५० अंकले बढ्यो नेप्से, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० अंकले बढेर २६५० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल लाइफ रिइन्स्योरेन्सको भएको छ । नेपाल लाइफको २४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै, नेपाल रिइन्स्योरेन्सको २४ करोड ४३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २० करोड, हिमालयन रिइन्स्योरेन्सको २० करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । झापा इनर्जी, सागर डिस्टीलरी, बन्दिपुर केबलकार, स्वस्तीक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । सोमबारको कारोबारमा सबै समूहका सूचक बढेका छन् । जीवन बीमा सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ ।निर्जीवन बीमा २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.४०, विकास बैंक १.२१, फाइनान्स १.४२, होटल तथा पर्यटन २.२४, हाइड्रोपावर ०.८०, लगानी १.८३, उत्पादन तथा प्रशोधन १.६४, माइक्रोफाइनान्स १.९३, अन्य १.६८ तथा व्यापार ०.७६ प्रतिशतले बढेका छन् ।

तोकिएको समयमा नवीकरण नगरेपछि दुई कम्पनीको लाइसेन्स रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्ने दुई कम्पनीको लाइसेन्स (अनुमतिपत्र) रद्द गरेको छ । मनी चेन्जर कारोबार गर्न अनुमति लिएका तर म्याद सकिएको तीन महिनाभित्र पनि नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । लाइसेन्स रद्द हुनेमा लर्ड बुद्ध मनी एक्सचेन्ज प्रालि र स्तुपा मनी चेन्जर प्रालि रहेको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । ‘मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा रहेको व्यवस्था बमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो,’ राष्ट्र बैंकले भनेको छ । 

सासु कोषमा करिब १ खर्ब रूपैयाँ पुग्यो योगदान रकम, १७.६४ अर्ब रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षा (सासु) को दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै १ खर्ब रुपैयाँ बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार ३६२ रुपैयाँ पुगेको हो । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार ३०९ पुगेका छन् । यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार १८९ बराबर पुगेको छ । कोषले हालसम्म १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम २ अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२ रुपैयाँ,  दुर्घटना तथा अशक्तता दावी २२ करोड ८६ लाख ५३ हजार ४७५ रुपैयाँ रहेको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम २९ करोड ७ लाख ७२ हजार ११६ रुपैयाँ र अवकाश दाबी रकम १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ रुपैयाँ रहेको छ । सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनै पर्ने बाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन् । कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना अन्तर्गत सुविधा पाउँछन् । कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशील योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।