नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कोषले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कोषले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । यसका लागि बैंक र  फ्लोरिकल्चर एसोसिएशन नेपालबीच हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो ।  साथै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्नो सदस्यहरुलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ ।  यसबाट व्यवसायी तथा कृषकहरुको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरुको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।  बैंक र एसोसिएशन बीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ ।  ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ । 

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले  सेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत व्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई सेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारे । काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।  यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक  शालिकराम अधिकारीले बताए ।