नेरूडे मिर्मिरे लघुवित्तको सीईओ बने केशव पौडेल, ३ दशक बढीको अनुभव

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्त संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  नवनियुक्त सीईओ पौडेलसँग लघुवित्त क्षेत्रमा ३ दशक काम गरेको अनुभव छ । निर्धन उत्थान लघुवित्तमा व्यवस्थापकीय तहमा २२ वर्ष काम गरेका पौडेलले इन्फिनिटि लघुवित्त, कालिका लघुवित्त र सबैको लघुवित्तमा सीईओको भूमिका निर्वाह गरिसकेका छन् ।  भोजराज बस्यालको कार्यकाल सकिएपछि लघुवित्तमा सीईओ पद रिक्त थियो । बस्यालको विसं २०८२ साउन मसान्तमा पदावधी सकिएको थियो । उनको कार्यकाल सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहूलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । तर, उनले गत मंसिर २४ गते स्वेच्छिक अवकाशमा बिदा भएपछि सहायक प्रमुख कार्यकारी अधिकृत ऋषि प्रसाद न्यौपानेलाई कामु सीईओ जिम्मेवारी तोकिएको थियो ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः डा. शर्मा चयन

काठमाडौं । डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, डिल्लीबजार काठमाडौंको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले २५ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेसँगै सञ्चालक समितिको बैठकले पुनः डा. रुद्र शर्मालाई अध्यक्षमा चयन गरेको छ । २५ सदस्यीय नयाँ सञ्चालक समितिमा केही सदस्य पदेन सदस्यका रूपमा रहेका छन् भने नयाँ सदस्यहरूमा पूर्व सांसद विशाल भट्टराई, पूर्व मन्त्री विक्रमबहादुर थापा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्राध्यापक डा. आनन्द पन्थ, समाजसेवी शोभियत उप्रेती, कविता लामा लगायत चयन भएका छन् । वि.सं. २०३७ सालदेखि सामुदायिक कन्या क्याम्पसका रूपमा सञ्चालित यस क्याम्पसले ४५ वर्ष पूरा गरिसकेको छ । क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास, समाजशास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र लगायतका विषयहरू र स्नातकोत्तर तहमा अंग्रेजी तथा समाजशास्त्र विषय सेमेस्टर प्रणालीमा अध्यापन हुँदै आएको छ । त्यस्तै, शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तहमा चार वर्षे बीएडमा नेपाली, अंग्रेजी तथा स्वास्थ्य र शारीरिक शिक्षा विषयहरू तथा स्नातकोत्तर तहमा एमएड (नेपाली) सञ्चालनमा छन् । व्यवस्थापन संकायअन्तर्गत चार वर्षे बीबीएस र बीबीएम तथा स्नातकोत्तर तहमा एमबीएस कार्यक्रम सञ्चालनमा रहेका छन् । यसअघि साधारण सभाको उद्घाटन सत्रमा बोल्दै बागमती प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठले नारी शिक्षाको उन्नयनमा क्याम्पसको ठूलो योगदान रहेको चर्चा गर्दै क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व मन्त्री विक्रमबहादुर थापाले क्याम्पसमा विद्यार्थी संख्या बढाउन क्याम्पसलाई थप सुदृढ र सक्षम बनाउँदै आवश्यक सुधारसहित अगाडि बढ्नुपर्ने बताए । क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले करिब ६५ जिल्लाका ७ सय छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिइन् । उनले क्याम्पसलाई क्यूएए स्तरोन्नतिका लागि विश्वविद्यालय अनुदान आयोगमा आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै शैक्षिक गुणस्तर कायम गर्न क्याम्पस प्रशासन निरन्तर प्रतिबद्ध रहेको बताइन् । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्माले समयानुकूलका विषयहरू थप गर्दै क्याम्पसलाई गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए । क्याम्पसका शैक्षिक निर्देशक प्रा. डा. जयन्तनाथ खनालले आगामी शैक्षिक कार्यक्रम विस्तारअन्तर्गत व्यवस्थापन संकायमा नयाँ कार्यक्रम सञ्चालनका लागि आवेदन दिइसकिएको र कानुन संकाय सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिए । कार्यक्रममा क्याम्पसका आर्थिक तथा प्रशासनिक निर्देशक प्राध्यापक बाबुराम पौडेल, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति निलकण्ठ भुसाल, प्राध्यापक संघका सहसचिव टीपी भुसाल लगायतले सामुदायिक क्याम्पसका रूपमा रहेको कन्या क्याम्पसलाई नारी शिक्षाको उत्कृष्ट गन्तव्य बनाउनुपर्नेमा जोड दिएका थिए ।

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष

काठमाडौं । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् । नेतृत्वमा उनको चयनलाई गोल्याण ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण गरिएको छ । ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्‌नो वार्षिक उत्सवको अवसरमा यस्तो घोषणा गरिएको जनाएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए । ‘अक्षय गोल्याण अब ग्रुपको अध्यक्ष र प्रवन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्याण ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको इसेड यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययन पश्चात ९ वर्षदेखि ग्रुपको प्रवन्ध निर्देशक रहेका उनले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।  गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । ६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन् । ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । नेपालको आर्थिक आत्मनिर्भरतामा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आएको ग्रुपको शीर्ष नेतृत्वमा युवा पुग्नुले मुुलुकको आर्थिक समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ । ‘यो केबल पदभार ग्रहणमात्र होइन, यो एउटा विरासतलाई आधुनिक युगमा रुपान्तरण गर्ने जिम्मेवारी पनि हो,’ जिम्मेवारी ग्रहणपश्चात अध्यक्ष गोल्याणले भनेका छन्, ‘गोल्याण ग्रुपलाई अब नेपालको सिमानाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित गर्न प्रतिवद्ध छौं । हाम्रो ध्यान अब नवप्रवर्तन, दिगो विकास र संस्थागत सुशासनमा केन्द्रित हुनेछ । गोल्याण ग्रुपका सञ्चालक समितिका पदाधिकारीहरु सञ्चालक समितिले ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्याणलाई ‘सम्मानित अध्यक्ष’ र प्रमुख संरक्षकको सम्मान दिएको छ । नेपालको अर्थतन्त्र र ग्रुपको विकासमा पुर्‍याएको अतुलनीय योगदानको कदर सञ्चालक समितिले उक्त सम्मन दिएको जनाएको छ । नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले संस्थापक अध्यक्षबाट प्राप्त हुने मार्गदर्शनले ग्रुपको मूलमर्ममा अडिग रहँदै आधुनिक रणनीतिहरू निर्माण र कार्यान्वयन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘पवन गोल्याणज्यू ‘अध्यक्ष एमरिटस’ को भूमिकामा रहनु आफैमा उत्कृष्टताको निरन्तरता हो, ग्रुपले उहाँको रणनीतिक सुझाव र अनुभवको लाभ लिइरहनेछ,’ उनले भनेका छन्, ‘यसले ऊर्जा, कृषि, उत्पादन र निर्यात लगायतका क्षेत्रमा गु्रपको विस्तारलाई थप मजबुत बनाउनेछ । निरन्तर नवप्रवर्तन विस्तार र नेपालको आर्थिक समृद्धिका लागि काम गरिरहनेछौं ।’