एनएमबि बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित
काठमाडौं । एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकको ३०औँ वार्षिक साधारण सभा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभा सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न भएको थियो । सभामा सहभागी सेयरधनीहरूले बैंकको समग्र गतिविधि, वित्तीय अवस्था तथा भावी रणनीतिबारे आ–आफ्ना धारणा राख्दै छलफल गरेका थिए । साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार बैंकले २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै, बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४३ अर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
१२९ कम्पनीको सेयर मूल्य बढ्यो, ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २६४० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बिहीबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बन्दिपुर केबलकारको १७ करोड, सान्भी इनर्जीको १५ करोड ८९ लाख, सागर डिस्टीलरीको १५ करोड र शिवम् सिमेन्टको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । \ बिहीबारको कारोबारमा सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.३०, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४०, हाइड्रोपावर ०.३२, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.४९, निर्जीवन बीमा ०.२६ प्रतिशतले बढेका छन् । फाइनान्स ०.४४, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०३, अन्य ०.०७ तथा व्यापार ०.२२ प्रतिशतले घटेका छन् ।
आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको ५ प्रतिशत नगद लाभांश स्वीकृत
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको वार्षिक प्रगति, भविष्यका योजना र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सेयरधनीहरूले सर्वसम्मति मार्फत स्वीकृत गरेका छन् । साथै, कम्पनीको पानीपोखरी स्थित ११ तल्ले नयाँ भवन सञ्चालनमा आउँदैछ, जसमा प्रधान कार्यालय स्थानान्तरण हुनेछ र अन्य तल्ला भाडामा उपलब्ध गराइनेछ । सभामा अध्यक्ष ढकालले जानकारी दिए कि समीक्षा वर्षमा कम्पनीले देशका सातै प्रदेशमा रहेका ९० शाखा, ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयर मार्फत सेवा प्रदान गर्दै आएको छ । बीमा प्रिमियम संकलन रु. ३८६ करोड ५९ लाख पुगेको छ भने दावी भुक्तानी रु. २ अर्ब ४६ करोड ३३ लाख पुगेको छ । कम्पनीले स्वास्थ्य बीमा योजनामा नवीन सेवा, विदेशी पर्वतारोहण तथा ट्रेकिङ्गमा बीमाको सुरुवात जस्ता डिजिटल र ग्राहकमैत्री पहलहरू अघि बढाएको जानकारी सभामा दिइयो । अध्यक्ष ढकालले सेयरधनीहरूको समर्थन र सरकार तथा नियामक निकायहरूको सहयोगप्रति आभार व्यक्त गर्दै कम्पनीले भविष्यमा पनि बीमा बजारमा विश्वसनीयता, पारदर्शिता र गुणस्तरीय सेवा कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।