नेपाल बैंकका ग्राहकलाई ब्ल्याक हर्स जुत्तामा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीले ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता खरिद गर्दा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले उत्पादन तथा बिक्री गर्दै आएका विभिन्न किसिमका जुत्तामा यो छुट सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । छुट सुविधा बिल रकममा लागु हुने जनाइएको छ । सम्झौतापत्रमा पुस ३० गते नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान विभागका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बैंकका ग्राहक तथा कर्मचारीले ब्ल्याक हर्स इण्डष्ट्रिजद्वारा उत्पादित ‘ब्ल्याक हर्स’ ब्राण्डका जुत्ता देशभर रहेका आधिकारिक विक्रेतामार्फत सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् । बैंकले यस्ता सहकार्यबाट ग्राहकलाई थप सुविधा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।  

मोरङको उर्लाबारीमा सूर्यज्योति लाइफको १७६औँ शाखा सञ्चालनमा

मोरङ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै मोरङ जिल्लाको उर्लाबारीमा आफ्नो १७६औँ शाखा विस्तार गरेको छ । आम नागरिकसम्म बीमाको सहज पहुँच पुर्‍याउने उद्देश्यसहित स्थापना गरिएको उक्त शाखाको विधिवत् उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलले संयुक्त रूपमा गरेका हुन् । कम्पनीले हाल देशभर १७६ वटा शाखा कार्यालयमार्फत आफ्ना बिमितलाई सेवा प्रदान गर्दै आएको छ । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमाको पहुँच दूरदराजसम्म विस्तार गर्दै आम नागरिकलाई बीमाको दायराभित्र ल्याउनु कम्पनीको प्रमुख लक्ष्य रहेको बताए । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख पौडेलले व्यक्तिगत अनुभव उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि बीमा अत्यावश्यक रहेको बताइन् । साथै, नगरपालिकाले बीमाको महत्त्वबारे जनचेतना फैलाउँदै नगरवासीलाई बीमा प्रणालीमा आबद्ध गराउन प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारिन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमा ३५ वटा घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा प्रदान गर्दै आएको छ ।

गरिमा विकास बैंकले परिवर्तन गर्‍यो लोगो र छाप

काठमाडौं । गरिमा विकास बैंकले आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यसहित बैंकले बिहीबार (माघ १) देखि लागू हुने गरी नयाँ लोगो र छाप प्रयोगमा ल्याएको हो । बैंकका अनुसार लोगो तथा छाप परिवर्तनसम्बन्धी विशेष प्रस्ताव गत कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट पारित भएको थियो । त्यसपछि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो र छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ । परिवर्तित लोगोले बैंकको आधुनिक, सरल र विश्वसनीय पहिचानसँगै गुणस्तरीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धता झल्काउने विश्वास बैंकले लिएको छ । बैंकद्वारा जारी विज्ञप्तिमा ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।