नेपाल लाइफको सीईओमा प्रविण रमण पराजुली पुनर्नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनर्नियुक्त भएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल सीईओ पदमा कार्यरत पराजुलीलाई थप ४ वर्षका लागि करारमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल माइक्रो इन्स्योरेन्समा नेतृत्व परिवर्तन, नयाँ अध्यक्ष लुइँटेल
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ । कम्पनीको जेठ २७ र २८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित चार जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ अध्यक्ष तथा सञ्चालकहरूको नियुक्ति गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार संस्थापक समूहका अध्यक्ष आशिष श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरिएको छ । श्रेष्ठले गत चैत १५ गते अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए । त्यसैगरी संस्थापक समूहका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण तथा स्वतन्त्र सञ्चालक बद्री सिग्देलको राजीनामा पनि स्वीकृत गरिएको कम्पनीले जनाएको छ । रिक्त पदपूर्तिका लागि कम्पनीले नयाँ सञ्चालकहरू नियुक्त गरेको छ । संस्थापक समूहका तर्फबाट सेन्ट्रम क्यापिटल प्रालिका प्रतिनिधि नारदकुमार लुइँटेललाई सञ्चालक नियुक्त गर्दै कम्पनीको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी समेत दिइएको छ । उनको नियुक्ति आगामी साधारणसभाबाट अनुमोदन नभएसम्म कायम रहनेछ। त्यसैगरी बिजवर्ल्ड एड्भाइजरी प्रालिका प्रतिनिधि अशोकप्रसाद साह र सेन्ट्रम क्यापिटल प्रालिका प्रतिनिधि दीपककुमार मिश्र लाई पनि सञ्चालक पदमा नियुक्त गरिएको छ । यसैगरी स्वतन्त्र सञ्चालकका रूपमा दामोदर सत्याल लाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी सबै नियुक्तिहरू आगामी साधारणसभा सम्पन्न नभएसम्मका लागि अन्तरिम रूपमा गरिएको हो । कम्पनीमा भएको यो नेतृत्व परिवर्तनलाई आगामी रणनीति, संस्थागत सुशासन तथा व्यवसाय विस्तारसँग जोडेर हेरिएको छ ।
नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा
काठमाडौं । नेपाल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत देशभर सञ्चालनमा रहेका होटल, रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरूमा सेवा लिँदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । उक्त सुविधा सातै प्रदेशमा रहेका समूहअन्तर्गतका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरूमा लागू हुने बताइएको छ । सम्झौता पत्रमा जेठ २८ गते बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र सिद्धार्थ बिजनेस ग्रुपका व्यवसाय प्रबन्ध निर्देशक दुर्गा दत्त पन्तले हस्ताक्षर गरेका हुन् । नेपाल बैंकले हाल देशभर रहेका २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन र युवा जनशक्तिमार्फत सेवा विस्तार गर्दै प्रतिस्पर्धी रुपमा अघि बढिरहेको जनाएको छ ।