भेटायो र हिमालयन एभरेस्टबीच सहकार्य, सेवा प्रदायकका लागि दुर्घटना बीमा सुरु

काठमाडौं । होम–आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितलाई प्राथमिकता दिँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ । यस साझेदारीमार्फत भेटायोले एपमार्फत सेवा प्रदान गर्ने सबै पेशेवरका लागि दुर्घटना बीमा सुविधा सुरु गरेको छ । कम्पनीका अनुसार यो पहलले ग्राहकलाई सेवाका लागि जाने प्रत्येक प्रदायकलाई अतिरिक्त सुरक्षा प्रदान गर्नुका साथै भेटायोको कार्यबलप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ । भेटायोका सह–संस्थापक रोचन मान महर्जनले भने, 'हामीले सेवा विस्तारका यात्रामा हाम्रो आधारस्तम्भका रूपमा सेवा प्रदायकलाई राखेका छौँ । दुर्घटना बीमा उपलब्ध गराएर उनीहरू सुरक्षित महसुस गरून् र आफ्नो पेशागत यात्रामा अझ उत्साहित रहून् भन्ने हाम्रो चाहना हो ।' यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्रै बढाउने छैन, सेवा क्षेत्रमै नयाँ मापदण्ड पनि स्थापित गर्ने भेटायोको अपेक्षा छ । जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ। भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सको समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै दुवै संस्थाको उद्देश्य नेपालमा जिम्मेवार, विश्वासिलो र प्रयोगकर्ता–केन्द्रित सेवा वातावरण निर्माण गर्नु रहेको जनाएको छ। भेटायो एपमार्फत हाल ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू जस्तै प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, घर सरसफाइ लगायतका सेवा विश्वसनीय, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्छन् ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले सेयरधनीलाई ६.४० प्रतिशत लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति मङ्सिर ९ गते बसेको बैठकले हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा ६.४० प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव अनुसार सेयरधनीलाई वितरण हुने कुल लाभांश रकम ६ करोड ४० लाख रुपैयाँ हुनेछ । कम्पनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभा बाट अनुमोदन भएपछि मात्र सेयरधनीमा वितरण गर्ने जनाएको छ ।  

मन्दाकिनी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले नयाँ आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । कम्पनीले २.९ मेगावाट क्षमताको माथिल्लो सार्दीखोला जलविद्युत आयोजना विकास गर्न एनएमबि बैंक लिमिटेडसँग वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा गरेको हो । मन्दाकिनी हाइड्रोपावर कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–स्थित ४ मेगावाटको सार्दीखोला जलविद्युत आयोजना निर्माण गरी २०७४ साल मंसिरदेखि व्यवसायिक सञ्चालनमा ल्याएको हो ।  विगत तीन वर्षदेखि सेयरधनीहरूलाई निरन्तर नगद लाभांश तथा बोनस सेयर वितरण गर्दै आएको हाइड्रोपावरले उक्त आयोजनाको निर्माण कार्य पनि अघि बढाएको जनाएको छ। आवश्यक स्वपूँजी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ। यसका लागि विद्युत् नियमन आयोगबाट १ः०.६६४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व–स्वीकृति प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध कार्यका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग द्विपक्षीय सम्झौता भइसकेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न स्वीकृति पाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आधिकारिक रूपमा आवेदनसमेत दर्ता गरिसकेको छ । मन्दाकिनी हाइड्रोपावरले नयाँ आयोजना मार्फत क्षमता विस्तार गर्दै कम्पनीको उत्पादन वृद्धि र सेयरधनीका प्रतिफलमा थप सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।