । विराटनगर, बिर्तामोड र धरानका स्टोरहरू पनि दशैं अगाडि नै खुल्ने तरखरमा छन् । भाटभटेनीको यात्रा रोकिएको छैन । अहिले २७ वटा स्टोर सञ्चालनमा छन् भने आगामी वर्ष थप ४ वटा थपिनेछन् ।  ‘हाम्रो लक्ष्य देशको कुना–काप्चामा पुग्नु हो । पहिलो चरणमा ५० वटा स्टोर पुर्याउने र ५० हजार नेपालीलाई रोजगारी दिने हाम्रो लक्ष्य छ,’ सीओओ पौडेलले भने ।  खरानीबाट बौरिएको भाटभटेनी नेपाली कर्पोरेट क्षेत्रका लागि एउटा बलियो उदाहरण बनेको छ । 

बजार माग बढाउने नीति ल्याउन उद्योग परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर विश्वनाथ पौडेललाई उक्त सुझाव हस्तान्तरण गरेका हुन् । परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू सन्तोषजनक रहे पनि आन्तरिक आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहेको अवस्थालाई ध्यानमा राख्दै त्यसलाई चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । आगामी मौद्रिक नीतिलाई बजार माग वृद्धि, नीतिगत सुधार र केन्द्रीय बैंकको संरचनागत सुधारमा केन्द्रित गर्न परिसंघले सुझाव दिएको छ । साथै, निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा घटाउने, कार्यशील पूँजीसम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्ने, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्ने तथा धितोयुक्त कर्जाको वर्गीकरण र कालोसूचीकरणको समयसीमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न र राष्ट्र बैंकभित्र अधिकारसम्पन्न मौद्रिक नीति समिति गठन गर्नुपर्ने विषय पनि परिसंघले उठाएको छ । अध्यक्ष पाण्डेले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने खालको मौद्रिक नीतिको अपेक्षा गरिएको बताए । सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले आगामी मौद्रिक नीति ब्याजदर स्थिरता र वित्तीय प्रणालीको सुदृढीकरणमा केन्द्रित हुने उल्लेख गरे। निजी क्षेत्र अर्थतन्त्रको प्रमुख चालक भएको भन्दै लगानी र आर्थिक गतिविधि प्रवर्द्धनका लागि नियामक निकाय र उद्योग क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए । कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल तथा बैंक तथा वित्तीय समिति सभापति वरुण कुमार तोदीलगायतको उपस्थिति रहेको थियो ।