हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, अध्यक्ष बने निरौला

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ । संस्थापक सेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा हेरफेर गरिएको हो । संस्थापक कम्पनीहरूबाट प्राप्त पत्रका आधारमा बुधबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकहरू परिवर्तन गरेको कम्पनीका सचिव सन्तोष केसीले जानकारी दिए । आगामी वार्षिक साधारण सभासम्मका लागि उदयकुमार निरौला, दिपेन्द्रकुमार मिश्र र पृथ्वीराज थापालाई सञ्चालकमा मनोनयन गरिएको छ । यसअघि सञ्चालक रहेका शेखर गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा नयाँ नियुक्ति गरिएको हो । त्यसैगरी, सञ्चालक समितिको अध्यक्षमा उदयकुमार निरौलालाई चयन गरिएको छ । यसअघि अध्यक्ष रहेका गोल्छाले गत फागुन २५ गते पदबाट राजीनामा दिएका थिए भने सञ्चालक समितिले चैत ५ गते स्वीकृत गरेको थियो ।

योजना आयोगमा ६ सदस्य नियुक्त, बालेनका पूर्वसल्लाहकारदेखि विज्ञसम्म

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य नियुक्त गरेको छ । नवनियुक्त सदस्यहरूमा अर्जुनजंग थापा, डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, डा. सुदन झा र पुकार मल्ल रहेका छन् । सदस्यमा नियुक्त थापा भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसचिव हुन् भने डा. आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् । त्यस्तै, डा. गौचन ‘समग्र विकास अध्ययन प्रतिष्ठान (आईआईडीएस)’ का वरिष्ठ अनुसन्धानकर्ता हुन् । रेशु अर्याल शिक्षाविद् हुन् । उनी यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका मेयर रहँदा सल्लाहकारको भूमिकामा थिइन् । डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा इन्जिनियरिङका प्राध्यापक हुन् भने मल्ल ‘गभर्नेन्स ल्याब’ का सहसंस्थापक तथा अध्यक्ष हुन् । साथै, उनी ‘नेपाल लिडरसिप एकेडेमी’का कार्यकारी प्रशिक्षक पनि हुन् । यसअघि सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरिसकेको छ ।  

नेपाल राष्ट्र बैंकको ईडीमा बढुवा भए न्यौपाने र सापकोटा

काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई निर्देशकलाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा भएका छन् । निर्देशकद्वय हेम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा कार्यकारी निर्देशक (ईडी)मा बढुवा भएको राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले जानकारी दिए ।  मानव संसाधन व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) को विनियम ५२ तथा विनियम ६५(२) बमोजिम न्यौपाने र सापकोटालाई बढुवा गरिएको हो । बढुवा भएका न्यौपाने बैंकिङ विभागमा कार्यरत छन् भने सापकोटा आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत छन् । किरण पण्डित डेपुटी गभर्नर नियुक्त र रोशन सिग्देल उमेरहदका कारण अवकाशमा गएपछि २ कार्यकारी पद रिक्त थियो ।