मुक्तिनाथ विकास बैंक २०औं वर्षमा प्रवेश, देशभर सामाजिक कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुस १९ गते देशभर विविध सामाजिक तथा रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाटसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा कुल ७५५ युनिट रगत संकलन गरी सम्बन्धित स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको जनाएको छ । यसै अवसरमा ‘सन २०५० मा मेरो नेपाल’ शीर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा देशभरबाट ७९१ विद्यार्थीको सहभागिता रहेको बैंकले जनाएको छ । काठमाडौंकी रिया खड्काले सर्वोत्कृष्ट चित्र सिर्जना गर्दै प्रथम स्थान हासिल गरेकी छन्। उनले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै, हरेक क्षेत्रीय कार्यालयअन्तर्गत उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका विजेता स्वतन्त्र विषयविज्ञको छनोटका आधारमा घोषणा गरिएको बैंकले जनाएको छ । बैंकले सातै प्रदेशलाई समेट्दै विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति, विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण, बागमती सफाइ महाअभियानका लागि सरसफाइ सामग्री हस्तान्तरण, सेवा आश्रमजस्ता गैरनाफामूलक संस्थालाई न्यानो सिरक र डस्ना सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरणलगायत कार्यक्रमसमेत गरेको छ । यस्तै, हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका दुर्गम बस्तीका गरिब तथा विपन्न वर्गका व्यक्तिलाई जीविकोपार्जनका लागि सिलाइ मेसिन वितरण गरिएको छ भने ई–नेबल नेपालमार्फत बालबालिकालाई कृत्रिम हातसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ । केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए भने बैंकको अवस्था, प्रगति तथा गतिविधिबारे प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराएका थिए । कार्यक्रमका अवसरमा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन गरिएको थियो भने संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक, सेयरधनी, सेवाग्राही तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन बैंकका व्यवस्थापक तेजबहादुर गिरीले गरेका थिए ।

सिटिजन्स सन्तुलित योजनामा लगानीकर्ताको आकर्षण, मागभन्दा २५ प्रतिशत बढी आवेदन

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’मा मागभन्दा बढी आवेदन परेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी यही पुस ४ गतेदेखि १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको १ अर्ब रुपैयाँ आकारको यस योजनामा प्रारम्भिक विवरणअनुसार सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । यो माग तोकिएको रकमभन्दा करिब २५ प्रतिशत बढी हो । सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार यो योजना बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्ड योजनामध्ये एक बन्न सफल भएको छ । योजनाप्रति देखिएको लगानीकर्ताको आकर्षण र उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटललाई नेपालको पूँजी बजारमा दक्ष, व्यवसायिक र विश्वसनीय संस्थाका रूपमा स्थापित गराएको प्रतिबिम्बित हुने कम्पनीको भनाइ छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् । कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवासहित पूँजी बजारसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ । आगामी दिनमा पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ । साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोष सञ्चालन गर्ने र हाल सञ्चालनमा रहेका योजनाबाट उच्च प्रतिफल दिलाउने लक्ष्यसहित काम गरिरहेको कम्पनीले जनाएको छ ।

बीमाको महत्व विद्यालय तहदेखि पढाइने, प्राधिकरण–शिक्षा निकायबीच छलफल

काठमाडौं । विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा बीमा शिक्षा सम्बन्धी विषयवस्तु समावेश गर्ने विषयमा नेपाल बीमा प्राधिकरणले सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शनिबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र तथा सामाजिक अध्ययन विषय समितिका पदाधिकारी, विज्ञ र लेखकहरूको सहभागिता रहेको थियो । विद्यालय तहका सामाजिक अध्ययन पाठ्यपुस्तक परिमार्जन तथा पुनर्लेखनका क्रममा बीमा शिक्षा समेट्ने विषयमा ठोस निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै बीमाको आवश्यकता र महत्वबारे पाठ्यपुस्तकमार्फत जानकारी दिनु आवश्यक रहेको बताए । उनले बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्न प्रारम्भिक तहदेखि नै सचेतना आवश्यक रहेको उल्लेख गरे । 'बीमाले मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षण गर्छ भन्ने जानकारी सानैदेखि दिनुपर्छ,' अध्यक्ष शर्माले भने, 'यसले बीमाको दायरा विस्तार, लागत घटाउने, जोखिम न्यूनीकरण गर्ने र समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउँछ ।' शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यार्थीहरूले विद्यालय तहबाटै बीमाका बारेमा बुझ्न सकून् भन्ने उद्देश्यले सामाजिक अध्ययन पाठ्यपुस्तकमा बीमा सम्बन्धी विषयवस्तु समावेश गरिँदै आएको बताए । उनले पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरिरहेको जानकारी दिँदै परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशव्यापी रूपमा लागू गरिने बताए । त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक तथा सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्रा.डा. रामकृष्ण तिवारीले सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखन र प्रश्नपत्र निर्माणमा बीमा सम्बन्धी विषयवस्तु समावेश गर्न विषय विज्ञ र लेखकहरूलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले विद्यालय तहका सामाजिक अध्ययन विषयका प्रस्तावित पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकामा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तु पहिचान गरी सुझावसहित पाठ्यक्रम विकास केन्द्रलाई उपलब्ध गराइने जानकारी दिए । कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुति दिएका थिए । छलफलका क्रममा कक्षा ४ देखि १२ सम्मका प्रस्तावित पाठ्यक्रममा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तुहरूबारे विस्तृत विचार–विमर्श भएको थियो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सामाजिक अध्ययन विषय समिति तथा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, विज्ञ र लेखकहरूको सहभागिता रहेको थियो ।