सहकारी पीडितले गरे बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं । सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधवार कार्यालय घेराउ गरेका हुन् ।   देउराली सहकारीसहित अन्य सहकारी पीडितहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरि आफूहरुको वचत फिर्ता दिलाउन माग गर्दै कार्यालयमा दबाब दिएका छन् । सहकारी पीडितहरूले बागमती प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् । पीडितहरूले कार्यालयमा पटकपटक ध्याकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै आक्रोश कर्मचारीहरुसंग आक्रोश व्यक्त गरेका छन् ।   

नेपाल इन्स्योरेन्सलाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । यो अवार्ड न्यू बिजनेश एज लिमिटेड ले काठमाडौंमा आयोजना गरेको १०औं संस्करणको न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६ समारोहमा प्रदान गरिएको हो । आयोजकका अनुसार बीमा क्षेत्रमा प्रभावकारी व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय स्थायित्व, ग्राहक–केन्द्रित सेवा तथा व्यवसायिक उत्कृष्टताका आधारमा कम्पनीलाई सम्मान गरिएको हो । कम्पनीले पछिल्लो समय दाबी भुक्तानी प्रक्रियामा सुधार, डिजिटल प्रविधिको प्रयोग, सेवा विस्तार तथा ग्राहक विश्वासलाई प्राथमिकतामा राख्दै आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ । निर्जीवन बीमा क्षेत्रमा लामो अनुभव र विश्वसनीय सेवाका कारण कम्पनीले बजारमा बलियो पहिचान बनाएको दाबी गरेको छ । कम्पनीका अनुसार यस सम्मानले पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता तथा दीर्घकालीन व्यवसायिक दृष्टिकोणलाई थप पुष्टि गरेको छ । साथै आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह गर्दै नवीन योजना र आधुनिक सेवा विस्तारमा केन्द्रित रहने जनाएको छ । कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न १० विधामा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बैंकिङ, बीमा, उद्योग, व्यापार तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । न्यू बिजनेश एज लिमिटेड ले सन् २०१३ देखि निरन्तर ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड’ आयोजना गर्दै आएको छ ।  

मेटलाइफ र खल्तीद्वारा ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । खल्ती एपमार्फत उपलब्ध हुने यो योजनाले जीवन र स्वास्थ्य बीमा सेवालाई सरल, छिटो र सहज बनाउने लक्ष्य राखेको छ । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत विवरण भरेर मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया घटाउँदै र चरणहरूलाई सहज बनाउँदै, दैनिक रूपमा प्रयोग हुने डिजिटल प्लेटफर्ममार्फत बीमा सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समेटिएको छ । एउटै योजनाभित्र विभिन्न सुरक्षण समावेश गरिएकाले ग्राहकले फरक–फरक बीमा व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । ‘सुरक्षा ३६०’ सिल्वर, गोल्ड र प्ल्यातिनम गरी तीन प्रकारका प्याकेजमा उपलब्ध छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार योजना छनोट गर्न सक्नेछन् । यस योजनामा २३ लाखदेखि ४६ लाख रुपैयाँसम्मको बीमा सुरक्षण उपलब्ध छ भने वार्षिक बीमाशुल्क ३ हजार ८१० रुपैयाँबाट सुरु हुने बताइएको छ । १८ देखि ५० वर्ष उमेर समूहका लागि लक्षित यो योजना किफायती र पहुँचयोग्य हुने विश्वास गरिएको छ । मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले ‘सुरक्षा ३६०’ ले जीवनका विभिन्न चरणमा आवश्यक वित्तीय सुरक्षण प्रदान गर्ने विश्वास व्यक्त गर्दै डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई अझ सहज बनाउने उद्देश्य रहेको बताए ।